Comments Add Comment

डोनाल्ड ट्रम्पले चार वर्षको कार्यकालमा के के गरे ?

२३ कात्तिक, काठमाडौं । आगामी जनवरीबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चार वर्षे कार्यकाल सकिँदै छ । त्यसपछि जो बाइडनले ४६ औं राष्ट्रपतिको रुपमा कार्यभार सम्हाल्नेछन् ।

आफ्नो चार वर्षे कार्यकालमा ट्रम्प धेरै चर्चामा आए, उनले लिएको नीतिका कारण उनी कार्यकालभरि चर्चामा रहे । यहाँ ट्रम्पले आफ्नो चार वर्षको कार्यकालमा विश्वभर चर्चा पाएका केही विषयहरु उल्लेख गरिएको छ –

१. जलवायु परिवर्तन

सन् २०१६ को निर्वाचन प्रचारको क्रममा नै ट्रम्पले आफूले निर्वाचनमा जित हात पारे सन् २०१५ मा भएको पेरिस जलवायु सम्झौताबाट बाहिरिने बताएका थिए । उनी राष्ट्रपति बनेसँगै उनले आफ्नो वाचाअनुसार यो सम्झौताबाट बाहिरिने प्रयास सुरु गरेका थिए ।

गत बुधबारदेखि अमेरिका आधिकारिक रुपमा उक्त सम्झौताबाट बाहिरिएको छ । यद्यपि जो बाइडनले आफू राष्ट्रपति बनेपछि ट्रम्पले गरेको गल्ती सच्याउने घोषणा गरिसकेका छन् ।

२. केही देशसँगको सीमा बन्द

ट्रम्पले आफू राष्ट्रपति भएको एक साताभित्रै विभिन्न सात मुस्लिम मुलुकहरुबाट आउने पर्यटकमा रोक लगाउने निर्णय गरेका थिए । अहिले यो संख्या १३ पुगेको छ । उनले यी मुलुकहरुबाट आउने मानिसको कारण अमेरिकाको सुरक्षामा असर पर्न सक्ने भन्दै प्रतिबन्धको निर्णय गरेका थिए ।

३. मेक्सिको र आप्रवासी मुद्दा

निर्वाचन प्रचारको क्रममा घोषणा गरेजस्तै ट्रम्पले आप्रवासीलाई अमेरिकामा प्रवेश रोक्ने नीति लिएका थिए । सन् २०१९ सम्म आइपुग्दा बाहिरी मुलुकमा जन्मिएर अमेरिकामा बसिरहेका मानिसको संख्या तीन प्रतिशत बढेको छ । मेक्सिकोमा जन्मिएर अमेरिकामा बस्ने मानिसको संख्या घटेको छ भने अन्य ल्याटिन अमेरिकाबाट आएर अमेरिकामा बस्नेको संख्या भने बढेको छ ।

उनको कार्यकालमा अमेरिकामा स्थायी बसोबासको लागि दिइने अनुमतिमा पनि कडाइ गरिएको थियो । विशेषगरी अमेरिकामा पहिलादेखि नै बसोबास गर्दै आएका मानिसहरुको आफन्तलाई भने अमेरिका आउनमा कडाइ गरिएको हो ।

मेक्सिकोको सीमामा पर्खाल बनाउने प्रतिबद्धता ट्रम्पको आप्रवासन नीतिको प्रतीक हो । अमेरिकाको कस्टम्स एण्ड बोर्डर प्रोटेक्सनका अनुसार १९ अक्टोबरसम्म ३७१ माइल लामो पर्खाल बनिसकेको छ । तर, यो पर्खालले पनि अमेरिका आउन खोज्ने मानिसहरुलाई भने रोक्न सकेको छैन ।

४. मध्यपूर्वको सम्झौता

ट्रम्पले सिरियाबाट अमेरिकी सेना फिर्ता बोलाउने निर्णय गरेका थिए । साथै अफगानिस्तानबाट पनि अमेरिकी सेना फिर्ता गर्ने प्रक्रिया सुरु गरेका थिए । यद्यपि अहिलेसम्म कुनै पनि स्थानबाट पूर्ण रुपमा अमेरिकी सेना फिर्ता आएका छैनन् । तर, संख्या भने घटेको छ ।

ट्रम्पले सन् २०१८ मा इजरायलको अमेरिकी दूतावास तेल अबिवबाट जेरुसलेममा सार्ने निर्णय गरेका थिए । साथै उनले संयुक्त अरब इमिरेट्स र बहराइनको इजरायलसँगको सम्झौताको लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यसलाई ट्रम्प प्रशासनको एक महत्वपूर्ण उपलब्धि मानिएको छ ।

५. व्यापार सम्झौता

ट्रम्पले कुनै पनि व्यापार सम्झौताको विरुद्धमा उभिने नेताको पहिचान बनाएका छन् । उनले कार्यालयमा उपस्थित भएको पहिलो दिन नै ट्रान्स–प्यासेफिक पार्टनरसिपबाट बाहिरिने निर्णय गरेका थिए । यो १२ मुलुकहरुको बीचमा भएको व्यापार सम्झौता थियो, यसलाई बाराक ओबामाले स्वीकृति दिएका थिए ।

ट्रम्पले क्यानडा र मेक्सिकोसँग भएको उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) मा पुनः वार्ता गरेका थिए । उनी यसलाई सबैभन्दा खराब सम्झौता मान्थे । नयाँ सम्झौतामा पनि धेरै परिवर्तन त भएन तर श्रम कानुन भने कडा बनाइएको थियो ।

सन् २०१६ को डिसेम्बर २ मा ट्रम्पले ताइवानका राष्ट्रपतिसँग फोनवार्ता गरेका थिए । यससँगै उनले ताइवानसँग सन् १९७९ देखि सम्बन्ध तोड्ने अमेरिकाको परम्परालाई नै तोडिदिएका थिए ।

ट्रम्पले दक्षिण चीन सागरमा चीनको दाबीलाई अवैध भएको घोषणा गरे । साथै उनले आफ्नो कार्यकालमा चिनियाँ टिकटक र विच्याटजस्ता एपमा प्रतिबन्ध लगाउने निर्णय गरेका थिए र चिनियाँ दूरसञ्चार कम्पनी हुवावेईलाई कालोसूचीमा राख्ने निर्णय गरेका थिए ।

६. इरानविरुद्धको नीति

सन् २०१९ को जनवरीमा ट्रम्पले इरानका सबैभन्दा शक्तिशाली जनरल कासिम सुलेमानीको हत्याको आदेश दिएका थिए ।

इरानले यसको जवाफमा इराकको दुई अमेरिकी क्याम्पमा एक दर्जनभन्दा धेरै मिसाइल प्रहार गरेको थियो । यो घटनामा एक सयभन्दा धेरै अमेरिकी सैनिक घाइते भएका थिए । यी दुई मुलुकको बीचमा युद्धको अवस्थासमेत सिर्जना भएको थियो ।

यसअघि ट्रम्पले सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौताबाट बाहिरिने निर्णय गरेका थिए । साथै इरानमाथि ठूलो आर्थिक प्रतिबन्ध लगाउने निर्णय गरेका थिए ।

७. कोरोना महामारी

ट्रम्प आफ्नो पहिलो कार्यकालमा सबैभन्दा कडा र अप्रत्याशित निर्णय लिने राष्ट्रपतिको रुपमा चिनिए । उनले अमेरिकाको अर्थतन्त्रमा उल्लेख्य सुधार ल्याउने दाबी गरेका थिए । तर, राष्ट्रपति कार्यकालको अन्तिम महिनामा भने कोरोना भाइरस (कोभिड–१९) को महामारीले अमेरिकामा ठूलो असर पार्‍यो ।

साथै यसको ठूलो असर अमेरिकामा पर्‍यो । लकडाउनको कारण मानिसहरुको आर्थिक अवस्था पनि निकै कठिन बन्न पुग्यो । ट्रम्पले महामारीलाई बेवास्ता गर्दै आएका थिए । अमेरिकामा कोरोना भाइरसको कारण सबैभन्दा धेरैको मृत्यु भएको छ भने सबैभन्दा धेरै संक्रमित पनि अमेरिकामै भेटिएका छन् ।

बीबीसीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment