Comments Add Comment

प्रचण्ड नेकपाका कार्यकारी अध्यक्ष हुन् कि उपाध्यक्ष ?

२३ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा पुष्पकमल दाहाल प्रचण्डको पद र भूमिका के हो ? यसको सोझो जवाफ छ, कार्यकारी अध्यक्ष ।

पछिल्लोपटक भदौको २६ गते सम्पन्न स्थायी कमिटीको बैठकले प्रचण्ड पार्टीको काममा केन्द्रित हुने निर्णय गरेको थियो । तर, उनले पार्टीको बैठक राख्नका लागि अर्का अध्यक्ष केपी ओलीलाई निवेदन हाल्दै हिँड्नुपरेको छ ।

हुन त अघिल्लो वर्षदेखि नै प्रचण्डले पार्टी सञ्चालन गर्ने र प्रधानमन्त्री केपी ओली सरकारको काममा केन्द्रित हुने सैद्धान्तिक सहमति भएको हो । तर, सो सहमति कहिल्यै कार्यान्वयन भएन । पार्टीमा उनको भूमिका बढाउन कार्यकारी अध्यक्ष भन्न थालियो । तर, उनको पार्टीमा भूमिका बढेन ।

सरकारको काम त प्रधानमन्त्री ओलीको आफ्नै तजबिजमा छ, त्यसमा प्रचण्डको भूमिका हुने कुरै भएन । पार्टीमा पनि कार्यकारी अध्यक्ष भएता पनि पार्टीका गतिविधिहरु दुई अध्यक्षबीचको सहमतिबाट अगाडि बढाउने सहमति छ ।

तर, प्रचण्डसहित पाँच सचिवालय सदस्यहरुले शनिबार ओलीलाई पार्टीको अध्यक्ष बोलाउन औपचारिकरुपमा निवेदन नै दिएपछि गम्भीर प्रश्न उत्पन्न भएको छ– पार्टीको बैठक बोलाउन निवेदन हाल्ने प्रचण्ड कसरी कार्यकारी अध्यक्ष भए ?

यदि उनी पार्टीको कार्यकारी अध्यक्ष भएको हो भने उनलाई चाहिँ अन्य सचिवालय सदस्यले त्यसरी निवेदन दिनुपर्ने थियो । त्यति नभए पनि कम्तीमा अन्य सचिवालय सदस्यले ओली र प्रचण्ड दुवैलाई संयुक्तरुपमा माग गर्नुपर्ने हो ।

शनिबारको घट्नाक्रमले प्रधानमन्त्री र पार्टीको कार्यकारी अधिकार दुवै ओलीमा नै रहेको देखिएको छ । अहिलेको अवस्था हेर्दा महाधिवेशनभन्दा अगाडि यो समस्या हल हुने देखिँदैन र त्यतिबेलासम्म प्रधानमन्त्री ओली सरकार र पार्टीमा कार्यकारी नै हुने देखिन्छ ।

यति मात्र होइन, शुक्रबार कार्यकारी अध्यक्षको हैसियतले प्रचण्डले सचिवालय बैठक बोलाउने प्रयास गरे । तर, अर्का अध्यक्ष ओलीले औपचारिक बैठक बोलाए त्यो पार्टी विभाजनको शुरुवात हुने बताएपछि प्रचण्ड त्यसलाई अनौपचारिक बैठक बोलाउन बाध्य भए ।

त्यो अनौपचारिक बैठकमा पनि प्रधानमन्त्री ओलीसहित अन्य चार सचिवालय सदस्य अनुपस्थित भए । प्रधानमन्त्री नै उपस्थित नभए पनि अन्य सदस्यहरु उपस्थित हुन सक्थे । तर, त्यसो हुन सकेन । त्यसैले त्यो सचिवालय वैठक अनौपचारिक पनि भएन, एउटा गुटको बैठकजस्तो भयो ।

यस अगाडि पनि पार्टीको सचिवालय, स्थायी र केन्द्रीय कमिटीको वैठक आयोजना गर्नका लागि प्रचण्डले प्रधानमन्त्री ओलीलाई गुहारेका धेरै उदाहरण छन् । कार्यकारी अध्यक्षका रुपमा प्रचण्डले एक्लै पार्टी गतिविधि बढाएका उदाहरण एकदमै कम छन्, एकाध विज्ञप्ति जारी गर्नेबाहेक ।

उसो त यसबीचमा पार्टीका गतिविधिहरु पनि खासै अगाडि बढेका छैनन् । पार्टी एकताका कामहरु केही अगाडि बढे, तर ती पनि पूर्णरुपमा सम्पन्न भएका छैनन् ।

त्यसबाहेक प्रचण्डको नेतृत्वकामा पार्टीका गतिविधि खासै भएका छैनन् । बरु यसबीचमा प्रधानमन्त्री केपी ओली नै पार्टीका गतिविधिहरुमा सक्रिय छन् । केही दिन अगाडि मात्रै ओलीले प्रदेश नम्बर १ का नेता र कार्यकर्ताहरुसँग भर्जुअल बैठक गरेका छन् ।

प्रधानमन्त्री ओली र उनी निकटका नेताहरुले जनताको वहुदलीय जनवादको विषयमा विभिन्न कार्यक्रम गरिरहेका छन् र अन्य कार्यक्रमहरु पनि भइरहेका छन् ।

प्रधानमन्त्री ओलीकै सक्रियतामा वालुवाटारमा नै मदन भण्डारी फाउन्डेसनका विभिन्न कार्यक्रम हुने गरेका छन् । प्रधानमन्त्री ओली आफ्नै स्वास्थ्य र कोभिड–१९ का कारणले मात्र अझ कम सक्रिय भएको देखिन्छ । यति स्वास्थ्यले साथ दिने हो भने उनी पार्टीका अन्य कार्यक्रमहरुमा निकै सक्रिय हुने चाहेको देखिन्छ ।

तर, कार्यकारी अध्यक्ष प्रचण्डको भूमिका भने पार्टीमा खासै देखिँदैन । उनलाई स्वास्थ्यले पनि साथ दिएको छ, तर उनको कार्यकारी भूमिका भने देखिएको छैन ।

शनिबारको घट्नाक्रमले प्रधानमन्त्री र पार्टीको कार्यकारी अधिकार दुवै ओलीमा नै रहेको देखिएको छ । अहिलेको अवस्था हेर्दा महाधिवेशनभन्दा अगाडि यो समस्या हल हुने देखिँदैन र त्यतिबेलासम्म प्रधानमन्त्री ओली सरकार र पार्टीमा कार्यकारी नै हुने देखिन्छ ।

यसैबीच, एक दैनिक पत्रिकामा आइतबार प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले आफू पहिलो अध्यक्ष भएकाले कार्यकारी अध्यक्ष रहेको बताएका छन् ।

ओलीले भनेका छन्, अहिले पनि प्रथम अध्यक्ष हुँ, प्रथम अध्यक्षले अध्यक्षता गर्दागर्दै द्वितीय अध्यक्षले अध्यक्षता गर्न पाउँ भन्नु सभापति हुँदाहुँदै उपसभापतिले अध्यक्षता गर्न पाउँ भन्नुजस्तै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment