+
+
Shares

दूध गुणस्तरमा डीडीसीको कडाइ, काभ्रेबाट ल्याइएको ३ हजार लिटर दूधमा चिनी मिसावट पाइएपछि अनुसन्धान हुँदै

बजारमा कमसल दूध गएको र उपभोक्ताको भरोसा घटेको गुनासो बढेपछि गुणस्तर परीक्षणमा डीडीसीले कडाइ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते १९:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले दूध संकलन, गुणस्तर र वितरणमा कडा निगरानी सुरु गरेको छ।
  • पनौतीबाट ल्याइएको ३ हजार २० लिटर अखाद्य दूध चिनी मिसाइएको र न्यूनतम मापदण्ड नपुगेको पाइएको छ।
  • संस्थानले उक्त दूध बजार पठाउन रोक लगाएर नियन्त्रणमा लिएको र भोलि नष्ट गर्ने जनाएको छ।

५ जेठ, काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूध संकलन, गुणस्तर र वितरणमा कडा निगरानी सुरु गरेको छ ।

बजारमा कमसल दूध गएको र उपभोक्ताको भरोसा घटेको गुनासो बढेपछि गुणस्तर परीक्षणमा डीडीसीले कडाइ गरेको हो ।

काभ्रे पनौतीबाट ल्याइएको ३ हजार २० लिटर दूध अखाद्य पाइएपीछ डीडीसीले दूध गुणस्तरमा थप कडाइ अपनाएको हो ।

पनौतीस्थित चिस्यान केन्द्र (चिलिङ सेन्टर) मार्फत विभिन्न सहकारी र फार्महरूबाट संकलन गरी ल्याइएको उक्त दूधको ल्याब परीक्षण गर्दा चिनी मिसाइएको, गन्ध आएको र न्यूनतम मापदण्ड समेत पूरा नभएको पाइएको डीडीसीका महाप्रबन्धक डा. शरण पाण्डेले बताए ।

गुणस्तरहीन प्रमाणित भएपछि संस्थानले उक्त दूध बजार पठाउन रोक लगाएर नियन्त्रणमा लिएको उनले जानकारी दिए । उक्त दूध भोलि नष्ट गरिने डीडीसीले जनाएको छ ।

महाप्रबन्धक पाण्डेले संस्थानको उत्पादनप्रति उपभोक्ताको भरोसा बढाउन र बजारमा स्वस्थ दूध पठाउन गुणस्तरमा कडाइ गरिएको उनले बताए ।

‘हाम्रो डीडीसीप्रति उपभोक्ताहरूको भरोसा कम भइरहेको र कम गुणस्तरका दूध पनि संकलन गरेर बजारमा पठाउने गरेको भन्ने जुन आरोप थियो, त्यसलाई चिर्न हामीले चेकजाँचमा कडाइ गरेका छौं,’ महाप्रबन्धक पाण्डेले अनलाइनखबरसँग भने, ‘यसै क्रममा पनौतीबाट आएको ३ हजार २० लिटर दुध ल्याबमा चेक गर्दा गन्ध नराम्रो भएको, चिनी (सुगर) मिसाएको र न्यूनतम मापदण्ड पनि नभएको भेटियो, त्यसलाई बजार जानबाट रोकेर नियन्त्रणमा लिएका छौं, उक्त दुध भोलि नष्ट गर्दैछौं ।’

यति ठूलो परिमाणमा अखाद्य दूध संकलन हुनुमा संस्थानकै कर्मचारी वा संकलकको मिलेमतो हुन सक्ने आशंकामा डीडीसीले आन्तरिक अनुसन्धान समेत अघि बढाएको छ ।

‘यो बदमासी कहाँबाट हुन गयो भन्ने कुराको हामी विस्तृत अनुसन्धान गरिरहेका छौं,’ उनले भने, ‘यसमा हाम्रा कर्मचारीको मिलेमतो छ कि छैन भनेर पनि हेर्दैछौं, अनुसन्धानबाट दोषी देखिए कारबाही प्रक्रिया अगाडि बढाउँछौं ।’

डीडीसीले कम गुणस्तरका दूध ल्याउने प्रवृत्ति निरुत्साहित गर्न आगामी दिनमा पनि परीक्षण थप कडा बनाउँदै लैजाने महाप्रबन्धक पाण्डेले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?