
२६ कात्तिक, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा)को बिहारका वरिष्ठ नेता सुशील कुमार मोदीले बिहारमा अबको मुख्यमन्त्री नितिश कुमार नै हुने बताएका छन् ।
पछिल्लो १५ वर्षदेखि बिहारको सत्ता सम्हालिरहेका नितिश कुमारको पार्टी बिहारमा भएको निर्वाचनमा तेस्रो भएको छ । तर, दोस्रो ठूलो पार्टी बनेको भाजपाका नेताले नितिश कुमारलाई नै मुख्यमन्त्री बनाइने बताएका हुन् ।
सुशील मोदीले भने, ‘भाजपाको नेतृत्वको तर्फबाट यो स्पष्ट छ कि नितिश कुमार नै मुख्यमन्त्री हुनेछन् । जेपी अड्डा, अमित शाहजी सबैको तर्फबाट पनि यही कामना छ ।’
‘कसलाई कति सिट प्राप्त भयो भन्ने कुरा फरक कुरा हो । भाजपालाई जति सिट मिलेको छ, त्यसमा जदयूको योगदान छ र जदयूले पाएको सिटमा भाजपाको योगदान छ’, उनले थपे । उनले निर्वाचनभन्दा पहिला नै मुख्यमन्त्री तय गरेर गठबन्धन बनाइएको बताए ।
बिहारमा तेस्रो बनेको जदयूले केवल ४३ सिट जितेको छ । भाजपाले भने ७४ सिट जित्दै दोस्रो स्थान हात पारेको छ । यस्तोमा मुख्यमन्त्री को बन्लान् भन्ने विभिन्न किसिमको अनुमान आइरहेको थियो । भाजपाले नितिश कुमार आगामी मुख्यमन्त्री बन्ने बताइसकेको भए पनि अहिलेसम्म नितिश कुमारको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
स्रोत :बीबीसी
प्रतिक्रिया 4