Comments Add Comment

पार्टी प्यालेसको बेहाल : १५ अर्ब लगानी डुब्ने जोखिम

कतै कुखुरा पालिँदै, कतै उद्योग चलाइँदै

२४ कात्तिक, काठमाडौं । बनेपामा ७ वर्षदेखि चलिरहेको थियो, केएन ब्यांक्वेट । यो सोकसुधार भैलासहितका ६ दाजुभाइले करिब ५ करोड रुपैयाँ लगानीमा सुरु गरेको संयुक्त व्यवसाय थियो ।

कोरोनाको माहमारीको कारण २०७६ चैतमा लकडाउन भयो । लकडाउन खोलेपछि पनि सरकारले २५ जनाभन्दा बढी जमघट हुन रोक लगायो । सभा, समारोह, कार्यक्रम गर्न र विवाहजस्ता सामूहिक कार्यक्रम गर्न रोकियो । त्यसैका कारण देशभरका पार्टी प्यालेसहरु लकडाउन खुल्दा पनि बन्द नै रह्यो ।

भैला परिवारलाई पनि पार्टी प्यालेसको खर्च धान्न मुस्किल भयो । जग्गा आफ्नै हुँदा पनि ६ जना स्थायी कर्मचारी खटाएर पार्टी प्यालेसलाई दुरुस्त राख्न ठूलो रकम खर्च भइरहेको थियो ।

साउनमा भैला दाजु भाइले निर्णय लिए, अब पार्टी प्यालेस बन्द गरेर यसमै नयाँ काम थालौं । उनीहरुले भदौमा त्यही पार्टी प्यालेसमा यूपीभीसीका झ्याल ढोका उत्पादन उद्योग खोलेका छन् ।

‘पाँच महिना कुर्दा पनि महामारी कहिले सकिने अनिश्चित भयो’ भैला भन्छन्, ‘महामारीपछि पनि व्यवसायलाई पुरानै गतिमा फर्काउन नसकिने देखेपछि बाटो परिवर्तन गर्न कर लाग्यो ।’

ललितपुरको जाउलाखेलस्थित बगैँचा रेस्टुरेन्ट, बार एण्ड ब्यांक्वेटमा अहिले कुखुरा पालिएको छ । महामारीले व्यवसाय सञ्चालन गर्न नसकेपछि साउनबाट ब्यांक्वेटकै पूर्वाधारमा टर्की, कडकनाथ, कालिज र कुखुरा पालिएको छ ।

ठूलो लगानी गरेपछि वैशाख–जेठको सिजनमै पार्टी प्यालेस चलाउने अनमोलको योजना महामारीले बिथोलिदियो । ‘कति गाह्रो परेको छ, भनिसाध्य छैन,’ व्यवस्थापक सुष्मिता थापा भन्छिन्, ‘सुको कमाइ नभएपनि जमिनको भाडा र बैंकको किस्ता बुझाउनै परेको छ ।’

बैंकको किस्ता तिर्न सकस भएपछि यस्तो विकल्पमा जानु परेको करिब ५ करोड लगानी भएको यो ब्याङ् क्वेटका व्यवस्थापक अर्जुन दाहाल बताउँछन् । घरजग्गाको भाडा तिर्न र कर्मचारीलाई तलब खुवाउन समस्या भएपछि विकल्प खोजेको उनले बताए ।

****

‘अनमोल क्याटरिङ’ले काठमाडौं थापा गाउँमा पार्टी प्यालेस चलाइरहेको थियो । दुई वर्षअघि जमिनको सम्झौता सकियो र नवीकरण पनि भएन । अनमोलले नयाँ ठाउँ खोजेर शंखमुलमा करिब ४ करोड रुपैयाँ लगानीमा नयाँ संरचना बनायो ।

२०७७ वैशाखबाट सेवा सुरु गर्ने तयारी थियो, तर २०७६ चैत ११ देखि लकडाउन सुरु भयो । त्योसंगै अनमोलको योजना चौपट भयो ।

२५ वर्षअघि बीएल शर्माले थालेको क्याटरिङ सेवाको पछिल्लो रुप हो, अनमोल पार्टी प्यालेस । कम्पनीले नक्सालमा आम्रपाली पार्टी प्यालेस पनि चलाइरहेको थियो । कम्पनीका व्यवस्थापक सुष्मिता थापाका अनुसार अहिले दुईवटा पार्टी प्यालेसको बैंक किस्ता, कर्मचारी खर्च, बिजुली बत्ती, मर्मत सम्भारसहित महिनामा २५ लाख रुपैयाँ खर्च छ ।

उनका अनुसार, शंखमुलमा कमाइ गर्न ठिक्क पारेको पूर्वाधार उपयोगविहीन छ । त्यहाँ उल्टै लगानी थप्नुपरेको छ ।

पार्टी प्यालेसहरु मुख्य कमाउने अवसर विवाहको सिजन हो । ठूलो लगानी गरेपछि वैशाख–जेठको सिजनमै पार्टी प्यालेस चलाउने अनमोलको योजना महामारीले बिथोलिदियो । ‘कति गाह्रो परेको छ, भनिसाध्य छैन,’ थापा भन्छिन्, ‘सुको कमाइ नभएपनि जमिनको भाडा र बैंकको किस्ता बुझाउनै परेको छ ।’

अब धेरै व्यवसायी पलायन हुने उनी देख्छिन् । ‘संकट व्यवस्थापन गर्न हम्मे परेको छ’,थापाले भनिन्, ‘कर्मचारीलाई आधा तलब दिएर राख्दा पनि टिक्न कठिन भएको छ ।’

****

दुईवर्षअघि टोखामा सद्भाव पार्टी प्यालेस खोलेका रामकाजी थापा उस्तै सकसमा छन् । ६ रोपनी भाडाको जग्गामा चार करोड लगानी गरेको उनको व्यवसाय रोकिएको ७ महिना बित्यो ।

लकडाउन अघिसम्म उनको व्यवसाय ठीकठाक चलेको थियो । बिवाह उत्सवबाहेक पनि भोज, ब्रतवन्ध, पाश्नी र अरु सामूहिक कार्यक्रमहरु भइरहेकै थिए । ‘जसोतसो चलिरहेको ब्याडमिन्टन एकेडेमीको आम्दानीले पार्टी प्यालेसको मासिक डेढ–दुई लाख खर्च मिलाएको छु,’ थापा भन्छन्, ‘अब कसरी टिक्ने, ठुलो समस्या परेको छ ।’

****

गोंगबुमा करिब चार रोपनी जग्गा भाडा लिएर मण्डप पार्टी प्यालेस सञ्चालन गरेका सुगन मानन्धरले महिनामा ३ लाख रुपैयाँ भाडा, कर्मचारीको तलबलगायतमा  खर्च गरिरहनुपरेको  छ ।

चैतदेखि पार्टी प्यालेसमा ताल्चा लागेको छ । अहिले सरसापटबाट खर्च धानिएको उनी बताउँछन् । ‘यत्रो लगानीको व्यवसायमा ताला लगाएर बस्नु परेको छ’, मानन्धर भन्छन्, ‘यसरी कति दिन सकिएला ?’

पार्टी प्यालेसमा ‘सेकेन्ड ह्यान्ड’ मालसामानको बजार चलाउने सोच बनाएपनि महामारी फैलाउन सघायो भन्ने अवगाल आउने डरले त्यो पनि गर्न नसकेको उनले बताए ।

१५ अर्ब लगानी जोखिममा

अहिले देशभर पार्टी प्यालेस र क्याटरिङ व्यवसाय चलाइरहेका करिब ७ हजार व्यवसायीको ब्यथा यस्तै छ । यो व्यवसायमा १५ अर्बको लगानी छ ।

नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघका अनुसार अहिले १० भन्दा बढी पार्टी प्यालेस सँधैका लागि बन्द भएका छन् । अब पनि पार्टी प्यालेस खोल्न सरकारले  अनुमति नदिए सारा लगानी डुब्ने महासंघका प्रवक्ता कृष्णप्रसाद पाण्डे बताउँछन् ।

एउटा पार्टी प्यालेसमा स्थान, स्तर र क्षमता अनुसार २ करोडदेखि १२ करोडसम्म लगानी भएको व्यवसायीहरु बताउँछन् । लगानीमध्ये ७० प्रतिशतभन्दा बढी बैंकहरुको ऋण भएको पाण्डेको भनाइ छ ।

यो क्षेत्रबाट वार्षिक ३ अर्ब हाराहारी कर आम्दानी गरेको सरकारले महामारीको संकटमा पुरै उपेक्षा गरेको उनले बताए ।

‘हामीले बैंकलाई ब्याज तिर्ने समय थप गर्न आग्रह गरेपनि बेला–बेलामा फोन आइरहन्छ,’ उनी भन्छन्, ‘तिर्न नसक्नेहरुलाई धितो राखेको सम्पत्ति लिलामी भएर सडकमै आउनुपर्ने हो कि भन्ने पिरलो छ ।’

उनका अनुसार, देशभरका करिब ९५ प्रतिशत पार्टी प्यालेस भाडाको जग्गामा छन् । कतिपय पार्टी प्यालेसमा जग्गाधनीले नै ताल्चा ठोक्दिनेसम्मको अवस्था आएको पाण्डे बताउँछन् । उनी भन्छन्, ‘धेरै जग्गा धनीले भाडामा छुट दिन पनि मानेका छैनन् ।’

प्रवक्ता पाण्डेका अनुसार, भएभरका पार्टी प्यालेस बन्द गरेर राख्दा ५०–६० हजार कर्मचारी कामविहीन भएका छन् । त्यसमध्ये करिब १५ प्रतिशत स्थायी छन् । स्थायीलाई समेत आधा तलब दिएर राखिएको छ । करार र ज्यालादारीका सबै बेरोजगार बनेका छन् । उनीहरुमा आश्रित करिब ३ लाख जना प्रभावित भएका छन् ।

रेष्टुरेन्ट पनि चलाइरहेका केही पार्टी प्यालेसलाई केही सहज छ ।

प्रवक्ता पाण्डे पार्टी प्यालेसहरु बन्द हुँदा बजारमा किराना सामान र दुग्ध पदार्थदेखि माछामासु, फलफूल र तरकारीसम्मको खपत घटेको बताउँछन् । उनका अनुसार, यस्ता वस्तुको ३० प्रतिशत हिस्सा पार्टी प्यालेसले ओगटेको थियो ।

खुलाउन माग 

अब सरकारले आवश्यक सुरक्षा मापदण्ड बनाएर व्यवसाय सञ्चालन गर्न दिनुपर्ने माग व्यवसायीहरुको छ । महासंघले क्षमताको ३५ प्रतिशत मान्छे बस्न दिने गरी पार्टी प्यालेस खोल्न अनुमति दिनुपर्ने माग गरेको छ ।

‘सामाजिक दूरी पालना गराउने, सरसफाइ गर्ने, भीड हुन नदिनेलगायतका मापदण्ड बनाएर व्यवसाय खुला गरिनुपर्छ,’ प्रवक्ता पाण्डे भन्छन्, ‘त्यसो हुन सकेन भने लगानी डुब्छ ।’

त्यसो हुँदा बैंकहरु पनि डुब्ने, व्यवसायी पनि पलायन हुने र देशको अर्थतनत्रमा नै असर पर्ने प्रवक्ता पाण्डे बताउँछन् । यो व्यवसायलाई पनि अत्यावश्यक सेवा अन्तरगत राखेर सरकारले पुनउत्थार्नको विशेष योजना ल्याउनुपर्ने महासंघको माग छ ।

पार्टी प्यालेस, एक वर्षको ३६५ दिनमध्ये मुस्किलले सयदेखि १५० दिन मात्र आम्दानी हुने व्यवसाय मानिन्छ । यस वर्ष वैशाख, जेठ र असारको विवाहको सिजन, तीज, दसैँजस्ता समयमा हुने कार्यक्रमको आम्दानी गुमाएको पार्टी प्यालेस व्यवसाय अब खुलाउँदा पनि विवाहको सिजन धेरै बाँकी नरहेकाले नाफामा जाने सम्भावना कम रहेको व्यवसायी बताउँछन् ।

तस्वीरहरु : आर्यन धिमाल/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment