Comments Add Comment

ब‌ंगलादेशमा मैत्रीपूर्ण खेल : नेपाली टिममा नयाँ खेलाडीको बाहुल्य

२७ कात्तिक, काठमाडौं । दुई खेलको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल सिरिज अन्तर्गत नेपाल र बंगलादेशबीच पहिलो खेल शुक्रबार हुँदैछ । ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो ४:४५ मा शुरु हुनेछ ।

कोरोना महामारीका कारण लामो समयदेखि फुटबल खेल्न नपाएका दुवै टोली मैत्रीपूर्ण खेललाई लिएर उत्साहित छन् । बिहीबार ढाकामा भएको प्रिम्याच कन्फ्रेन्समा दुई मैत्रीपूर्ण सिरिजको ट्रफी समेत सार्वजनिक गरिएको छ ।

विश्वभर फैलिएको कोरोना महामारीले गर्दा ८ महिनादेखि नेपाली टिमले फुटबल खेल्न पाएको छैन । बंगलादेशसंग खेल्दा नेपालले २०२१ मा हुने फिफा विश्वकप छनोट र फिफा वरियतालाई ध्यानमा राख्नेछ ।

नेपाली टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले पनि यी दुई कुरालाई ध्यान दिने बताए । नेपाल र ढाकामा एक-एक हप्ताको प्रशिक्षणपछि टिममा केही सुधार भएको महर्जनले बताए । तर बंगलादेश गएका २५ मध्ये एक खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएपछि ती खेलाडी अहिले आइसोलेसनमा बसेका छन् । नेपालमै परीक्षण गर्दा ७ खेलाडीलाई कोरोना पोजेटिभ देखिएपछि ८ नयाँ खेलाडीसहित नेपाली टोली बंगलादेश गएको थियो ।

यस पटक टिममा नयाँ खेलाडीको बाहुल्य छ । केही सिनियर खेलाडी छैनन् । यस्तोमा पहिलो रोजाईंमा केही अनुभवी र नयाँ खेलाडीको मिसमास हुने ढाकाबाट महर्जनले अनलाइनखबरलाई जानकारी दिए । केही खेलाडीले डेब्यु गर्न सक्ने सम्भावना रहेको छ ।

बंगलादेशले मैत्रीपूर्ण खेलको लागि ३ साता प्रशिक्षण गरेको छ ।

नेपाल र बंगलादेश एकआपसमा परिचित प्रतिस्पर्धी हुन् । बिगतमा बंगलादेश नेपालमाथि हावी भएपनि पछिल्ला खेलहरुमा नेपालले पनि खेल जित्न थालेको छ । अहिलेसम्म नेपाल र बंगलादेश कूल १९ पटक प्रतिस्पर्धा गर्दा १२ पटक बंगलादेश विजयी भएको थियो भने नेपालले ६ खेल मात्र जितेको छ । १ खेल बराबरीमा सकिएको थियो ।

पछिल्लो पटक सन् २०१८ मा बंगलादेशमै भएको साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई २-० ले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment