Comments Add Comment

तिहारमा पशुपंक्षीको पूजा

यो धर्तीमा सम्पूर्ण प्राणी र वनस्पतीसँग एकाकार भएर मात्र जीवन संभव हुन्छ । कुनै एउटाको अनुपस्थितीमा अर्कोको अस्तित्व संकटमा पर्छ । त्यसैले प्रकृतिको यो सन्तुलनलाई मिलाइराख्नका लागि बनजंगल, पानी, माटो, किराफट्यांग्रा, पशुपंक्षी, जीवजन्तु सबै एकाकार हुन जरुरी छ । प्रकृतिको यही नियमलाई आत्मसात गर्दै हाम्रा पूर्खाहरुले विभिन्न उत्सव, पर्वहरुमा पशुपंक्षीको पूजा गर्ने परम्परा चलाए । तिहार त्यसैको एउटा दृष्टान्त हो ।

तिहारमा कुकुरको पूजा गरिन्छ । कागको पूजा गरिन्छ । गाईको पूजा गरिन्छ । गोरुको पूजा गरिन्छ । यी पशुपंक्षीलाई सम्झेर कृतज्ञतासाथ पूजाआजा गर्ने चलन छ । खासमा पशुपंक्षीसँगको हाम्रो घनिष्ठतालाई पनि यसले उजागर गर्छ ।

धार्मिक कथन यस्तो छ, ‘द्वापरयुगमा इन्द्रले पानी नपारिदिएकाले कृषि पेशामा संलग्न कर्मयोगी गोपालहरु अत्यान्त चिन्तित भए । यस्तो अवस्था देखेर भगवान श्रीकृष्णले गोबर्धन पर्वतको पूजा गर्ने सल्लाह दिए । गोपालहरुले पूजा गरे । पानी प¥यो, अन्नबाली सप्रियो । भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो ।

गोरुलाई भगवान शिवको वाहन मानिन्छ । गोरुलाई पनि तिहारको अवसरमा पूजाआजा गरिन्छ । हामीकहाँ कृषि क्षेत्रमा गोरुको प्रयोग हुन्छ । बर्षायाममा गोरु जोतेर खेतबारी बनाउने गरिन्छ । यसरी हाम्रो खेतीबालीसँग जोडिएर गोरुले हाम्रो हित गरिरहेका हुन्छ ।

गाई बहुगुणी प्राणी हो, जसलाई हामी अत्यान्तै श्रद्धा गर्छौ । गाईलाई लक्ष्मीको प्रतिरुप मानिन्छ । सम्बोधन गर्दा ‘गौमाता’ भनिन्छ । गाईको दुध अमृतसमान हुन्छ । गोमुत्रको समेत आर्युवेदमा महत्व छ । नेपाल जस्तो कृषिप्रधान मुलुकमो गाईले आर्थिक टेवा समेत दिइरहेको छ । गाई हामीसँग अभिन्न रुपमा जोडिएको छ । गाईलाई हामी लक्ष्मी मानेर पूजा गर्छौ । यसका निम्ति तिहारको गाईतिहार विशेष मानिन्छ ।

कुकुरसँग हाम्रो खास घनिष्ठता छ । त्यसो त बर्षमा एक दिन भएपनि कुकुरको पूजा गरिन्छ । यमपञ्चकको दोस्रो दिन अर्थात कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार मनाइन्छ ।

कुकरलाई भैरवको वाहन पनि भनिन्छ  । यो आज्ञापालक र रक्षक पनि हो । कुकुर गुणी प्राणी हो । यहि प्राणीसँग एकाकार भएर हामी बसेका छौ । कुकुर तिहारमा कुकुरलाई मनपर्ने खानेकुरा ख्वाउने, पूजा गर्ने गरिन्छ ।

कागलाई हामी चतुर एवं धू्रर्त पक्षी मान्छौ । काग सर्वभक्षी हो । कागलाई पूजा गर्नुको अर्थ चाहि यो मानव जीवनकै एउटा हिस्सा हो भन्ने हो । अर्थात यसले हाम्रो अन्नवालीमा लाग्ने किरा, फट्याङ्ग्रा खाइदिन्छन् । यस हिसाबले यो प्राकृतिक किटनाषक हो । साथै, कागलाई सन्देश वहाकको रुपमा पनि लिइन्छ । खासगरी यमदूतको रुपमा । काग कराउँदा त्यसले सन्देश लिएको हुने परम्परागत मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment