
यो बर्षको दशैंमा नेपाली चलचित्रहरु रिलिज हुन पाएनन् । हल नै बन्द भएपछि चलचित्र रिलिज हुन नपाएको हो । जसलेगर्दा, दशैंमा चलचित्र प्रदर्शन गरेर राम्रै रकम कमाउने सोच बोकेका केही निर्माता मर्कामा परे ।
तर, यो दशैंमा निर्माता शोभित बस्नेतले भने चलचित्र ‘लक्ष्मी पूजा’ तयार गरे । आफैले घरमा बनाएको सुटिङ स्टूडियो र थानकोट वरिपरी खिचेर उनले चलचित्र बनाए । चलचित्रमा उनकै घरका सदस्यहरु जाहन्वी बस्नेत, जयकिशन बस्नेत, सलोन बस्नेत कलाकारको रुपमा थिए । निर शाह, अस्मिता जुरेली पनि चलचित्रका मुख्य कलाकार थिए ।
यो चलचित्र हलमा रिलिज नभएपनि विभिन्न टेलिभिजनबाट रिलिज भयो । युटुबमा रिलिजको तयारी हुँदैछ ।
शोभितका अनुसार, यो चलचित्रलाई बुढासुब्बा म्यूजिकले एमजी दिएपछि निर्माण गरिएको हो । शोभितले अनलाइनखबरसँग भने–‘हामीलाई त घाटा हुने कुरै भएन । बुढासुब्बाले चलचित्र बनाइदिनु पर्यो भनेपछि हामीले करिब ३० लाखको बजेट एमजी मागेका थियौं । यसमा मैले, मेरो पारिश्रमिक, निर्माण खर्च, कलाकारको पारिश्रमिक सबै जोडेको थिएँ । यसैले, चलचित्र निर्माण गर्दा नै म नाफामा थिएँ ।’
शोभितले बुढासुब्बाले अर्को चलचित्र पनि बनाइदिनका लागि आग्रह गरेकाले निर्माण कम्पनी पनि फाइदामा गएको विश्वास व्यक्त गरे ।
चलचित्र विभिन्न टीभी, युटुबमा रिलिज भैसकेपछि त्यसको आधा प्रतिशत शोभितको कम्पनीले पाउनेछ । यसरीहेर्दा, कैयौ निर्माता चलचित्र रिलिज गर्नका लागि तनावमा रहेको समयमा शोभितलाई भने दशैंमा राम्रै रकम नाफा भएको छ ।
प्रतिक्रिया 4