News Summary
Generated by OK AI. Editorially reviewed.- दुग्ध विकास संस्थानले दूध संकलन प्रणालीलाई व्यवस्थित बनाउन नयाँ नीति लागु गर्दै साउन मसान्तसम्ममा अनिवार्य सम्पर्क र नवीकरण गर्न सबै सहकारी तथा फार्महरूलाई निर्देशन दिएको छ।
- संस्थानले तोकिएको समयसीमाभित्र सम्पर्कमा नआउने सहकारी तथा निजी फार्महरूको दूध खरिद गर्न आफू बाध्य नहुने स्पष्ट पारेको छ।
- व्यवसायीहरूले दूध कारोबार निरन्तरताका लागि पायक पर्ने जिल्ला आयोजना कार्यालय वा चिलिङ सेन्टरमा सम्पर्क गरी नवीकरण प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।
३ साउन, काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूध संकलन प्रणाली आधुनिकीकरण र थप व्यवस्थित गर्ने उद्देश्यले नयाँ कदम चालेको छ ।
लामो समयदेखि देशभरिका किसानबाट दूध संकलन गर्दै आएको डीडीसीले चालु आर्थिक वर्ष २०८३/८४ देखि लागु हुने गरी दूध आपूर्ति गर्ने सहकारी तथा निजी फार्मलाई अनिवार्य सम्पर्क र नवीकरणका लागि साउन मसान्तसम्मको समयसीमा (डेडलाइन) तोकेको छ ।
डीडीसी केन्द्रीय कार्यालय लैनचौरले सूचना जारी गर्दै दूध संकलनलाई ‘प्रविधिमैत्री, अनुमानयोग्य, दिगो र थप व्यवस्थित’ बनाउने नयाँ नीति अख्तियार गरेको जनाएको छ ।
डीडीसीसँग निरन्तर दूध कारोबार गर्न इच्छुक दुग्ध उत्पादक सहकारी संस्था तथा निजी फार्मले साउनभित्र अनिवार्य सम्पर्क गरिसक्नुपर्ने छ ।
तोकिएको समयभित्र सम्पर्कमा नआउने संस्था तथा फार्महरूको दूध खरिद गर्न संस्थान बाध्य नहुने स्पष्ट पारेको छ ।
‘२०८३ साउन मसान्तसम्म सम्पर्कमा नआउने संस्था तथा फार्मसँग दूध कारोबार गर्न संस्थान बाध्य नहुने बेहोरा समेत जानकारी गराइन्छ,’ सूचनामा छ ।
सूचना अनुसार साउन मसान्तपछि सम्पर्कमा नआएका फार्म वा सहकारीको दूध डीडीसीले नउठाउन पनि सक्ने देखिन्छ ।
आफ्नो कारोबार डीडीसीसँग निरन्तर जोडिराख्न चाहने उत्पादकले पायक पर्ने संस्थानका विभिन्न जिल्लामा रहेका आयोजना कार्यालय वा चिस्यान केन्द्र (चिलिङ सेन्टर) हरूमा सम्पर्क गर्नुपर्ने छ ।
५७ वर्षदेखि दुग्ध क्षेत्रमा काम गर्दै आएको डीडीसीले सहकारी संस्था, निजी फार्म र किसानबाट दूध संकलन गर्दै आइरहेको छ ।
प्रतिक्रिया 4