News Summary
Generated by OK AI. Editorially reviewed.- दुग्ध विकास संस्थान (डीडीसी) ले आफ्ना उत्पादन सहज बनाउन काठमाडौं उपत्यकाका ३० स्थानमा डेडिकेटेड आउटलेट सञ्चालनमा ल्याउने रणनीति तय गरेको छ ।
- महाप्रबन्धक डा. शरणकुमार पाण्डेले साउनभित्रै बूढानीलकण्ठ, कलंकी र कोटेश्वर लगायतका क्षेत्रमा यी आउटलेट सञ्चालनमा आउने जानकारी दिनुभएको छ ।
- डीडीसीले अनलाइन अर्डर तथा घरमै डेलिभरी सेवा सुरु गर्ने तयारी गरेको छ भने हाल दैनिक ६५ हजार लिटर दूध संकलन गरिरहेको छ ।
११ साउन, काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले बजार विस्तार रणनीति तय गरेको छ ।
उपभोक्तालाई आफ्ना उत्पादन सहजै उपलब्ध गराउन डीडीसीले साउनभित्र काठमाडौं उपत्यकाका ३० स्थानमा ‘डेडिकेटेड आउटलेट’ सञ्चालनमा ल्याउने भएको हो ।
डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेका अनुसार यी आउटलेटमा डीडीसीका उत्पादन मात्र बिक्री गरिने छ ।
‘हाम्रा उपभोक्तालाई सहज सेवा दिन हामीले हाम्रै डेडिकेटेड आउटलेट खोल्न लागेका हौं,’ उनले भने, ‘जहाँ डीडीसीका सम्पूर्ण सामग्री मात्रै उपलब्ध हुनेछन् ।’
उनका अनुसार काठमाडौंका प्रमुख व्यावसायिक तथा आवासीय क्षेत्र बूढानीलकण्ठ, वनस्थली, कलंकी, कोटेश्वर, नयाँ बानेश्वर र शंखमूल लगायत स्थानमा यी आउटलेट खुल्नेछन् ।
उपभोक्ताको बाक्लो बस्ती भएका ठाउँमा उपयुक्त स्थान खोज्ने कार्य भइरहेको छ । ‘साउन २० देखि २५ भित्र करिब १५ वटा आउटलेट पूर्णरूपमा सञ्चालनमा आइसक्नेछन्,’ महाप्रबन्धक पाण्डेले अनलाइनखबरसँग भने, ‘बाँकी १५ आउटलेट पनि सजावट र तयारी चरणमा रहेकाले छिट्टै सञ्चालनमा आउनेछन् ।’
यी बिक्री केन्द्रमा डीडीसीबाट उत्पादित सम्पूर्ण सामग्री दूध, दही, घिउ, बटर, पनिर, चिज, खुवा, आइसक्रिम, लालमोहन, रसबरी र मही सहजै उपलब्ध हुनेछन् ।

यसै रणनीति अन्तर्गत पर्यटकीय क्षेत्र वसन्तपुर डबलीमा नयाँ सजावट सहित आउटलेट आइतबारदेखि नै सञ्चालनमा आइसकेको छ, जसको उद्घाटन महाप्रबन्धक पाण्डेले नै गरेका थिए ।
त्यस्तै ललितपुर एकान्तकुनामा पनि यस्तै आउटलेट सञ्चालनमा आइसकेको छ । भौतिक आउटलेटसँगै डीडीसीले प्रविधि प्रयोग मार्फत ‘डिजिटल मार्केटिङ’ लाई पनि अघि बढाएको छ ।
अबको केही दिनमै उपभोक्ताले अनलाइन मार्फत डीडीसीका उत्पादन अर्डर गर्न सक्ने र घरमै डेलिभरी पाउने व्यवस्था मिलाइएको छ ।
‘हामी अनलाइन डिजिटल मार्केटिङमा जाँदै छौं, अब उपभोक्ताले सब्स्क्रिप्सन गरेको भरमा अनलाइनबाटै डीडीसीका उत्पादन घरमै पाउनेछन्,’ महाप्रबन्धक पाण्डेले भने, ‘सहज ढङ्गबाट हाम्रा उत्पादन उपभोक्ताको भान्सासम्म पुर्याउने उद्देश्यसाथ काम भइरहेको छ र यो सेवा अबको दुई–चार दिनमै सुरु हुन्छ ।’
साउनमा दूध संकलन कम, भदौदेखि सुधार हुने
बजारमा माग बढाउने रणनीति लिएको डीडीसीले हाल दूध संकलन अवस्था पनि नजिकबाट नियालिरहेको बताएको छ । साउनमा गाउँघरमै दूध खपत बढी हुने भएकाले औपचारिक च्यानलमा दूध संकलन केही घटेको महाप्रबन्धक पाण्डेले बताए ।
‘अहिले साउनमा किसान आफैंले आन्तरिक खपत बढी गर्नुहुन्छ, त्यसैले अहिले दूध संकलन केही कम छ, तर भदौ लागेपछि यो आफ्नै ट्र्याकमा आउँछ,’ उनले भने ।

पाण्डेका अनुसार हाल डीडीसीले देशभरिबाट दैनिक करिब ६५ हजार लिटर दूध संकलन गरिरहेको छ ।
हाल उपत्यकामा केन्द्रित यो नयाँ ‘आउटलेट मोडेल’ सफल भएपछि निकट भविष्यमै उपत्यका बाहिरका प्रमुख सहरमा पनि विस्तार गर्ने लक्ष्य रहेको डीडीसीले जनाएको छ ।
प्रतिक्रिया 4