
१९ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष सर्वसम्मत चयन गर्न छलफल अघि बढाइएको छ । वरिष्ठ उपाध्यक्षका लागि वर्तमान उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकाल प्रत्यासी छन् ।
प्रधान र ढकाल दुबै पक्षले सर्वसम्मत चयनका लागि छलफल अघि बढाएका छन् । मंगलबार मात्रै पनि एक जनालाई सर्वसम्मत चयन गराउनका लागि दुई पक्षबीच अनौपचारिक छलफल समेत भएको थियो । बुधबार अपरान्ह प्रधान र ढकाललाई छलफल गराउने तयारी गरिएको छ ।
सर्वसम्मतिका लागि दुबै उम्मेद्वारहरुले सकारात्मक रहेको बताएका छन् । प्रधानले पनि सर्वसम्मतिका लागि आफू तयार रहेको बताउँदै आएका छन् । तर उनले छाड्न भने मानेका छैनन् ।
अर्का उम्मेदवार ढकालले पनि आफू सर्वसम्मत गर्ने सहमति हुने हो भने छलफलका लागि अझै तयार रहेको प्रतिक्रिया दिएका छन् ।
‘महासंघ सबैको साझा संस्था हो, यसको नेतृत्वले उद्योगी व्यवसायिको हितका लागि काम गर्ने हो’ ढकालले भने, ‘यसमा सर्वसम्मत नेतृतव आउनु त धेरै राम्रो कुरा हो, यसका लागि सबै जना सकारात्मक नै हुनुपर्छ ।’ तर आफू बलियो भएको भन्दै ढकालले प्रधानले उम्मेद्वारी फिर्ता लिनुपर्ने बताए ।
प्रधानको मत पनि उस्तै छ । यस अघि पनि सहमतिको प्रयास नभएको होइन । ढकाल र प्रधान दुई जना बसेर संवाद समेत भएको थियो । त्यस छलफलमा सहभागी प्रधान पक्षका एक उद्योगी भन्छन्, ‘किशोर दाइले उमेरमा पनि म जेठो भएको भन्दै चन्द्र जीलाई छाडिदिन आग्रह गर्नु भएको थियो तर कुरा मिल्न सकेन ।’
प्रधान यसअघि शेखर गोल्छासँग वरिष्ठ उपाध्यक्षमा नै चुनावमा पराजय बेहोरेका व्यक्ति हुन् । तर अहिले उनै भावी अध्यक्ष शेखर गोल्छाले समेत प्रधानलाई समर्थन गरेका छन् । वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने वैधानिक व्यवस्था अनुसार गोल्छा महासंघको अध्यक्ष हुँदैछन् ।
आगामी अध्यक्ष बन्ने पक्का भएका गोल्छा समेत सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चयन हुनुपर्ने पक्षमा देखिएका छन् । उनले सर्वसम्मत हुनु धेरै राम्रो हुने बताए ।
‘प्रजातान्त्रिक अभ्यासमा चुनाव नै सर्वोत्तम तरिका हो तर, अहिलेको विषम परिस्थितिमा महासंघमा कुनै सहमति भएमा यो सम्पूर्ण निजी क्षेत्रको लागि सुखद हुने थियो’ गोल्छाले भनेका छन् । उनले सहमतिका लागि प्रयास जारी राख्न समेत उनले आग्रह गरेका छन् ।
महासंघको ५४औं वाषिर्क साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ । गत चैत्रमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड-१९ का कारण स्थगित भएको थियो ।
पछि पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड-१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन ।
महासंघको वस्तुगत उपाध्यक्षमा वर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ भिड्दैछन् भने एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघई र शौरभ ज्योति र जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र गुणनिधि तिवारी भिड्ने भएका छन् ।
प्रतिक्रिया 4