Comments Add Comment

पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको भिड, को निस्किए घुमफिरमा ?

२६ कात्तिक, काठमाडौं । सुदूरपश्चिम नेपालको प्रख्यात पर्यटकीय गन्तव्य खप्तडले यो वर्ष नसोचेको संख्यामा पर्यटकलाई स्वागत गरिरहेको छ । सामान्य अवस्थामा वर्षभरमा नदेखिने पर्यटकको भिड यो दसैंछेक खप्तडमा देखिएको पर्यटन अभियन्ता किशोर खड्का बताउँछन् । उनी भन्छन्, ‘ठ्याक्कै तथ्यांक पाइएको छैन, तर यो सिजनमा नसोचेको संख्यामा पर्यटक खप्तड आए ।’

खप्तड पूर्वाधार पुगेको सहज गन्तव्य होइन । तर पनि साहसिक पर्यटकबीच लोकप्रिय खप्तड यात्रालाई कोरोना भाइरसको महामारीले छेकेन । खड्काका अनुसार, हुलका हुल युवा खप्तड–रारा पदयात्रामा निस्किएका छन् । खप्तडमा मात्र होइन, दसैंको बिदामा कास्की, चितवन, काभ्रे, इलाम, काठमाडौं उपत्यका लगायतका पर्यटकीय क्षेत्रका होटेलहरु भरिए ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछाने यसपटक आन्तरिक पर्यटनमा दुई प्रकारको प्रवृत्ति देखिएको बताउँछन् । एउटा– शहरी इलाकाभन्दा बाहिर अलि लामो पदयात्रामा निस्किने र अर्को– नजिकका गन्तव्यहरु पुगेर लामो लकडाउनको उकुसमुकुसबाट ‘रिफ्रेस’ हुने ।

लम्वे पदयात्रामा निस्कनेहरु बिभिन्न हिमालका आधार शिविर, लाङटाङ, रारा, खप्तड आदि गन्तव्यतर्फ लागेका छन् । त्यस्तै, बढीमा एक रात बिताउन निस्कनेहरु देशभरका ठूला सहरबाट नजिकैका डाँडाकाँडामा खुलेका होटल–रिसोर्टहरुको पाहुना बने । दसैं बिदायता ती होटल–रिसोर्टहरुले निरन्तर पाहुना पाइरहेका छन् ।

आकर्षक प्याकेज र सस्तो हवाई भाडा

दसैंको मुख पारेर नेपालका दुई एयरलाइन्स कम्पनी यती एयर र बुद्ध एयरले सस्तो भ्रमण प्याकेज ल्याए । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार दसैं अवधिमा यतिका २३० वटा भ्रमण प्याकेज बिक्री भयो । दसैंमा धेरैजना सगरमाथा आधार शिविरको पदयात्रामा निस्किएको उनी बताउँछन् ।

दसैंपछि पनि प्याकेजमा घुमफिरमा निस्कने मानिसको आकर्षण उस्तै छ । अहिले मुगुको रारा जानेको संख्या बढेको छ । प्याकेजको कारण हवाईजहाजबाट पर्यटकीय गन्तव्य जाँदा यात्रा त्यति महँगो बनेन । विमान यात्राका लागि सस्तो टिकट उपलब्ध हुँदा धेरै आन्तरिक यात्रु घुमफिरमा आकर्षित भए ।

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा उद्योगी पशुपति मुरारका दसैंको मुख पारेर मार्दी हिमालको आधार शिविर पुगे । उनीजस्ता यात्रुका लागि नेपाल घुमफिरको मौका यो वर्ष कोरोना महामारीले जुटाइदियो ।

हरेक दसैंतिहारमा घुम्न भनेर नेपालीहरु थाइल्याण्ड, श्रीलंका, इण्डोनेसिया र खाडी मुलुकहरुमा जाने गरेका थिए । अझ उच्च आर्थिक हैसियतका नेपालीहरु यूरोप, अष्ट्रेलिया र अमेरिका पुग्छन् । यो वर्ष पछिल्लो ६ महिनायता यो खालको घुमफिरलाई कोरोना महामारीले प्रभावित पारिदियो ।

यो पनि पढ्नुहोस कतारका राजकुमारसहितको टोली आमादब्लम हिमाल चढ्न आधार शिविर पुग्यो

यस्ता भ्रमणमा बानी परेका तर निस्कन नपाएका यात्रुका कारण अहिले आन्तरिक पर्यटनमा उत्साहजनक माहोल देखिएको नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्सका अध्यक्ष अच्युत गुरागाइँ बताउँछन् । ‘विश्व भ्रमणमै निस्कने क्षमता राख्ने वर्ग पनि यो वर्ष स्वदेशभित्रै घुमफिर गर्न निस्किए’, उनी भन्छन्, ‘उनीहरु पनि थपिदा स्थानीय पर्यटन गन्तव्यहरुमा भिडभाड बढेको देखियो ।’

आफू सचेत भएर स्वास्थ्य मापदण्ड पालना गरे कोरोनाबाट बच्न सकिन्छ भन्ने सोचले पनि मानिसहरु घुमफिरमा उत्साहित भएको उनी बताउँछन् ।

दसैंको बेला धेरैजसो गन्तव्यले पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरे, तर अन्नपूर्ण पदमार्ग पर्यटकको लागि बन्द गरियो । धेरैजसो घुमन्तेले रुचाउने पदयात्रा मार्ग अन्नपूर्ण हो । यो रुट बन्द भएपछि विकल्पको खोजी हुनु स्वभाविक हो । सोहीकारण लामटाङ, गोसाइँकुण्ड, रारा, खप्तड लगायत क्षेत्रमा आन्तरिक पर्यटकको भिड बढ्यो ।

साहसिक प्रडक्टमा आकर्षण

दसैं बिदामा काठमाडौंबाट मार्दी हिमालको पदयात्रामा निस्किएकी नीता चिमोरियाले बिचको पोखरामा प्याराग्लाइडिङ गर्ने मौका छोपिन् । यसपालि घटेको शुल्कले पनि प्याराग्लाइडिङमा धेरैलाई आकर्षित गर्‍यो ।

सामान्य अवस्थामा पोखरामा प्याराग्लाइडिङ गर्दा ६ हजारसम्म लिइन्थ्यो । यसपटक भने कोराना महामारीले थला पारेको पर्यटन क्षेत्रमा माहोल सिर्जना गर्न प्रतिव्यक्ति रु.३ हजारमा प्याराग्लाइडिङको मजा लिन सकिने व्यवस्था गरियो, त्यो पनि दसैंको ठीक अगाडि ।

दसैंलगत्तै पर्वतको कालिगण्डकी नदीमाथि बन्जी जम्प र स्वीङ सुरु भयो । त्यसअगाडि धुलिखेलमा जीपलाइन सुरु भएको थियो । पर्यटकका यी साहसिक ‘प्रडक्ट’ले आन्तरिक पर्यटनमा एक किसिमको उभार ल्याए ।

प्रवर्द्धनमा सामाजिक सन्जालको भूमिका

यसपटक आन्तरिक पर्यटन प्रवर्द्धनमा फेसबुक, युट्युब, टिकटकजस्ता सामाजिक सन्जालको समेत ठूलो भूमिका रह्यो । ‘घर बस्दा मानिसहरु सामाजिक सन्जालमा व्यस्त रहे, जहाँ पर्यटन प्रडक्टहरुको प्रचार भइरहेका थिए’, बोर्डका निर्देशक लामिछाने भन्छन्, ‘पछिल्लो पटक तनहुँको मानहुँकोटमा लागेको भिड पनि त्यसैको परिणाम हो ।’

मानहुँकोटमा एकै दिन १० हजारभन्दा बढी आन्तरिक पर्यटक पुगेपछि कोटा नै तोक्नु पर्ने अवस्था आएको उनी बताउँछन् ।

त्यसअघि काभ्रेपलान्चोकको रोशी गाउँपालिकामा पर्ने तीनधारा झरना सामाजिक सन्जालकै कारण चर्चित बनेको थियो । हजारौं मानिस त्यहाँ घुम्न पुगे । टिकटकको भिडियो बनाउन त्यहाँ पुग्ने युवाको जमातसमेत ठूलो थियो ।

नेपालमा आन्तरिक पर्यटक टूर तथा ट्राभल प्याकेजमा जाने चलन छैन । साथीभाइ, आफन्त र सामाजिक सन्जालबाट पाइने जानकारीको भरमा यात्रामा निस्किहाल्ने जमात ठूलो छ । यो जमातले स्थानीय स्तरमा खुलेका होटेल व्यवसायी र हवाई सेवामा नयाँ उत्साह ल्याएको नाट्टाका अध्यक्ष गुरागाइँ बताउँछन् ।

यस्तो जमात लगायत आन्तरिक पर्यटकलाई लक्षित गरी पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्ड मिलेर ल्याउन लागेको प्याकेज तिहार पछाडि आउँदैछ । त्यसपछि जाडोमा पनि पर्यटन गन्तव्यहरुलाई आन्तरिक पर्यटकले निर्जन रहन नदिने व्यवसायीहरुको अपेक्षा छ ।

खुला भएका पदमार्ग :

कञ्चनजङ्गा पदयात्रा क्षेत्र

सगरमाथा आधार शिविर पदयात्रा मार्ग

मार्दी हिमाल पदयात्रा क्षेत्र

मनाङ्ग पदयात्रा क्षेत्र

मुस्ताङ्ग पदयात्रा क्षेत्र

डोल्पा पदयात्रा क्षेत्र

हुम्ला पदयात्रा क्षेत्र

मनास्लु पदयात्रा क्षेत्र

हेलम्बु पदयात्रा क्षेत्र

रुबिभ्याली पदयात्रा क्षेत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment