Comments Add Comment

कोटेश्वरतिरको तानाबाना चकनाचुर पारिनेछ : प्रधानमन्त्री

२० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल बनाउने ‘कोटेश्वरतिरको तानाबाना’ चकनाचुर पारिने बताएका छन् ।

प्रधानमन्त्रीको यो संकेत पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालतर्फ लक्षित छ । किनभने, कोटेश्वरमा पूर्वमाओवादीको कार्यालय (पेरिसडाँडा) रहेको छ । र, माधव नेपालको निवास पनि कोटेश्वरतिरै छ । बिहीबार बालुवाटारमा मन्त्रिपरिषद बैठक चलिरहेकै बेला पेरिसडाँडामा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता भएको थियो, जसलाई प्रधानमन्त्रीले ‘तानाबाना’ को संज्ञा दिएका हुन् ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठक राजनीतिक अभिव्यक्तिबाट प्रधानमन्त्रीले सुरु गरेका थिए । बैठकमा प्रधानमन्त्रीले भने, ‘अहिले पनि कोटेश्वरतिर अनेक तानावाना बुनिँदैछ, तर त्यो सफल हुन दिइनेछैन ।’

बैठकमा सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले लामो समयपछि मन्त्रिपरिषद् बैठकमा राजनीतिक अभिव्यक्ति दिएका हुन् । सरकार असफल बनाउँदा पार्टी र देश बलियो नहुने प्रधानमन्त्रीको भनाइ थियो ।

बैठकमा प्रधानमन्त्रीले धेरैबेर पार्टी विवादबारे बोलेनन् । कुनै पनि मन्त्रीले चासो नदिएको थाहा पाएपछि प्रधानमन्त्री बैठकको विषयवस्तुतिर प्रवेश गरे ।

धेरैजसो साँझतिर बस्ने मन्त्रिपरिषद् बैठक बिहीबार भने बिहानै बोलाइएको थियो । मन्त्रिपरिषद् बैठकबारे मन्त्रीहरुलाई समेत बिहान मात्र जानकारी दिइएको थियो ।

साढे ९ बजे अपर्झटजस्तै बोलाइएको मन्त्रिपरिषद् बैठक झण्डै १२ बजेसम्म चलेपछि अर्का अध्यक्ष प्रचण्डसँगको सम्वाद केही घण्टा पछि सरेको थियो । ओली र प्रचण्डबीच बिहीबार बिहान १० बजे बैठक बस्ने तय भएको थियो ।

मन्त्रिपरिषद् बैठक लम्बिइरहँदा उता पेरिसडाँडामा अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता चलिरहेको थियो ।

क्याबिनेट सकिएपछि ओली र प्रचण्डको भेट प्रधानमन्त्री निवास बालुवाटारमा झण्डै एक घण्टा चल्यो । तर दुवै अध्यक्ष आ–आफ्नै अडानमा रहेपछि कुनै निष्कर्ष भने निस्किएन ।

भेटवार्तामा कार्यकारी अध्यक्ष प्रचण्डले तत्काल सचिवालय बैठक बोलाउन माग गरे पनि प्रधानमन्त्रीले अस्वीकार गरेको स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment