Comments Add Comment

युरोपमा कोरोनाको दोस्रो लहर : यसरी बढ्दैछ संक्रमण

१७ कात्तिक, काठमाडौं । बेलायतले आगामी बिहीबारदेखि लागू हुने गरी दोस्रोपटक राष्ट्रव्यापी लकडाउनको निर्णय गर्‍यो ।

कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि गरिएको यो लकडाउन डिसेम्बर २ बाट बिस्तारै खुल्दै जाने बताइएको छ । पछिल्लो समय बेलायतमा निरन्तर कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै बेलायतले पुनः लकडाउनको घोषणा गरेको हो ।

अष्ट्रिया र पोर्चुगलले कर्फ्युसहित सामाजिक गतिविधिमा प्रतिबन्धको नयाँ नियम ल्याएका छन् । पोर्चुगलले लगाएको नयाँ नियम मुलुकको ७० प्रतिशत भागमा लागू हुनेछ । अत्यावश्यक कामबाहेकका मानिसहरुलाई घरबाट बाहिर निस्किन रोक लगाइएको छ ।

फ्रान्सले पनि शुक्रबार र शनिबार सामाजिक गतिविधिमा थप प्रतिबन्धका नियम ल्याएको थियो ।

पछिल्लो समय युरोपका अधिकांश मुलुकमा अहिले कोरोना संक्रमण पुनः बढ्न थालेको छ । फाइनान्सियल टाइम्सले तयार पारेको संक्रमितको साप्ताहिक औसत अनुसार अहिले बेलायत, फ्रान्स, इटाली, बेल्जियम, जर्मनी र स्वीट्जरल्याण्डमा उच्च विन्दुमा पुगेका छन् । संक्रमित संख्याको आधारमा हेर्ने हो भने युरोपमा कोरोना संक्रमण पहिलो लहरमा भन्दा दोस्रो लहरमा झन् अझै ठूलो संख्यामा फैलिएको छ । अर्थात् पहिलो लहरमा भन्दा दोस्रो लहरमा कोरोनाबाट प्रभावित हुनेको संख्या बढेको छ ।

बेलायतमा पहिलो लहरको संक्रमण उच्च विन्दुमा पुग्दा गत मे ६ मा एक हप्ताको औसत निकाल्दा दैनिक संक्रमितको संख्या ५१२५ सम्म थियो । त्यसपछि निरन्तर संक्रमणमा कमी आउँदै जुलाई नौ मा यो संख्या ५५४ मा झरेको थियो । तर, त्यसयता निरन्तर संक्रमण बढ्दै यो संख्या अक्टोबर ३० मा २२ हजार १२५ मा पुगेको छ ।

फ्रान्समा पहिले लहरको संक्रमणमा ४ अप्रिलमा सात दिनको औसत निकाल्दा नयाँ संक्रमितको संख्या दैनिक चार हजार ५९७ मा पुगेको थियो । त्यसपछि निरन्तर कमी आउँदै जुन ८ मा यो संख्या २९९ मा आइपुगेको थियो । दोस्रो लहरमा पुनः संक्रमण बढेर अहिले औसतक दैनिक नयाँ संक्रमितको संख्या अक्टोबर ३१ मा ३९ हजार ७३२ मा पुगेको छ ।

इटालीको अवस्था पनि त्यस्तै छ । इटालीमा २६ मार्चमा औसत दैनिक संक्रमितको संख्या ५६४३ थियो । त्यसपछि निरन्तर संक्रमणमा कमी आएको थियो । जुलाई ३ सम्म आउँदा यो संख्या १७४ मा झरेको थियो । तर, त्यसपछि पुनः कोरोना संक्रमण बढ्न थाल्यो । अक्टोबर ३१ सम्ममा २४ हजार ९८८ मा औसत नयाँ संक्रमित देखिएका छन् ।

बेल्जियममा अप्रिल ११ मा औसत नयाँ संक्रमितको संख्या एक हजार ६१६ थियो । जुलाई १ सम्म आइपुग्दा संक्रमण घटेर ७९ औसत नयाँ संक्रमितमा आइपुगेको थियो । तर, अक्टोबर २८ सम्ममा यो संख्या १५ हजार ९६७ मा पुगेको छ ।

जर्मनीमा गत अप्रिल ४ मा औसत नयाँ संक्रमितको संख्या पाँच हजार ५९५ विन्दुमा पुगेको थियो । त्यसपछि निरन्तर कमी आउँदै जुन १४ मा ३२४ मा आइपुगेको थियो । अक्टोबर ३१ सम्म आइपुग्दा औसत नयाँ संक्रमितको यो संख्या १८ हजार ८२१ पुगेको छ ।

स्वीट्जरल्याण्डमा गत अप्रिल २ मा औसत दैनिक संक्रमितको संख्या एक हजार ६८ मा पुगेको थियो । त्यसपछि संक्रमणमा कमी आउँदै जुन ८ मा यो संख्या १४ मा झरेको थियो । अक्टोबर ३० मा औसत दैनिक संक्रमितको संख्या सात हजार दुईसय पुगेको छ ।

कोरोनाबाट मृत्यु हुनेको संख्या पनि युरोपका धेरै मुलुकमा पछिल्लो समय पुनः बढ्न थालेको छ । पहिलो संक्रमणसँगै उच्च विन्दुमा पुगेर शून्यकै हाराहारीमा झरिसकेको मृतकको संख्या साप्ताहिक औसतअनुसार अहिले पुनः बढ्न थालेको छ । युरोपका धेरै मुलुकमा गत जुलाईदेखि सेप्टेम्बरको बीचमा कोरोनाबाट मृत्यु हुनेको संख्या महामारीपछिको सबैभन्दा कम अर्थात् साप्ताहिक औसतमा शून्यको हाराहारीमा आइपुगेको थियो । तर, त्यसयता निरन्तर कोरोनाबाट हुने मृत्युको संख्या बढ्दो क्रममा छ । त्यसैलाई ध्यानमा राख्दै अहिले युरोपका धेरै मुलुकमा सामाजिक गतिविधिमा कडाइ गर्न थालिएको छ । विशेषज्ञहरुले जाडो मौसम आउन लागेको अवस्थामा युरोपमा कोरोना संक्रमण फैलिनु जोखिमपूर्ण हुने बताएका छन् ।

बेलायतमा गत अप्रिल १३ मा साप्ताहिक औसतमा कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या ९४२ पुगेको थियो । यो संख्या अगष्ट ११ मा ६ मा झरेको थियो । तर, अक्टोबर ३१ सम्म आइपुग्दा भने पुनः बढेर औसत दैनिक मृतकको संख्या २५८ पुगेको छ । फ्रान्समा गत अप्रिल १६ मा औसतमा दैनिक मृत्यु हुनेको संख्या ८९३ थियो । जुलाई २६ मा यो संख्या पाँचमा झरेको थियो । अक्टोबर ३१ मा भने यो संख्या पुनः ३०६मा पुगिसकेको छ ।

इटालीमा गत अप्रिल २ मा औसतमा दैनिक मृत्यु हुनेको संख्या ८२५ पुगेको थियो । अगष्ट २० मा यो संख्या चारमा झरेको थियो । अक्टोबर ३१ सम्ममा भने यो संख्या २०१ पुगिसकेको छ । बेल्जियमको कुरा गर्दा पनि गत अप्रिल १३ मा औसतमा दैनिक मृत्यु हुनेको संख्या २८५ थियो । गत जुलाई ११ मा यो संख्या केवल एकमा झर्‍यो । अक्टोबर २८ मा भने यो संख्या १०२ मा पुगिसकेको छ ।

जर्मनीमा अप्रिल २१ मा साप्ताहिक दैनिक मृत्युदर २३२ थियो । यो संख्या जुलाई १९ मा २ मा झार्‍यो । तर, अक्टोबर ३० मा यो संख्या ६४ मा पुगेको छ । स्वीट्जरल्याण्डमा अप्रिल ८ मा दैनिक मृत्युदर ४६ थियो । जुलाई १३ मा यो संख्या शून्यमा झरेको थियो । अक्टोबर ३० मा पुनः यो संख्या बढेर २२ मा आइपुगेको छ ।

पछिल्लो समय कोरोना संक्रमण बढेसँगै संक्रमितको उपचारमा पनि समस्या देखिन थालेको छ । यसअघि भेन्टिलेटर, आक्सिजन र आईसीयूको मात्र समस्या देखिने गरेकोमा बिस्तारै स्वास्थ्यकर्मीको पनि अभाव देखिन थालेको छ । विशेषगरी संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछि उपचारमा त्यसको असर देखिन थालेको हो ।

बेल्जियमको लीज सहरमा स्वास्थ्यकर्मी अभाव भएसँगै संक्रमित स्वास्थ्यकर्मीलाई नै काममा फर्किन आग्रह गरिएको थियो । उक्त सहरका एक चौथाइ स्वास्थ्यकर्मी कोरोना संक्रमित छन्, जसका कारण काममा अवरोध उत्पन्न भएको अधिकारीहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment