Comments Add Comment

महामारीमा खटेका स्वास्थ्यकर्मीले गरे तलब नपाएको गुनासो

२६ कात्तिक, वीरगञ्ज । अनमी कोपिला कुमारी साह बाराको सिमरामा एक निजी पोलिक्लिनिकमा कार्यरत थिइन् । समयमै तलब आइरहेको थियो । जीवन सामान्य गतिमा अघि बढीरहेको थियो । चैतको अन्तिम साताबाट वीरगञ्जमा कोरोना संक्रमणको महामारी सुरु भयो ।
गण्डक अस्पताललाई अस्थायी कोरोना अस्पताल बनाउने कुरा चल्न थाल्यो । ०७७ वैशाख पहिलोसाता वीरगञ्ज महानगरपालिका र गण्डक अस्पतालबीच अस्थायी कोरोना अस्पताल बनाउने सम्झौता पनि भयो ।

तर नारायणीलाई कोभिड अस्पताल घोषणा गरिसकेको कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गण्डकलाई कोभिड अस्पतालका रुपमा अनुमति दिएन । नारायणी अस्पतालको नेतृत्वमा र महानगरले आर्थिक दायित्व बहन गर्ने गरी ८ जेठमा गण्डकमा कोरोना संक्रमितको उपचार सुरु भयो । सम्झौता गर्दा ५० प्रतिशत जनशक्ति नारायणीले र बाँकी ५० प्रतिशत जनशक्ति अन्य निजी अस्पतालले जुटाउने सहमति भएको थियो ।

तर निजी अस्पतालले त्यसरी जनशक्ति खटाएनन् । त्यसपछि विभिन्न स्थानबाट आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी जुटाइएको थियो । सोही क्रममा कोपिलालाई पनि कोराना संक्रमितको सेवामा खट्ने प्रस्ताव आयो । उनले हिम्मत जुटाइन् । परिवारलाई सम्झाइन् अनि कोरोना संक्रमितको सेवामा खटिइन् ।

त्यसवापत पुरस्कार, सम्मान र स्याबासी त परको कुरा । जोखिम मोलेर १ सय ७ दिन ज्यान जोखिममा राखेर खट्दाको तलब समेत पाउन सकेकी छैनन् । व्यक्तिगत र पारिवारिक दुःखलाई बिर्सेर संक्रमितको सेवामा खटेपनि तलब नपाउँदा दुःख लागेको उनले बताइन् ।

‘परिवारलाई केही हुन्न भनेर सम्झाएँ । त्यसपछि घर छोडेर संक्रमितको सेवामै व्यस्त बने‌ं,’ उनले भनिन् ‘जोखिम भत्ताको कुरै छाडौं, तलब समेत पाउन सकेको छैन।’

‘पीपीई लगाइसकेपछि घरी घरी फेर्न मिल्दैनथ्यो, तिर्खा लाग्दा पानी खान पाँदैनथ्यो, शौचालय जान पनि नपाउने,’ उनले भनिन् ‘ आफ्नो दुःख बिर्सेर संक्रमितको सेवा गर्‍यौं । आफ्नो धर्म निर्वाह गर्‍यौं । तर अहिले पाउनुपर्ने सेवा सुविधा नै दिइरहेका छैनन् ।’

०००

आमा बुबाले जोखिम मोलेर काम नगर भन्दा हेल्थ असिस्टेन्ट निखिल झाले टेरेनन् ।

स्वास्थ्यकर्मीको धर्म निर्वाह गर्न छोडेर महामारीको समयमा भाग्न उनको मनले मानेन । कोभिड अस्पतालमा काम गर्ने प्रस्तावलाई उनले स्वीकार गरे । ७७ दिन संक्रमितको सेवामा पनि खटे । तर दशैं तिहार जस्ता पर्वमा समेत तलब भत्ता नपाउँदा नराम्रो लागेको उनले बताए । अझ तैंले काम गरेको के प्रमाण छ र ? भनेर कसैले सोधिदिँदा मन भतभती पोल्ने गरेको एचए झा बताउँछन् ।

‘जोखिम भत्ता त मंसिरमा दिने कुरा छ, तलब कहिले पाउने हो थाहा छैन,’ उनले भने, ‘नारायणी अस्पतालको लेखा शाखामा तलब आए नआएको सोध्न जाँदा तपाईंले काम गरेको के प्रमाण छ ? भनेर सोध्दा भने निकै दुःख लाग्छ ।’

०००

वीरगञ्जकै एडभान्स अस्पतालमा कार्यरत सीएमए उज्वल कुमार शर्माले पनि ज्यान जोखिममा पर्न सक्ने जान्दा जान्दै कोभिडमा खट्न आएको प्रस्तावलाई स्वीकारे । अरु खट्न तयार नभइरहको समयमा कोभिडमा खट्ने सहास देखाउनु नै ठूलो कुरा थियो । उनले ८८ दिन अस्थायी कोभिड अस्पताल गण्डकमा सेवा दिए । जोखिम मोलेर मेहनतका साथ काम गर्दा पनि तलब भत्ता नपाउँदा दिक्क लागेको उनको भनाइ छ ।

‘पीपीई लगाएपछि शरीरमा खलखली पसिना बग्थ्यो । तैपनि बिरामीको सेवामा मेहनतका साथ खट्यौं,’ शर्माले भने, ‘ त्यसको मूल्यांकन गर्नु त परको कुरा एक महिनाको भत्ता बाहेक तलब र बाँकी भत्ता पाएको छैन । दसैंपछि दिन्छु भनेपनि तिहार छठ आउन लाग्दासम्म दिइरहेका छैनन् ।’

नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्टलाई भेट्न समय लिएर जाँदा समेत बेवास्ता गरेको गुनासो उनले गरे । ‘बजेट आएपछि दिने भन्छन्, बजेट कहिले आउँछ त ? भन्दा थाहा छैन ।’ सीएमए शर्माले भने ‘तलब भत्ता आउँछ अनि तिर्छु भनेर साथीभाईसँग सापटी लिएर घर व्यवहार टारेको थिएँ, अहिले लाजमर्नु अवस्था भएको छ ।’

डाक्टर निरज कुमार सिंह अस्थायी कोभिड अस्पताल गण्डकमा सबैभन्दा बढी खटेका चिकित्सक हुन् । सिमरामा एक निजी अस्पतालमा कार्यरत उनलाई कोभिड महामारीमा खट्ने शर्तमा नै वीरगञ्ज बोलाइएको थियो । तलब वीरगञ्ज महानगरपालिका र जोखिम भत्ता नारायणी अस्पतालले भनिएको थियो । तत्कालिन मेडिकल सुपरीटेन्डेन्ट डाक्टर मदन उपाध्याय र कोभिड अस्पतालका संयोजक उदय नारायण सिंहले उनलाई वीरगञ्जमा आउन भनेका थिए । मेडिकल अधिकृत डाक्टर सिंहले १ सय १४ दिन अस्थायी कोभिड अस्पतालमा संक्रमितको सेवा गरे । कोरोना महामारीमा शत प्रतिशत योगदान दिएका उनलाई अहिले ‘दिनभरि करायो, दक्षिणा हरायो ।’ भनेजस्त भएको छ ।

उनले पनि एक महिनाको जोखिम भत्ता बाहेक अरु तलब भत्ता पाएका छैनन् । तलब भत्ता नपाउँदा कस्तो समस्या भइरहेको छ त ? भन्ने अनलाइनखबरको प्रश्नमा उनले भने ‘ समस्या त भइहाल्छ नी सर, जीवन नै त्यसैबाट चलाउने हो । चार चार महिना तलब भत्ता नआउँदा परिवार धान्नै समस्या छ नी,’ डाक्टर सिंहले भने, ‘भाडामा बसेका साथीहरु पनि छन्, उनीहरुको अवस्था झनै खराब छ ।’

नारायणी अस्थायी कोरोना विशेष अस्पताल (गण्डक कोभिड अस्पताल) मा नारायणी भन्दा बाहिरबाट चकित्सकदेखि स्विपरसम्म १३ जना खटेका थिए । २६ दिनदेखि १ सय १४ दिनसम्म संक्रमितको सेवामा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मीको तलब ७ लाख ४१ हजार २ सय २१ रुपैयाँ हुने रहेछ ।

नारायणी अस्पतालका अनुसार त्यो रकम वीरगञ्ज महानगरपालिकाले अस्पताललाई बुझाउनुपर्ने हुन्छ । तर उसले नबुझाएका कारण चिकित्सक स्वास्थ्यकर्मीलाई तलब खुवाउन नसकिएको हो । तत्कालिन नारायणी अस्थायी कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले आर्थिक भार बेहोर्ने जिम्मेवारी लिएको महानगरपालिकासँग रकम माग गरिएको तर आइनसकेको बताए ।

‘लिखित रुपमा असोज १३ गते नै रकमको व्यवास्थापन गरिदिन आग्रह गर्दै पत्राचार गरेको हुँ, त्यसबाहेक महानगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसँग रकम पठाउनका लागि टेलिफोनबाट पनि आग्रह गर्दै आएको छु,’ उनले भने, ‘साथीहरु समस्यामा हुनुहुन्छ थाहा छ, तर केही गर्न नसकेको अवस्था छ ।’ गुनासो गरेपछि सरसफाईकर्मीलाई आफैंले २० हजार रुपैयाँ दिएर पठाएको उनले सुनाए ।

०००

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले कोभिडमा खटिएका चिकित्सक स्वास्थ्यकर्मीलाई अप्ठेरोमा पार्ने महानगरपालिकाको नियत नभएको दाबी गरे । ‘ कोभिड अस्पतालमा त हामीले खर्च गरेकै थियौं, चिकित्सक स्वास्थ्यकर्मीको तलब भत्ताको व्यवस्था नारायणीले गर्नुपर्ने हो । गरेको रहेनछ,’ उनले भने, ‘उनीहरुलाई कसरी रकम दिने भन्ने बारे अन्योल देखियो । आजै बस्ने बोर्ड बैठकमा प्रताव लगेर पारित गराउँछु । उहाँहरुले छिट्टै आफ्नो सुविधाको रकम पाउनुहुन्छ ।’

गण्डक कोभिड अस्पतालमै खटिएकी स्वास्थ्यकर्मी आरती पटेलले भत्ता पाइन्छ भनेर कोभिडमा खटिएपनि नपाएको गुनासो गरिन् । ‘त्यति मेहनत गरेर काम गरेको पैसा पनि पाएको छैन भनेर घरबाट कराइरहेका छन्,’ उनले भनिन्, ‘ कोभिडमा काम गर्नेलाई जोखिम भत्ता दिने भनिएको थियो, तर पहिले दसैंपछि र अहिले छठपछि पाइन्छ भनेर आलटाल गर्दैछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment