Comments Add Comment

बालुवाटारमा ओली र पाँच नेताबीच सवाल जवाफ

ओली र पाँच नेताबीच के कुरा भयो ?

२२ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका पाँच नेताबीच शनिबार पौने २ घण्टा छलफल भएको छ ।

शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलअनुसार सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई मनाउन पाँच नेता बालुवाटार पुगेका थिए ।

नेताहरुले सचिवालय बैठकका लागि सहमति दिन ओलीलाई लिखित रुपमा आग्रह गरेका छन् । शनिबार नै सचिवालय बैठक तोक्ने प्रयास भएपनि प्रधानमन्त्रीले आफूले सल्लाह गर्नुपर्ने बताएपछि सफल नभएको एक नेताले बताए ।

कार्यदल गठनसँग गडबडी सुरु भयोः प्रचण्ड

छलफलको सुरुवात कार्यकारी अध्यक्ष प्रचण्डले गरेका थिए । उनी सचिवालय बैठकका लागि सहमति दिन लिखित आग्रह गर्नुपर्ने अवस्था किन आयो भनेर पृष्ठभूमिसहित बोलेका थिए । प्रचण्डले स्थायी कमिटी बैठक टुंग्याउने क्रममा सहमतिको मस्यौदा बनाउन कार्यदल गठन भएसँगै गडबडी सुरु भएको बताए ।

१० असारमा सुरु भएको स्थायी कमिटी बैठक जारी रहेका बेला प्रधानमन्त्री ओलीले १४ असारमा सार्वजनिक रुपमै भारतले आफ्नो सरकार ढाल्न खोजेको र त्यसमा नेपालका नेताहरूले पनि भूमिका खेलेको अभिव्यक्ति दिएका थिए ।

१७ असारमा बसेको पार्टी बैठकमा नेताहरूले ओलीको त्यही अभिव्यक्तिमाथि प्रश्न उठाएर प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्न माग गरे ।

यसले स्थायी कमिटी बैठक प्रभावित भयो । दुई अध्यक्षबीच भएको लगातारको छलफलपछि सहमतिको मस्यौदा बनाउन महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन भयो । दुबै अध्यक्षले कार्यदलको प्रतिवेदनअनुसार प्रस्ताव लगेपछि २६ भदौमा स्थायी कमिटी बैठक सकिएको थियो ।

तर कार्यदल गठनसँगै प्रधानमन्त्री ओली सहमति विपरित चल्न थालेको प्रचण्डले बताएका छन् । स्रोतका अनुसार शनिबारको छलफलमा प्रचण्डले भने, ‘आफूखुसी राजनीतिक नियुक्तिहरू गर्नुभयो, कार्यदलको प्रतिवेदनप्रति इमान्दार देखिनुभएन ।’

उनले थपे, ‘(स्थायी कमिटीको निर्णयअनुसार) अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्नेबेला गडवडी गर्न खोज्नुभयो । ‘सम्पूर्ण कार्यकारी अध्यक्ष कहाँ हुन्छ र ? म पनि अध्यक्ष हुँ’ भन्न थाल्नुभयो । त्यसपछि त मन्त्रिपरिषद् पुनर्गठन, राजनीतिक नियुक्तिहरू सबै एकलौटी गर्न थाल्नु भयो ।’

स्थायी कमिटीकै निर्णय कार्यान्वयन नभएपछि बैठक बसौंभन्दा ओली नमानेको उनले बताए ।

प्रचण्डले यसो भनिरहँदा अर्का अध्यक्ष ओलीले त्यसको प्रतिवाद गरेको एक नेताले बताए । ‘झेली कुरा गर्ने ? मैले बैठक नबस्ने कहाँ भनेको छु ?’ भनेर ओलीले प्रतिवाद गरे ।

कार्यकारी अध्यक्ष प्रचण्डले भने ‘बैठक बस्न कहाँ मान्नुभयो’ भनेर प्रतिप्रश्न गरेका थिए । एक नेताका अनुसार दुई अध्यक्षबीच केहीबेर नोकझोक चल्यो ।

गौतमको गम्भीर आरोप

त्यसपछि बैठकमा पार्टी उपाध्यक्ष बामदेव गौतम बोलेका थिए । लामै बोलेका उनले सकेसम्म बैठक बस्न बस्नै नमान्ने, बैठक बसी हाले पनि नबोल्ने तथा निष्कर्षमा पुग्नै नदिने र निष्कर्षमा पुगे त्यो निश्कर्ष नै नमान्ने गरेको भन्दै ओलीको आलोचना गरे ।

नेकपाको समस्या व्यक्तिवादी कार्यशैली हो र त्यसको प्रतिनिधिपात्र प्रधानमन्त्री हुन् भन्ने उनको निष्कर्ष थियो । नेताहरूका अनुसार गौतमले लगाएका आरोपको पनि प्रधानमन्त्री ओलीले प्रतिवाद गरेका थिए ।

छलफलमा वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री ओलीलाई तपाईँ आफ्नो आत्मालोचना गर्न किन तयार नहुने ? यतिका नेताहरूले किन बिरोध गरे भनेर नसोच्ने भनेर प्रश्न गरेका थिए भने झलनाथ खनालले बैठक नै नबस्ने र छलफल नै नगर्नु गलत भएको बताएका थिए ।

अध्यक्ष र प्रवक्ताबीच सवाल जवाफ

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले कोभिड-१९ को संक्रमण, त्यसले स्वास्थ्य र आर्थिक क्षेत्रमा पारेको संकट लगायतका विषयमा छलफल गर्न बैठक माग गर्दै आफूले दुबै अध्यक्षलाई पत्र लेखेको स्मरण गरेका थिए ।

श्रेष्ठले बैठक माग गर्दै दुबै अध्यक्षलाई १ कात्तिकमा पहिलो पत्र लेखेका थिए भने ९ कात्तिकमा दोस्रो । पत्रमा कोभिड-१९ ले उत्पन्न गरेको स्वास्थ्य संकट टार्न ५ देखि १० हजार आइसोलेसेन सेन्टर बनाउनुपर्ने, आईसीयू, भेन्टिलेटर बढाउनुपर्ने, अक्सिजन तथा अत्यावश्यक औषधि भण्डारण गर्नुपर्ने, कोभिडको परीक्षण तथा उपचार निःशुल्क गर्नुपर्ने उल्लेख थियो ।

कोभिडले जनजीविका र अर्थतन्त्रमा परेको असरबारे उल्लेख गर्दै पत्रमा उनले सरकारले २ अर्ब रुपैयाँभन्दा बढीको राहत प्याकेज ल्याउनुपर्ने माग गरेका थिए । यसका लागि गत आर्थिक वर्षमा खर्च हुन नसकेर यो वर्षका लागि सारिएको तीन तहको १ खर्ब ४० अर्ब र सरकारले ओभर ड्राफ्ट लिएर खर्च गर्न पाउने ४२ अर्बका साथै कोरोना कोषको रकम खर्च गर्न सकिने उल्लेख थियो ।

प्रवक्ता श्रेष्ठले ९ कात्तिकको पत्रमा प्रधानमन्त्रीले रअका प्रमुखसँग गरेको भेट, प्रदेश सरकारलाई संघीय सरकारको प्रशासनीक एकाई बनाउने अभिव्यक्ति र कोरोनाको परीक्षण र उपचार निःशुल्क नगर्ने निर्णयमा आफ्नो असहमति दर्ज गर्दै तत्काल सचिवालय बैठक बोलाउन माग गरेका थिए ।

तर बैठक राख्नु त परको कुरा, आफूलाई जवाफ समेत नदिएको प्रवक्ता श्रेष्ठको गुनासो छ ।

एक नेताका अनुसार श्रेष्ठ र प्रधानमन्त्री एवं अध्यक्ष ओलीबीच पनि केहीबेर सवाल जवाफ भएको थियो । श्रेष्ठले प्रवक्ताको दायरा नाघेको ओलीको आरोप थियो ।

बालुवाटार स्रोतका अनसार प्रवक्ता श्रेष्ठले भने त्यसको प्रतिवाद गरेका थिए । प्रवक्ताले पार्टीको लाइन, निर्णयअनुसार पार्टीको हितमा बोल्नुपर्ने र आफूले त्यही गरेको उनको भनाइ थियो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले नै पार्टीको निर्णयविरुद्ध बोल्न थालेपछि आफूले पनि व्यक्तिगत विचार राखेको उनको दाबी छ ।

प्रचण्डमाथि आरोप : जालझेल र गुटबन्दी गर्नुभयो

पाँचै नेताको धारणा सुनिसकेपछि प्रधानमन्त्री एवं अध्यक्ष ओली बोलेका थिए । उनले अर्का अध्यक्ष प्रचण्डमाथि जालझेल र गुटबन्दी गरेको आरोप लगाएका छन् ।

तर नेताहरुले ‘तपाईँ पार्टीको बैठक बस्न नचाहने, आफूखुसी भेला र छलफल गर्ने, हामीले चाहिँ हेरेर बस्नुपर्ने ?’ भन्दै प्रतिप्रश्न गरेका थिए ।

छलफलमा पाँच नेताले सचिवालयको बैठक सकेसम्म भोलि, नभए पर्सि बोलाउनुपर्ने भन्दै ओलीको सहमति मागेका थिए । तर उनले आफूले बैठक नबस्ने नभनेको तर अहिले नै मिति तोक्न नसक्ने बताएको स्रोतको दाबी छ । एक नेता भन्छन्, ‘मिति तोक्न मैले पनि सोच्नुपर्छ, सल्लाह गर्नुपर्छ भन्नुभयो ।’

भेटपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले पनि बैठकको मिति नतोकिएको सञ्चारकर्मीहरुलाई बताए । उनले भने, ‘हामीले सकभर भोलि नै, नभए पर्सिसम्म बैठक बसेर गम्भीरतापूर्वक छलफल गरौं भनेका छौं । प्रधानमन्त्री एवं अध्यक्ष कमरेडले बैठकबारे आज निष्कर्ष दिनु भएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment