+
+

निःशुल्क खाना खुवाउने अभियान बलपूर्वक रोक्दिनँ : मेयर शाक्य

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १९ गते १२:५२

१९ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियान बलपूर्वक नरोक्ने बताएका छन् ।

महानगरले नगर प्रहरी पठाएर अभियान रोक्न भनेपछि मेयर शाक्यको चर्को आलोचना भएको छ । बुधबार पत्रकार सम्मेलन गरेका मेयर शाक्यले खाना खुवाउजे अभियान बलपूर्वक नरोक्ने र व्यवस्थापनका लागि सहयोग गर्ने बताए । उनले भने, ‘काम गर्न सक्नेहरुले काम गरुन्, कोही खाना खानै नपाएर भोको बस्नु नपरोस् भनेर अभियान्ताहरुसँग सहकार्य गर्न पनि हामी तयार छौं ।’

महानगरले पार्टी प्यालेस भाडामा लिएर अभियान्ताहरुलाई दिनसक्ने उनले बताए । त्यसका लागि आजै अभियान्ताहरुसँग छलफल गर्न चाहेको मेयर शाक्यले बताए ।

‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ भन्ने काठमाडौँ महानगरपालिकाको नीति नै हो । अरु सबैको आसय पनि कोही भोको नपरुन भन्ने नै हो,’ शाक्यले भने, ‘अहिले काठमाडौं महानगर क्षेत्र भित्रका विभिन्न सार्वजनिक र भिडभाड हुने स्थलहरूमा हालै भइरहेको निःशुल्क खाना खुवाउने कार्यलाई हामी छिटै व्यवस्थित गर्छौ ।’

उनले काठमाडौँ महानगरवासीको स्वस्थ्य जीवनप्रति काठमाडौँ महानगरपालिका सम्वेदनशील रहेको भन्दै जिम्मेवार ढंगले त्यसका व्यवस्थापनमा लाग्ने पनि प्रतिवद्धता व्यक्त गरे ।

‘ हामी सबैले समन्वय गरेर अघि बढ्ने हो भने समस्यामा परेका श्रमिक, गरिब र असहायलाई दुई छाक खाने र उनीहरुको चुल्हो ननिभ्ने व्यवस्था सजिलै गर्न सकिन्छ,’ उनले भने, ‘ समस्यामा परेका श्रमिक, गरिब र असहायको सेवामा निरन्तर खटिरहनु भएका विभिन्न संघ–संस्था र व्यक्तिलाई अहिलेसम्म गरेको मानवीय सेवाका लागि धन्यवाद दिदैँ काठमाडौँ महानगरपालिकासँग समन्वय गर्न विनयपूर्वक आग्रह गर्न चाहन्छ । त्यसका लागि तपाईँहरुले खुलामञ्च होइन पार्टी प्यालेसलगयतका ठाउँमा खाना खुवाउने व्यवस्था गर्नुहोला।काठमाडौँ महानगरपालिका पार्टी प्यालेसको भाडा व्यहोर्न तयार छ। तर, सक्नेले श्रम गर्नुपर्छ ।’
उनले खुलामञ्चमै खाना खुवाउन पाउनुपर्छ भनेर कसैले पाखुरा सुर्किनु नपर्ने पनि बताए ।

उनले आफुहरु जिम्मेवार नियकाय भएकाले राजनीतिक स्वार्थभाव राखेर मुठभेड गर्ने वा गैर जिम्मेवार बन्ने पक्षमा नरहेको पनि बताए । ‘हामी जिम्मेवार पूर्वक ढंगले व्यवस्थापन गर्न तयार छौँ,’ उनले भने, ‘कोही पनि भोको नरहने गरी हामी सम्वन्धित नियकायसँग पनि समन्वय गरी रहेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?