+
+

चिनियाँ अर्बपति ज्याक माको १५ सुझाव, कसरी सफल बन्ने ?  

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १४ गते ८:१८

विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिहरू जीवनमा कसरी सफल हुन्छन् । एउटै धरातलबाट उठेका कोही अर्बपतिको सूचीमा विश्वभरि चर्चित हुन्छन् भने कोही किन गुमनाम हुन्छ ? आफूले आफ्नो जीवनलाई जिउने र त्यसको मूल्य बुझ्ने र नबुझ्नेमा यो भिन्नता हुन्छ ।

कसैलाई सम्पत्तिले नै खुसी दिने गर्छ भने कसैलाई विनासम्पत्ति नै खुसी मिल्ने गर्छ । हामीले प्रस्तुत गर्न लागेको जीवनमा सम्पत्ति आर्जन गर्ने ज्याक माको कला केवल सम्पत्ति कमाउने व्यवस्थापनको लागि बढी उपयोगी हुन सक्छ ।

चिनियाँ अर्बपति ज्याक मा अलिबाबा ग्रुपका संस्थापक हुन् । कोरोना भाइसरको समयमा दक्षिण एसियाली मुलुकमा विभिन्न स्वास्थ्य सामग्रीहरु सहयोग गरेर समाजसेवीको रुपमा चर्चामा आएका उनी त्यसभन्दापहिले व्यवसायिक सफलताका कारण भने धेरै पहिलेदेखि नै सफलतामा थिए ।

कठिनाइ र आलोचनाको सामना गर्दै सफलताको शिखरमा आफूलाई उभ्याउन सफल ज्याक मालाई फाइनान्सियल टाइम्सले सन् २०१३ मा पर्सन अफ दि इयरको उपाधि समेत दिएको थियो । सो उपाधि दिने क्रममा चिनियाँ उद्यमशीलताको प्रतीकको रुपमा उनको अद्भुत सफलतालाई साक्षीको रुपमा उनलाई प्रस्तुत गरिएको छ ।

धेरैलाई लाग्न सक्छ आफ्नो व्यावसायिक र वित्तीय जीवनको व्यवस्थापनमा माको दृष्टिकोणलाई किन समाहित गर्ने ? यदि उनको दृष्टिकोणलाई समाहित गर्न सकिन्छ भन्ने लाग्छ भने उनको सफलताको राज वा उनले दिएको सफलताको सूत्र निम्नानुसार रहेको छ ।

१. अवसरको सोचाइलाई फराकिलो बनाउनुहोस्

मा सफलताको लागि अवसरको बाटोलाई फराकिलो कोणले हेर्नुपर्ने बताउँछन् । सबै सम्भावनालाई सँगै लिएर जाने र प्रत्येक अवसरको लागि बाटो खुला राख्दै जानुपर्छ भन्ने विचार उनी राख्छन् । यसले एउटा अवसरमा सफलता हासिल गर्न नसके पनि अर्काे अवसरले पछ्याइरहेको हुन्छ भन्ने उनको मान्यता छ ।

२. हरेक अवसरलाई खुला रूपमा व्यवहार गर्नुहोस्

यदि तपाईं ठूलो परिणाम हात पार्न चाहनुहुन्छ भने त्यसको लागि कुनै पनि अवसरलाई सानो र मध्यम भनेर विभाजित नगर्नुहोस् । तपाईंमा केही न केही शक्ति छ । त्यो शक्तिलाई समात्नुहोस् । त्यो अवसरलाई कसरी प्रस्तुत गर्ने ? भन्ने बारेमा हृदयबाटै निर्णय लिनुहोस् । केही पनि कुरालाई सानो जस्तो व्यवहार नगर्नुहोस्, यदि तपाईं ठूला परिणामहरू चाहनुहुन्छ भने यो अत्यावश्यक छ ।

३. आफूले आफैंलाई समीक्षा गर्नुहोस्

तपाईंको हालको स्थिति र तपाईंले चाहनुभएको स्थिति बुझ्ने प्रयास गर्नुहोस् । वास्तवमा तपाईं केको लागि त्यो काम गर्दै हुनुहुन्छ ? तपाईं कहाँसम्म पुग्न चाहनुहुन्छ ? त्यसको लागि तपाईं के सही मार्गमा हुनुहुन्छ ? भन्ने कुरालाई समीक्षा गर्नुहोस् ।

४. जे गर्नुछ छिटो गर्नुहोस्

हतारमा गरेको कामलाई धेरैले असफलताको कारण मान्ने गर्छन् । तर ज्याक मा योजना बनाएर काम फत्ते गर्ने समय कुर्नु उपयुक्त होइन भन्ने धारणा राख्छन् । त्यसैले उनको बिचारमा जे गर्नुछ छिटो र सुझबुझपूर्वक गर्नु राम्रो हुन्छ । यदि योजना बनाएर समय गुजार्न थालियो भने यसले कसैलाई पनि फाइदा गर्दैन । यहाँ छिटो भनेको योजना बनाएर बीचमा धेरै समय फुर्सदिलो बन्ने विषयलाई उल्लेख गर्न खोजिएको हो ।

५. परिस्थितिभन्दा परको कुरा हेर्नुहोस्

तपाईंको वर्तमान अवस्था के छ ? कसरी वा कहाँ हुर्कनु भएको वा तपाईंको शिक्षा वा प्रशिक्षणको अभाव कस्तो छ ? भन्ने कुराले सफलता प्राप्तिमा जटिलता निम्त्याउन सक्ला । तर यसले सफलतालाई असम्भव गराउँदैन । तपाईं आफूले रोजेको प्रयासमा सफल हुन सक्नुहुन्छ । यो आत्मा, धैर्यता र कठोरताले नै तपाईंको लक्ष्यलाई जित्न मद्दत गर्छ भन्दा फरक पर्दैन ।

६. तपाईंको महत्वाकांक्षाको बाटो खन्नुहोस्

तपाईंको महत्वाकांक्षालाई एकोहोरो बनाउनुहोस् । त्यसको लागि दूरदर्शिताको सहयोग लिन सकिन्छ । तपाईं आफ्नो लक्ष्यमा फोकस गर्नुहोस् र यसको लागि कार्य गर्नुहोस् । आफ्नो महत्वाकांक्षा नबदल्नुहोस् ।

७. साहसी हुनुहोस्

जब माले आफ्नो व्यवसायको एक अत्यन्त सफल समूह अलीबाबा ग्रुपको सुरूवात गरेका थिए । उनले सम्भावित समर्थकहरूको आलोचनात्मक प्रतिक्रियाको सामना गर्न ठूलै साहस जुटाउनु परेको थियो । तपाईंको छनौटको महत्वाकांक्षासँगै यस्ता व्यवधानहरू आइरहन्छन् । त्यस्तो परिस्थितिको व्यवस्थापनको लागि साहस जुटाउनु आवश्यक छ ।

८. तपाईंको युवावस्थाको अवसरलाई सदुपयोग गर्नुहोस्

यदि तपाईं ३५ वर्षको उमेरसम्म पनि धनी बन्न सक्नुहुन्न भने सम्झनुस् तपाईंले आफ्नो युवावस्था त्यसै खेर फाल्नुभयो । तपाईंको महत्वाकांक्षा र यसको खोजीमा राखेर उनीहरूको ऊर्जा र कल्पनाको साथ यी युवा उमेरलाई क्यापिटलाइज गर्नुपर्छ ।

९ सिंगो टिमलाई साझा लक्ष्यमा एकीकृत गर्नुहोस्

तपाईंको टोलीका प्रत्येक सदस्यलाई एकल व्यक्तिको पछाडि एकीकृत गर्न तपाईं कहिल्यै सफल हुनुहुने छैन । मा अनुमान गर्छन् कि ३० प्रतिशत मानिसहरु सधंै तपाईंसँग असहमत हुन्छन् । एक विचार, कारण वा मिसनको पछाडि तिनीहरूलाई एकजुट गर्नुहोस् र तपाईं टोलीको शक्तिलाई सदुपयोग गर्न सक्नुहुनेछ ।

१०. आफैँलाई बदल्न योग्य बनाउनुहोस्

विचार वा लक्ष्य मिल्नेहरुको एकीकरणबाट बनेको समूह कुनै विशेष व्यक्तिमा निर्भर हुँदैन । हामीले आफूले सोचेको नै सबै कुरा सही हुँदैन । त्यसैले आवश्यक परेको ठाउँमा आफैंलाई बदल्ने सोच पनि बनाउनुहोस् । त्यसो गर्दा जब तपाईं अगाडि बढ्नुहुन्छ, तिनीहरूको नेतृत्वले त्यो अभियान वा विचारको अविरल सफलता सुनिश्चित गर्छ ।

११. आफूभन्दा राम्रो सीप भएकालाई काममा लगाउनुहोस्

मा विश्वास गर्छन् यदि हाकिमलाई काम गर्ने कर्मचारीलाई भन्दा धेरै जानकारी र प्राविधिक ज्ञान छ भने यो निश्चित छ कि उसले गलत मान्छेलाई काममा लगाएको छ । श्रमिकहरू सधैं प्राविधिक रुपमा विशेषज्ञ हुनुपर्छ । तिनीहरूलाई भाडामा लिनुहोस्, सशक्तीकरण गर्नुहोस् र उनीहरूलाई काम गर्न दिनुहोस् । तिनीहरू यसमा तपाईंभन्दा राम्रो गर्न सक्छन् ।

१२. दूरदृष्टि, दुराग्रहरहित र सत् चरित्रयुक्त भएर जिउनुहोस्

कुनै कुनै यस्ता सीपहरू हुन्छन् जुन कुनै पनि कम्पनीको सफल नेतृत्वको लागि महत्वपूर्ण छ । कुनै पनि व्यवसाय विस्तार हुनको लागि त्यहाँका एक मुख्य नेता दूरदर्शी हुनुपर्छ । उसले हरेक अवसरलाई सही तरिकाले हेर्न सकोस् । एकजना आफैँमा कठोर पनि बन्दै जानुपर्छ । साथै व्यक्तिको चरित्र पनि सफा हुनुपर्छ ।

१३. दृढ रहनुहोस्

काम सुरु भएपछि नियमित रुपमा कठिन समयहरू थपिँदै जानेछन् । सुरुवातमा जहाँसुकै पनि चुनौतीको पहाड खडा हुन्छ नै । त्यो सिद्धान्तलाई दिमागमा राख्नुहोस् । त्यसैले सुरुवाती समयमा आफूले आफैँलाई कमजोर सोच्ने र हार खाने काम नगर्नुहोस् ।

१४. क्षमताभन्दा मनोवृत्ति महत्वपूर्ण हुन्छ

तपाईंको मनोवृत्तिले नै तपाईंको उचाइलाई निर्धारण गर्छ । चाहे सहज समयमा होस् या असहज समयमा । सफल व्यक्तित्वहरू शान्त रहन, उनीहरूको मिसनमा विश्वास राख्न र उनीहरूको इच्छित परिणाममा केन्द्रित गर्न लागिपर्छन् ।

१५. सुरक्षित निर्णय लिनु क्षमताभन्दा बढी महत्वपूर्ण हुन्छ

सबैतिर सफल भनिएका नेतृत्वकर्ता पनि सधैं चलाख वा कागजमा योग्य देखिँदैनन् । यद्यपि तिनीहरू आफैंलाई अत्यन्त सक्षम विज्ञहरूले घेरेका हुन्छन् । उनीहरू परिणाम हात पार्न बरु केही समय पर्खन्छन् तर आफूले निर्णय लिने समयमा स्पष्ट निर्णय लिन्छन् । त्यसैले आफूसँग यो क्षमता छ भन्नेभन्दा पनि निर्णय लिने समय र परिस्थिति कत्तिको उपयुक्त छ भनेर निर्णय लिनु नै उपयुक्त हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?