Comments Add Comment

भिटेनलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

१८ कात्तिक, काठमाडौं । पप गायक भिटेन (समिर घिसिङ) लाई पक्राउ नगर्न उच्च अदालत, पाटनले आदेश दिएको छ ।

गीत, संगीतको विषयमा उनलाई पक्राउ गर्नुपर्ने कारण नदेखिएको भन्दै मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले उनलाई धरपकड नगर्न प्रहरीलाई आदेश दिएको हो ।

अदालतका उप–रजिस्टार शम्भु रेग्मीले भिटेनलाई धरपकड नगर्न प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोको नाममा अन्तरिम आदेश जारी गरिएको अनलाइनखबरलाई बताए ।

भिटेनले एक साताअघि सार्वजनिक गरेको पारा नामक गीतमा अश्लील शब्द र गालीगलौज गरिएको भन्दै प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्न साइबर ब्युरोलाई पत्राचार गरेको थियो । यो विषय सार्वजनिकलगत्तै उनले युट्युबको ट्रेडिङ नं. १ मा रहेको आफ्नो गीत हटाएका थिए ।

साथै, प्रेस विज्ञप्ति समेत जारी गरेर गीतलाई संशोधनपछि पुनः राखिने पनि जनाएका थिए । त्यहीबीच उनले अदालतमा प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोलाई विपक्षी बनाएर १६ कात्तिकमा निषेधाज्ञा सम्बन्धी रिट निवेदन दिए ।

अदालतमा निवेदन परेपछि प्रहरीको महानगरीय अपराध महाशाखालाई अनुसन्धानको जिम्मेवारी प्रहरी प्रधान कार्यालयले दिएको थियो । यसअघि महाशाखाले नै उनलाई पक्राउ गरेकाले अनुसन्धानको जिम्मेवारी फेरबदल गरिएको साइबर ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्याल बताउँछन् ।

तर, महाशाखाले भने भिटेनले गीत हटाएको र सार्वजनिक याचना गरेकाले अनुसन्धान गर्नुनपर्ने निष्कर्ष निकालेको थियो । यसअघि ‘हामी यस्तै त हो नि ब्रो’ बोलको गीतमा प्रहरीलाई गालीलगौज गरेको आरोपमा उनलाई महाशाखाले गत वर्ष ७ कात्तिकमा पक्राउ गरेको थियो ।

अभद्र व्यवहार सम्बन्धी कसूरमा उनलाई साधारण तारखेमा छाडिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment