Comments Add Comment

भारतमा बेचिनबाट जोगिए ३ किशोरी, धनगढीबाट गरियो उद्धार

२० कात्तिक, कैलाली । बेचबिखनका लागि भारत लैजाने तयारी अनुसार धनगढी ल्याइएका तीन जना किशोरीहरुलाई उद्धार गरेको कैलाली प्रहरीले जनाएको छ ।

धनगढी बसपार्कमा रहेको न्यु बडी केदारमा राखिएका १७, १८ र १९ वर्षीया किशोरीहरुलाई गएराति उद्धार गरेको प्रहरीले जनाएको छ । किशोरीहरु दुई जना सर्लाहीका र एक जना सिन्धुलीका हुन् ।

त्रिनगर नाका हुँदै भारत पु¥याउन लागिएको सूचनाका आधारमा परिचालित टोलीले किशोरीहरुको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । उनीहरूलाई शान्ति पुनःस्थापना गृहको सेफ हाउसमा राखिएको छ ।

अनुसन्धानको लागि प्रहरीले होटेल सञ्चालक टेकेन्द्र बडैलासहित ४ जनालाई पक्राउ पनि गरेको जनाएको छ । ‘चार जना पक्राउ गरेका छन्,’ प्रवक्ता विष्टले भने, ‘उनीहरूलाई सर्लाही र सिन्धुलीबाट यहाँसम्म कसरी ल्याइयो भन्नेबारे पनि अनुसन्धान भइरहेको छ ।’

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बेचबिखनमा अन्य व्यक्तिहरूको पनि संलग्नता रहेको हुन सक्ने बताए । ‘नेपालदेखि भारतका बिभिन्न व्यक्तिहरू यसमा संलग्न रहेको बुझिएको छ,’ उनले भने, ‘सबैलाई पक्राउ गरी कारबाही गर्छौं ।’

तीन जना किशोरीहरु उद्धार गरिएको स्थानबाट नेपाल–भारत सीमा करिब ३ किलोमिटर मात्रै पर छ । उनीहरुको उद्धार नभएको भए केही दिनमै उनीहरु भारतमा बेचिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment