Comments Add Comment

गोरखामा भूकम्पको केन्द्रविन्दुसम्बन्धी विवाद मिल्यो

२५ कात्तिक, गोरखा । गोरखामा भूकम्पको केन्द्रविन्दुको विषयलाई लिएर धार्चे र बारपाक सुलिकोट गाउँपालिकाबीचको विवाद टुंगिएको छ । सोमबार जिल्ला समन्वय समितिको अगुवाइमा भएको सर्वपक्षीय बैठकमा तीन बुँदे सहमति भएपछि धार्चे गाउँपालिकाले भूकम्पको केन्द्रविन्दुमाथिको दाबी छाडेको छ ।

सहमति अनुसार धार्चे गाउँपालिकाले गुम्दाको चुङकाङ डाँडा इपिसेन्टर भनी प्रयोग गरेको शब्द प्राविधिक त्रुटि भएको भन्दै सच्याउने भएको छ ।

केही दिनअघि धार्चे गाउँपालिकाले गुम्दाको चुङकाङ डाँडा भूकम्पको केन्द्रविन्दु भन्दै साइन बोर्ड राखेको थियो र भूकम्पको केन्द्रविन्दु आफ्नो गाउँपालिकामा पर्ने दावी गरेको थियो ।

त्यस्तै लाप्राकको पुसुडाँडादेखि गुम्दाको चुङकाङ डाँडासम्म इपिसेन्टर एडभेन्चर ट्रेल निर्माण गरी गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालबाट उद्घाटन गराएको थियो ।

भूकम्पको केन्द्रविन्दु बदल्ने गरी गतिविधि गरेको भन्दै बारपाक सुलिकोट गाउँपालिकाले आपत्ति जनाएपछि दुई गाउँपालिकाबीचको विवाद सतहमा आएको थियो ।

भूकम्पको केन्द्रविन्दु बारपाक गाउँ बारपाक सुलिकोट गाउँपालिकामा पर्छ । राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा नै स्थापित सत्यलाई तोडमोड गर्न खोजिएको भन्दै बारपाक सुलिकोट गाउँपालिकाले आपत्ति जनाएको थियो ।

धार्चे गाउँपालिकाले भूकम्पको केन्द्रविन्दु दावी गरेको विरोधमा बारपाकबासीले कात्तिक १९ देखि धार्चे गाउँपालिका प्रवेश गर्ने नाका समेत बन्द गरेका थिए ।

सोमबारको बैठकले बाटो बन्द खुलाउने र आगामी दिनमा पनि नदोहोर्‍याउने निर्णय गरेको जिसस प्रमुख अशोक गुरुङले बताए । त्यस्तै सीमा क्षेत्रमा काठ, ढुङ्गा उत्खननको विषयमा भएको विवाद समाधानका लागि सामुदायिक वन उपभोक्ता समितिको विधान, कार्ययोजना र प्रचलित ऐन कानून अनुसार गर्ने निर्णय भएको गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment