Comments Add Comment

मुकेशकी श्रीमती सुनिताको बिलौना : छोरा बाबा खोई भन्छ, म कहाँबाट ल्याउँ ?

२० कात्तिक, वीरगञ्ज । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गुटगत झगडामा मारिएका मुकेश चौरसियाको मृत्यु भएको १३ दिन बितेको छ । पूर्वसभासद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध प्रहरीमा जाहेरी दर्ता भएपछि आन्दोलन रोकिएको छ तर, निश्पक्ष छानविन भएर न्याय पाउनेमा शंका छ ।

पति वियोगको शोकमा रहेकी सुनिता चौरसियाले आफूलाई सम्हाल्न सकेकी छैनन् । ४ वर्षको छोराले जब बाबा खोई ? भन्छन्, उनी भक्कानिन्छिन् र आँसुको धारा खस्छन् । ‘के–के सोचेका थियौं, सबै बर्वाद बनाईदिए’ सुनिताले अनलाइनखबरसँग भनिन्, ‘चार वर्षको छोराले बाबा खोई भनेर सोध्छ, म कहाँबाट ल्याउँ ? ’

मुकेश, नेकपाको पर्सा जिल्ला कमिटी सदस्य र विन्दवासिनी गाउँपालिका सचिव थिए । विन्दवासिनी–२ बहुअर्वाभाठामा सिमेन्ट र इट्टाले बनाएको पुरानो घरमा उनीहरु बस्दै आएका थिए ।

मुकेश र सुनिताका एक छोरा र एक छोरी छन् । छोरीको विवाह भइसकेको छ । छोरा एबीलाई डाक्टर बनाउने मुकेशको सपना थियो । बाबु, तिमी ठूलो भएपछि के बन्ने भनेर सोध्दा उनी पनि ‘डाक्टर’ भन्छन् । तर डाक्टर बनाउने सपना देख्ने बुबा आफ्नै पार्टीका नेताकार्यकर्ताबाट मारिएको उनलाई थाहा छैन ।

६ कात्तिकमा प्रसौनी भाठामा आयोजना गरिएको कार्यक्रममा केपी शर्मा ओली र प्रचण्ड–माधव गुटबीच झडप भयो । झडपमा केही मानिस घाइते भए । मुकेशको टाउकोमा चोट लागेको थियो र, उपचारका क्रममा ७ गते उनको मृत्यु भयो ।

भाइ महेशका अनुसार घरको सम्पूर्ण खर्च मुकेशले नै धानेका थिए । महेश चार वर्षको हुँदा नै उनका बुबा वितेका थिए । महेश र उनका भाइलाई हुर्काउने, बढाउने, शहरमा राखेर पढाउने र घरको सबै खर्च जोहो गर्ने मुकेश नै थिए ।

प्रहरीले न्याय दिनेमा आशंका

अप्ठ्यारो परेकाहरुलाई आफूले सकेको सहयोग गर्ने भएकाले मुकेश गाउँमा लोकप्रिय थिए । त्यहीका कारण तत्कालीन संविधानसभा सदस्य राजकुमार गुप्ता, मुकेशलाई आफ्नो पक्षमा पार्न चाहन्थे । मुकेशले गुप्ताका गलत गतिविधिको विरोध गर्थे । गुप्ताले घरमा बोलाउँदा भेट्न जाँदैनथे । पार्टी कार्यालयमा भेटौं भन्थे ।

आफ्नो अनुुकुल नभएपछि गुप्ताले प्रत्यक्ष अप्रत्यक्ष रुपमा मुकेशलाई धम्की पनि दिन थालेका थिए । मुकेशलार्ई ‘ज्यान प्यारो छ कि छैन ?’ भनेर धम्की आउँथ्यो ।

स्थानीय तहको निर्वाचनमा मुकेश वडध्यक्षका प्रत्यासी थिए । उनकै कारण चुनाव हार्नुपरेको भन्दै गाउँपालिका अध्यक्षका प्रत्यासी लक्ष्मण चौरसिया पनि रुष्ट बनेका थिए ।

त्यसैले मुकेशको ज्यान लिने गरी भएको झडपको घटना योजनाबद्ध भएको आशंका परिवारका सदस्यहरुको छ । गुप्ताको घरबाट दुई जना आरोपी पक्राउ गर्नु र अन्य आरोपीहरु उनी निकटस्थ हुनुले पनि उनीमाथि शंका बढेको छ ।

घटनापछि प्रहरीले पनि गुप्ताविरुद्ध उजुरी लिन मोनन । उजरी दर्ता गर्न समेत आन्दोलन गर्नु परेकाले प्रहरी प्रशासनमाथि समेत चौरसिया परिवारकोविश्वास डगमगाएको छ । ‘उजुरी दर्ता गरेर छानविन गर्नुपथ्र्यो, त्यसपछि दोषी निर्दोष छुट्याउने हो’ महेशले भने ‘प्रहरीले सहयोग नगरेको अनुभूति भएको छ । अब उनीहरुले निष्पक्ष न्याय दिन्छन् भनेर कसरी आशा गर्ने ?’

प्रहरीले दोषीलाई कानुनी कठघरामा ल्याएर न्याय दिलाओस् भन्ने उनीहरुको माग छ । मुकेश पत्नी सुनिता भन्छिन्, ‘हामीलाई न्याय चाहियो । न्याय दिलाईदिनुस् ।’

झडपको भिडियो फुटेज, पक्राउ परेकाहरुको बयान लगायतका आधारमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गंगा पन्त प्रहरीले घटनाबारे मिहिन ढंगले अनुसन्धान गरिरहेको बताउँछिन् । ‘अनुसन्धानमा जुनजुन प्रक्रिया अपनाउनुपर्ने हो, त्यसरी नै काम भइरहेको छ’ उनले भनिन् ‘अनुसन्धानपछि गुनासो आउन दिँदैनौं, ढुक्क हुनुस् ।’

अनुसन्धानका क्रममा दोषी ठहरिएका कसैलाई पनि प्रहरीले उन्मुक्ति नदिने उनको दाबी छ ।

यो पनि पढ्नुहोस ‘चौरसियालाई कसले हानेको भन्ने एकदमै क्लियर छ’

मृत्युमा पनि गुटगत राजनीति

चौरसिया नेकपाका कार्यकर्ता थिए । झडपका क्रममा घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएपछि पीडित परिवारलाई न्याय दिलाउन सिंगो पार्टी लाग्नुपर्ने हो ।

तर गुटगत राजनीति देखिएको छ । मुकेशभाइ महेशले गुप्तासहित १२ जनाविरुद्ध ज्यान मार्ने कसुरमा मुद्धा दर्ता गराएका छन् । १२ आरोपीमध्ये तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने गुप्ता सहितका अन्य आरोपी फरार छन् ।

यो पनि पढ्नुहोस चौरसिया हत्या आरोपमा पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध किटानी जाहेरी

अर्को पक्षले १५ जना नेता कार्यकर्ताविरुद्ध उजुरी दिएको छ । गुप्तालाई हत्याराको रुपमा चित्रित गरेर मुद्धा दर्ताका लागि सडक संघर्षको मोर्चा सम्हालेका र सपथ ग्रहण कार्यक्रम आयोजना गर्ने नेताहरुलाई यसमा मुछिएका छन् । प्रदेश सह ईन्चार्ज नागेन्द्र चौधरी, जिल्ला इन्चार्ज रामचन्द्र साह, प्रदेश सदस्य छोटेलाल यादव, जिल्ला कमिटी सदस्य एवं विन्दवासिनी गाउँ अध्यक्ष बिक्रम चौरसिया सहित १५ जनाविरुद्ध परेको किटानी जाहेरी जिल्ला सरकारी वकिलको कार्यालय पर्सामार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा पठाईएको छ ।

मुद्धा दर्ता गरी अनुसन्धान तथा कारवाहीका लागि जिप्रका पठाइएको जिल्ला न्यायधिवक्ता पदम कार्कीले जानकारी दिए । पर्साकी प्रमुख प्रहरी उपरीक्षक पन्तले पनि तीन दिनअघि १५ जनाविरुद्ध किटानी जाहेरी परेको जानकारी दिइन् ।

गुडिया देवीले दिएको किटानी जाहेरीमा उत्तम तिवारी, पुकार तिवारी भन्ने चिन्टु र मुकेश चौरसियालाई मार्ने उद्देश्यले प्रतिवादीहरुले आक्रमण गरेको दाबी गरिएको छ ।

घटनाबारे अनुत्तरित प्रश्नहरु

सार्वजनिक भएको भिडियोहरु हेर्दा बाहिरबाट गएका व्यक्तिहरु गएर हो हल्ला मात्रै गरिरहेको देखिन्छ । उनीहरुले कार्यक्रमको ब्यानरमा नेपाल कम्युनिष्ट पार्टी नलेखेर माओवादीको मात्रै भन्न दबाब दिन्छन् । पार्टीको कार्यक्रम भए आफूहरुलाई किन खबर नगरेको भन्ने प्रश्न उनीहरुले गर्छन्, हो हल्ला गर्छन् ।

विवाद चल्दै गर्दा सेतो टिसर्ट लगाउने र पहेलो गम्छासहित निलो सर्ट लगाएका दुई जनाले एक अर्कालाई धकेल्छन् । त्यसपछि अरुले पनि धकेला धकेल गर्छन् ।

त्यहीक्रममा गेटको छेउमै बसेर विवाद र हात हालाहाल हेरिरहेका सेतो मास्क, रातो गलबन्दी र कालो कपडा लगाएका एक व्यक्तिले कार्यक्रम स्थलबाट बाँसको भाटा तान्छन् । भाटा हान्न खोज्दा पुरै बास नआएर गेटमा अड्कन्छ । त्यसपछि गेट छेउमा भएका हरुले पनि हातमा भाटा लिन्छन् । उनीहरुकै हातमा भएको भाटा खोसेर अर्को पक्ष पनि जाइलाग्छ र झडप हुन्छ ।

यो भिडियोले कसरी झडप भएको थियो भन्ने त देखाउँछ तर घटनामा केही प्रश्न अनुत्तरित छन् ।

कोरोना महामारीमा भिडभाडयुक्त कार्यक्रम राख्न कत्तिको जरुरी थियो ? झगडा हुने पूर्वअनुमान थियो भने विवाद नमिलाई किन कार्यक्रम राखियो ? आयोजकले प्रहरीलाई खबर गरेन कि ? खबर गरेर पनि प्रहरी मयमा नगएको हो ? बाहिर हो–हल्ला भएपछि कार्यक्रम स्थलको गेट किन बन्द गरियो ? भित्र भएका नेताहरुले बाहिर आएर सम्झाउने प्रयास किन गरेनन ? बासका भाटाहरु कार्यक्रम स्थलबाट कसरी बाहिरियो ? लगायतका प्रश्न अझै अनुत्तरित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment