Comments Add Comment

एक दिनमै उप्कियो बाह्र किलो-सिर्दिखोला सडकको कालोपत्रे

१७ कात्तिक, गोरखा । गोरखा एप्रोपि्रएट प्रालिले बाह्र किलोदेखि सिर्दिखोला सडकखण्डमा गरेको कालोपत्र एक दिनमै उप्किएको छ ।

आइतबार गरिएको कालोपत्र सोमबार उप्किएपछि स्थानीयले विरोध जनाएका छन् । ‘हामी बिहान यहाँ आउँदा कालोपत्रे भएको केही भाग उप्किएको देख्यौ,’ स्थानीय ईश्वर बस्नेतले भने, ‘हलुकासँग तान्ने कोसिस गर्दा कालोपत्र गरिएको भागहरु सजिलै उप्किन थाल्यो ।’

काममा लापरबाही भएको उनले बताए । ‘गाडी आउजाउ बन्द गरेर पिच गरेका छन्, गाडी नगुड्दा त यस्तो छ भने गाडी गुडेपछि के हालत होला ?’ उनले थपे ।

बाह्र किलो भालुस्वाँरा बारपाक सडकअन्तरगत पर्ने उक्त खण्डमा अहिले कालोपत्रको काम भइरहेको छ ।

बाह्र किलो भालुस्वाँरा बारपाक सडक आयोजनाका अनुसार डेढ किलोमिटर सडक कालोपत्रका लागि एक करोड ७७ लाखमा सम्झौता भएको छ ।

२०७६ साल असार महिनामा भएको सम्झौता अनुसार २०७७ वैशाख ३० सम्ममा काम सक्नुपर्ने थियो । तर निर्धारित समयमा काम सम्पन्न नभएपछि कात्तिक ३० गतेसम्मका लागि म्याद थप भएको आयोजनाका कायममुकाय (कामु) कार्यालय प्रमुख राजेशकुमार यादवले बताए । कामको गति हेर्दा थप भएको म्यादमा पनि काम सम्पन्न नहुने पक्का जस्तै छ ।

ठेकदारको लापरबाहीका कारण समस्या भएको स्थानीय दीपक परियार बताउँछन् । कमसल सामानको प्रयोग गरेको उनको भनाइ छ । ‘काम पनि सुस्त छ, धुलो राम्रोसँग नउडाइ त्यसमाथि कालोपत्रे गर्‍यो, रोलरले राम्रोसँग पेलेन अनि कसरी कालोपत्र अडिन्छ त ?’ उनले भने ।

ठेकदारले फाइदा खाने र जनताले दुःख पाउने काम मात्र भएको उनले बताए ।

काममा लापरबाही भएको निर्माण कम्पनी गोरखा एप्रोपि्रएट प्रालि आफैंले स्वीकार गरेको छ । ‘हल्का कमजोरी भएकै हो, प्राइम पनि सेट नभइसकेको र रोलिङ गर्दा नमिलेको हो,’ प्रालिका इन्जिनियर अभिजित कोइरालाले भने, ‘भत्केको ठाउँमा प्राइम हालेर फेरि कालोपत्र गर्छाैं ।’

कमसल काम भएको ठाउँमा उप्काएर करेक्सन गर्न लगाउने आयोजनाले जनाएको छ । ‘निर्माण व्यवसायीको लापरबाहीले त्यस्तो भएको हो, हाम्रो सवइन्जिनियरसहितको प्राविधिक टोली त्यहा खटिएका छन्, मिस्टेक गरेको ठाउँमा सच्याउन लगाउँछौ,’ कामु कार्यालय प्रमुख यादवले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment