Comments Add Comment

सालझण्डीमा दुग्ध परिकार बिक्री केन्द्र सञ्चालन

२८ कात्तिक, बुटवल । रुपन्देहीकै पुरानो मध्येको सालझण्डी दुग्ध उत्पादक सहकारीले सालझण्डीमा दुग्धजन्य परिकार बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । सहकारीले दूध संकलन र बिक्रीसँगै गत वर्षदेखि प्रशोधित दूध, घिउ, पनिर, खुवा, आइसक्रिम जस्ता परिकारहरुको उत्पादन थालेको थियो ।

शुक्रबार सैनामैना नगरपालिका-१० वनकट्टीमा पूर्वपश्चिम राजमार्गमै सञ्चालनमा ल्याइएको दुग्धजन्य परिकार बिक्री केन्द्रको नगर प्रमुख चित्रबहादुर कार्कीले उद्घाटन गरे ।

नगर प्रमुख घिमिरेले गुणस्तरीय दूध बिक्री गरेर सालझण्डी दुग्ध उत्पादक सहकारी जिल्लामै छुट्टै ब्राण्ड बनेको उल्लेख गर्दै अन्य परिकारमा पनि गुणस्तर कायम गर्न सुझाव दिए ।

नगरपालिकाले कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले दुग्ध परिकारको बजारीकरणमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

सालझण्डी-ढोरपाटन सडक निर्माणको अन्तिम चरणमा रहेको र पूर्वपश्चिम राजमार्गमै बिक्री केन्द्र रहेकाले सहकारीले गुणस्तरीय दुग्धजन्य मौलिक परिकारहरु प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराई सालझण्डीलाई ‘मिल्क स्टेसन’ बनाउन सकिने नगर प्रमुख कार्कीले सुझाए ।

सहकारीका अध्यक्ष तिलकराम शर्माले २०५० सालमा स्थापित सहकारीमा ४०७ जना पशुपालक किसानको आवद्धता रहेको र सहकारीले निकट भविष्यमा मिठाइका परिकारसमेत उत्पादन गरी सबै उत्पादनलाई जिल्लाभर पुर्‍याउने लक्ष्य रहेको बताए ।

वार्षिक करिब १३ लाख लिटर दूध बिक्री र ३१ करोड रुपैयाँको कारोबार गर्दै आएको सहकारीले १६ जनालाई प्रत्यक्ष रोजगारी दिएको घिमिरेले बताए ।

सहकारीले गत वर्ष प्रदेश सरकारबाट नवीनतम सोच अन्तर्गत दुग्ध प्रशोधन मेशिन र प्याकेजिङ मेशिन लागि करिब ७० लाख रुपैयाँ र दूध बोक्ने ट्यांकर खरिदमा ५० प्रतिशत अनुदानवापत १७ लाख ५३ हजार प्राप्त गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment