Comments Add Comment

कोभिड–१९ को भ्याक्सिनबारे चीनले गर्‍यो नेपालसहित चार मुलुकसँग छलफल

२७ कात्तिक, काठमाडौं । चीनले नेपालसहित दक्षिण एसियाका चार मुलुकसँग कोभिड–१९ को खोपमा सबैको सहज पहुँच र उपलब्धता लगायतका विषयमा भिडियोमार्फत छलफल आयोजना गरेको छ ।

दुई दिनअघि आयोजना भएको सो उपविदेशमन्त्री स्तरीय वैठकको विषयमा चीनले बिहीबार मात्र जानकारी दिएको हो । नेपालको परराष्ट्र मन्त्रालयले पनि यस विषयमा कुनै जानकारी दिएको छैन । सो कार्यक्रम चीन, नेपाल, पाकिस्तान, बंगलादेशका प्रतिनिधिहरु उपस्थित थिए । नेपालको तर्फबाट परराष्ट्र सचिव भरतराज पौड्याल सहभागी थिए ।

सो वैठकमा र्‍यापिड टेस्टिङका उपकरण, भेन्टिलेटरलगायतका अन्य उपचार र औषधीहरुको बारेमा छलफल भएको थियो ।

त्यसैगरी कम विकसित देशहरुका लागि कोभिड–१९ को भ्याक्सिन सहज पहुँच र उपलब्धताको विषयमा विस्तृतमा कुराकानी भएको थियो । त्यस्तै कोभिड–१९ को नियन्त्रण, सिमापार ट्रान्समिसन लगायतका विभिन्न विषयमा छलफल भएको थियो ।

कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असर र ऋणका विषयमा समेत वृहत छलफल भएको चीनले जानकारी दिएको छ । कोभिड–१९ ले यस क्षेत्रको सप्लाई चेनमा पारेको असर र त्यसलाई सहज बनाउने अर्काे विषय थियो ।

चार महिनाअघि पनि चीनले यस्तै छलफल गरेको थियो । सो छलफलमा चीनको बीआरआईमा कसरी सहकार्य गर्ने भन्ने सम्बन्धमा समेत छलफल भएको थियो । चीनले जारी गरेको प्रेस विज्ञप्तिका अनुसार अर्काे वैठक छिटै गर्ने सहमति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment