Comments Add Comment

प्रतिबन्ध खुकुलो भएसँगै आउन थाले विदेशी पर्यटक

१६ कात्तिक, काठमाडौं । सरकारले विदेशी पर्यटकमाथि लगाएको प्रतिबन्ध खुकुलो बनाएसँगै नेपालमा विदेशबाट पर्यटक आउन थालेका छन् । अध्यागमन विभागका अनुसार गत साउनसम्म नगन्य रहेको विदेशी नागरिकको आवागमन भदौपछि भने बढ्न थालेको छ । असोजमा पनि यस्तो संख्यामा वृद्धि भएको पाइएको छ ।

सरकारले अक्टोवर १७ पछि पर्यटन विभाग र ट्राभल व्यवसायीको सिफारिसमा अनअराइभल भिसाको अनुमति दिएसँगै विदेशी पर्यटक आवागमनले गति लिएको पर्यटन व्यवसायी राजेन्द्र सापकोटाले जानकारी दिए ।

‘आशाको किरण देखिएको छ,’ उनले भने, ‘महामारीका बीचमा पनि पर्यटक आगमन राम्रै हुने संकेत देखिन्छ ।’

सरकारले पर्वतारोहण र पदयात्राका लागि १७ अक्टोवरबाट नेपाल खुला भएको घोषणा गरेको हो । पर्यटकले ५ लाख डलरको कोरोना बीमा गरी नेपालमा पदयात्रा वा पर्वतारोहण गर्ने दिनको तालिका, पर्वतारोहण तथा पदयात्रा गर्न पाउने अनुमतिसहित प्रस्तावमा मागेमा अनअराइभल भिसा उपलब्ध गराउन थालेको हो ।

त्यसअगाडि भने विदेशी कुटनीतिक नियोगका कर्मचारी, विकास साझेदार संघ संस्थाका प्रतिनिधि तथा कर्मचारी र उनीहरुको परिवारलाई मात्र अनुमति थियो ।

त्यसपछि सरकारले नेपालका विकास निर्माणका काममा काम गर्ने विदेशी कामदारलाई समेत नेपाल आउने ढोका खोलेको थियो । नेपाल आइसकेपछि भने सबै विदेशी नागरिक ७ दिन होटेल क्वारेन्टिनमा बस्नु पर्छ ।

१७ अक्टोबरपछि ८० विदेशीको भ्रमण सिफारिस

ट्रेकिङ्ग एजेन्सिज एशोसिएसन अफ नेपाल -टान)का अनुसार १७ अक्टोबरयता नेपाल भ्रमणको तयारी पुरा गरेका ८० जना पर्यटकलाई अनअराइभल भिसा उपलब्ध गराउन सिफारिस भइसकेको छ । यो शनिबारसम्मको तथ्यांक हो ।

टानका अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार यी ८० जना विशुद्ध भ्रमणकै लागि नेपाल आउन चाहेका पर्यटक हुन् ।

यसबाहेक नेपालमा विभिन्न प्रयोजनका लागि दूतावासको सिफारिसमा आउने विदेशीको आगमन यसमा जोडिँदैन ।

उकालो लाग्दै आगमनदर

अध्यागमन विभागका अनुसार साउन २०७७ मा कुल १३७ जना विदेशी नेपाल आएका थिए । उक्त महिनामा २२ हजार ९ सय ३२ जना नेपाली घर फर्किएका थिए ।

भदौ महिनामो विदेशीको आगमन बढेर ४ सय ११ पुग्यो । यो महिनामा नेपालीको आगमन भने १५ हजार ८ सय २२ थियो ।

असोज महिनामा विदेशी पर्यटकको आगमन ११९१ पुगेको छ । यो संख्या चैतयताकै सबैभन्दा बढी हो ।

असोजमा नेपालीको आगमन भने ४६ हजार ४८ जना थियो । कात्तिक महिनामा विदेशी पर्यटकको आगमन अझ बढ्ने अपेक्षा व्यवसायीले गरेका छन् ।

किनकी नेपालमा पदयात्राका लागि सबैभन्दा उपयुक्त मौसम अहिले चलिरहेको छ । यस समय सगरमाथा आधार शिविरसम्मको पदयात्रा बढी चल्छ ।

आन्तरिक पर्यटनमा उत्साह

दशैं बिदाको अवसर पारी भ्रमणमा निस्किएका आन्तरिक पर्यटकले अहिले व्यवसायीलाई बढी उत्साहित बनाएको छ ।

टानका अध्यक्ष सुवेदीका अनुसार पोखरा र चितवन आन्तरिक पर्यटकका सदावहार गन्तब्य हुन् । यी दुई गन्तब्यमा राम्रै चहलपहल भएको छ ।

यसबाहेक सगरमाथा आधार क्षेत्रको पदयात्रा, अन्नपूर्ण पदयात्रा अन्तर्गत मार्दी हिमालको पदयात्रा र लाङटाङमा बढी आन्तरिक पर्यटक पुगेका छन् । यसले स्थानीय क्षेत्रमा होटेल व्यवसायीले उत्साहित बनाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment