Comments Add Comment

भत्काइयो गोंगबुको आकाशेपुल

चक्रपथ विस्तार गर्न साइट क्लियर गरिँदै

१४ कात्तिक, काठमाडौं । गोंगबुको आकाशे पुल (ओभरहेड ब्रिज) सडक विस्तारका लागि भत्काइएको छ । चक्रपथको कलंकी-महाराजगञ्ज-धोबीखोला खण्ड विस्तारका लागि यो पुल भत्काइएको सडक विभागले जनाएको छ ।

तत्कालीन सरकारले ९ मसिर ०६७ मा कलंकी र गोंगबुमा आकाशे पुल निर्माणको स्वीकृति दियो । तर, दुवै पुलले एक दशकको पनि आयु पाएनन् । १३ करोड खर्च भएको कलंकीको पुलले पाँच वर्षमै भत्किनुपर्‍यो । साढे सात करोडमा निर्मित गोंगबुको आकाशे पुल पनि ८ वर्षमै भत्काइयो ।

करिब २७ दशमलव दुई किलोमिटर लम्बाइको चक्रपथ चीनको सहयोगमा आठ लेनमा विस्तार हुँदैछ । कलंकी पुल यसअघि नै भत्काएर यसअघि नै अन्डरपास बनाइसकिएको छ ।

चक्रपथ विस्तारका कलंकी-महाराजगञ्ज-धोबीखोला खण्डका अवरोध हटाउन बनेको नयाँ कार्यतालिका अनुरुप यो पुल भत्काइएको हो ।

यो आकाशे पुल सचिवस्तरीय निर्णयबाट निर्माण भएका थियो । काठमाडौं महानगरपालिकाले सार्वजनिक-निजी साझेदारी मोडेलमा दुवै पुल निर्माण गर्न इनोभेटिभ प्रालीलाई जिम्मा दिएको थियो । इनोभेटिभले १८ वर्ष सञ्चालन गर्न पाउने महानगरको निर्णयअनुसार दुवै पुल निर्माण गरेको थियो ।

यो कम्पनी पुरानो बसपार्कमा काठमाडौं टावर बनाउने जिम्मा लिएर अलपत्र पारेका मनाज भेटवालको कम्पनी हो ।

दुवै आकाशेपुल निर्माणबाट लागतसमेत उठ्न नसकेको इनोभेटिभको दावी छ ।

गुरुयोजना अभावमा काठमाडौंका सडकमा निर्मित संरचना केही वर्ष नबित्दै भत्काउनुपर्ने स्थिति देखिने गरेको पूर्वाधार विज्ञहरु बताउँछन् ।

काठमाडौंकको सडक तथा सार्वजनिक यातायातको एकीकृत गुरुयोजना नबन्दा करोडौंमा बनेका संरचना भत्काउनुपर्ने अवस्था विगतदेखि नै चल्दै आएको छ ।

विज्ञहरुको भनाइमा कलंकी र गोंगबुमा कम खर्चमा र खोलेर अन्य स्थानमा सार्न मिल्ने गरी आकाशेपुल निर्माण गरेको भए सरकारी ढुकुटी र सञ्चालन अनुमति पाएको कम्पनीले घाटा बेहोर्नुपर्ने थिएन ।

तर, कंक्रिटका संरचना ठड्याइएको थियो । तिनमा पसल कबलहरु राखेर भाडा उठाउने उद्देश्य राखेर गरी अनावश्यक खर्च गरिएको थियो ।

संसदको विकास समितिलगायत निकायले पनि त्यतिबेला तत्काल चक्रपथमा आकाशेपुल निर्माण नगर्न निर्देशन दिएका थिए । तर, महानगरले जबर्जस्ती आकाशेपुल निर्माण गरिछाड्यो । र, यसमा करोडौं सम्पति नोक्सान भयो ।

कलंकीको आकाशेपुलमा २०भन्दा बढी पसल कबल थिए भने गोंगबुमा पनि १५ भन्दा बढी पसल कबल थिए ।

कसरी हुँदैछ विस्तार ?

सरकारले गत असोज २५ गते काठमाडौं चक्रपथको कलंकी-महाराजगञ्ज-धोबीखोला खण्डको विस्तारका लागि एक महिनाभित्र घर भत्काउने र प्रसारणलाइनको टावर सार्नेबाहेेकका साइट क्लियरेन्सको काम सक्ने गरी कार्यतालिका तय गरेको थियो ।

एक महिनाभित्र पोल स्थानान्तरण गर्ने, तीन महिनाभित्र हाई भोल्टेज टावर सार्ने, सडक सीमामा रहेका जग्गाको मूल्यांकन सुरु गर्ने लगायत निर्णय भएको थियो ।

नेपाल विद्युत प्राधिकरणले कात्तिक मसान्तभित्र सबै पोल स्थानान्तरण गरी तार हाल्ने कार्य सकाउने र पुस मसान्तभित्र कारखाना चोक र सानोभर्‍याङस्थित हाई भोल्टेज टावर सार्ने तालिका बनेको छ ।

स्वयम्भूस्थित चैत्य कात्तिक मसान्तभित्र हटाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सम्बन्धित वडा कार्यालय र नगरपालिकासँग समन्वय गरेर नारायणगोपाल चोकको २४४ मिटर सडक सीमामा रहेका जग्गाको मूल्यांकन कार्तिक मसान्तभित्र सक्ने भएको छ ।

सडक सीमा सम्बन्धी रहेको अन्यौलबारेमा राजपत्र र कानुनी दस्तावेजको अध्ययन गर्ने र थप परामर्श गरी यथाशिघ्र नीतिगत निर्णय गर्नको लागि सडक विभागबाट आवश्यक पहल गर्ने निर्णय पनि भएको छ ।

चीन सरकारको सहयोगमा चक्रपथको दोस्रो खण्ड विस्तार गर्न लागिएको छ । चीनले साइट क्लियर नगरी काम सुरु नगर्ने बताएपछि सरकार साइट क्लियर गर्न जुटेको हो । यसअघि नै रुख कटानको काम सकिएको छ ।

यो खण्डको चीनले डिजाइन तयार गर्दैछ । सो डिजाइन सरकारले स्वीकृत गर्नुपर्छ । पहिलो खण्डका रुपमा विस्तार भएको कलंकी-सातदोबाटो-कलंकी चक्रपथ खण्डमा मेडियन नराखिएको भन्दै आलोचना भएकाले यसपटक मेडियनसहित चक्रपथ बनाउन सरकारमाथि दबाव छ ।

तर, चीनले कस्तो डिजाइन तयार गरेर दिन्छ भन्ने अन्योल छ । सरकारले भन वैज्ञानिक तवरले चक्रपथ विकास गर्ने बताएको छ । विज्ञहरुले यसलाई राजमार्गका रुपमा नभएर सहरी सडकका रुपमा विकास गर्न माग गर्दै आएका छन् ।

यो खण्ड विस्तारको ठेक्का चीनले नै लगाएर सबै खर्च पनि आफैंले गर्नेछ ।तस्वीरः चन्द्रबहादुर आले 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment