
२० कात्तिक, काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी)ले आफ्ना कुनैपनि उत्पादनमा कैफियत नभएको दावी गरेको छ । डीडीसीको मख्खन र घिउमा अखाद्य वस्तु घेटिएको तथा उपभोग्य मिति सकिएको भनी गरिएको प्रचारमा कुनै सत्यता नभएको संस्थानका महाप्रबन्धक राजेन्द्रप्रसाद पौडेलले बताए ।
‘उपभोक्ताको गुनासोपछि संस्थानको दुग्ध विकास आयोजनाको ल्याबमा गुणस्तर परीक्षण गरिएको थियो, हामीले अहिलेसम्म कुनै कैफियत फेला पारेका छैनौं,’ महाप्रबन्धक पौडेलले भने ।
बीस दिनसम्म फरक-फरक नमूनाको जाँच गर्दा कुनै पनि नमूनामा कैफियत नदेखिएको संस्थानको दाबी छ ।
लकडाउनका कारण दुग्धजन्य पदार्थको बिक्रीमा कमी आएको र त्यसबाट किसानलाई मर्का नपरोस् भनेर संस्थानले लामो समयसम्म उपभोग गर्न मिल्ने अन्य पदार्थ निर्माण गरेको जनाएको छ ।
संस्थानको आधुनिक भण्डारण गृहमा राखिएका उत्पादन एक वर्षसम्म नबिग्रिने वैज्ञानिक आधार रहेको पनि संस्थानको दाबी छ ।
भण्डारणमा रहेको दुग्धजन्य पदार्थको गुणस्तरबारे सचेत रहेको र बेला बेलामा छड्के परीक्षणहरु पनि गरिरहेको पौडेलले बताए ।
गत असोज २७ गते काठमाडौं महानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा डीडीसीको बालाजु आयोजनाको भण्डारमा एक लाख ९४ हजार किलोभन्दा धेरै बटरमा उपभोग्य मिति सकिएको फेला परेको थियो ।
यस्तै कृषि मन्त्रालयकै पूर्व सहसचिवले बजारबाट किनेको डीडीसीको घिउमा साधरण तापक्रमले नपग्लिने तत्व फेला परेको थियो ।
प्रतिक्रिया 4