Comments Add Comment

बहराइनका प्रधानमन्त्री शेख खलिफाको निधन

२७ कात्तिक, काठमाडौं । बहराइनमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको रुपमा रहेका शेख खलिफा बिन सलमान अल खलिफाको ८४ वर्षको उमेरमा निधन भएको छ । बुधबार बहराइनका समाचार एजेन्सीले उल्लेख गरेअनुसार उनको अमेरिकाको मायो क्लिनिक हस्पिटलमा निधन भएको हो । यद्यपि यस विषयमा विस्तृत विवरण भने दिइएको छैन ।

बहराइनका राजा हमाद बिन इसा अल खलिफाले युवराज सलमान अल खलिफालाई मुलुकको नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्त गरेका छन् । यो निर्णय तत्काल कार्यान्वयनमा आउने गरी तय गरिएको हो ।

राजाले खलिफा बिन सलमान अल खलिफाको निधनमा एक साता शोक मनाउँदै आधा झण्डा झुकाउने घोषणा गरेका छन् । उनको अन्त्येष्टि भने अमेरिकाबाट शव आइपुगपछि मात्र गरिने र अन्त्येष्टिमा सीमित आफन्तहरु मात्र जान पाउने बताइएको छ ।

शेख खलिफा विश्वको सबैभन्दा लामो समयसम्म पदमा रहने प्रधानमन्त्रीमध्ये एक हुन् । उनी बहराइनमा लामो समयदेखि प्रधानमन्त्रीको रुपमा थिए । सन् २०११ मा भ्रष्टाचारको आरोपमा उनको राजीनामा माग गर्दै आन्दोलन चर्किए पनि उनी भने पदमा कायम रहन सफल भएका थिए । बहराइनमा सन् १७८३ देखि अल खलिफा परिवारको शासन रहँदै आएको छ ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment