Comments Add Comment

दियो बाली साँझको

दियो अर्थात उज्यालोको प्रतिक । पौराणिक मान्यता के छ भने, दियो बालेपछि घरमा सुख, शान्ति र समृद्धि छाउँछ । यही कारण तिहारमा झलमल्ल दियोबत्ती जलाइन्छ । यही कारण तिहारलाई दिपावलीको पर्व भनिन्छ ।

दिप र आवली दुई शब्द मिलेर बनेको छ, दिपावली । दीप अर्थात बत्ती । आवली अर्थात पंक्तिवद्र्ध । दिपलाई जब पंक्तिवद्ध जलाइन्छ, दिपावली बन्छ ।
तिहारमा दियो बाल्ने परम्परा कसरी सुरु भयो त ? यस सम्बन्धमा एक पौराणिक कथा छ । कथा यस्तो छ–

तेत्रायुगमा भगवान श्रीराम, लक्ष्मण तथा सिताले चौध बर्ष वनबास पुरा गरेर घर फर्किए । त्यसबखत कार्तिक महिनाको कृष्ण पक्षको औंसी थियो । यो अँध्यारो रातमा घर फर्किएक श्रीराम, लक्ष्मण र सिताका स्वागतार्थ अयोध्यावासीले प्रत्येक पाइलमा पंक्तिवद्ध रुपमा दियो जलाएका थिए । त्यही बेलादेखि दियो बाल्ने प्रचलन सुरु भएको मानिन्छ । तिहारलाई दिपावली भन्नुको अर्थ पनि यही हो ।

अर्को धार्मिक कथन के पनि छ भने यस रातमा दियो बालेर घरलाई उज्यालो बनाइरहँदा माता लक्ष्मी प्रशन्न हुनेछन् । घरमा सुख, शान्ति र समृद्धि भित्रिनेछ । यही मान्यतालाई शिरोधर गर्दै तिहारको घर आँगनमा दियो बत्ती बाल्ने गरिन्छ ।

यद्यपि अहिले दियोबत्तीको अनेक विकल्प छन् । मैनबत्तीदेखि बिजुलीसम्मले घरलाई झिलिमिली बनाउने गरिएको छ । त्यसो त तिहार नजिकिएसँगै यस्ता झिलिमिली बत्तीको कारोबार पनि उत्कर्षमा पुग्ने गर्छ । विभिन्न डिजाइन र मूल्यका बिजुली बजारमा उपलब्ध हुने गर्छ । यसमा विद्युतिय दियोपाला, कृतिम मैनबत्तीदेखि थरीथरीका बिजुली पर्छन् । तिहारमा घर उज्यालो बनाउनुपर्छ भन्ने मान्यता अनुसार नै झिलिमिली बिजुलीको कारोबार पनि उकासिएको हो ।

यद्यपि धार्मिक विधी विधान अनुसार भने दियो पाला नै महत्वपूर्ण मानिन्छ । लक्ष्मीको पूजास्थल, घरको मूलढोका र घरको सम्मुखमा दियोबत्ती बाल्नुपर्ने मान्यता छ । यसैगरी कुलदेवता, इष्टदेवता आदिको नाममा पनि दियो जलाउने गरिन्छ ।

दिपावलीमा हुन्छ, माता लक्ष्मीको आगमन

भनिन्छ, माता लक्ष्मीलाई उज्यालो घर असाध्यै मनपर्छ । अध्यारो घर उनलाई पटक्कै मन पर्दैन । माता लक्ष्मी त्यही घरमा वास गर्छिन्, जुन घर घर सफा हुनुका साथै उज्यालो पनि हुन्छ । त्यसैले, दिपावलीमाद लक्ष्मी माताको स्वागतमा पनि घरलाई पूरै रङ्गयाउने गरिन्छ । चारैतिर लिपपोत गरेर घरलाई सुन्दर बनाउने गरिन्छ । र, घरै झिलिमिलि हुने गरी घरका चारै कुनामा माटोले बनेकै दियो बालिने गरिन्छ ।

सावधानी

दियोबत्ती जलाउँदा केही कुरामा भने ख्याल गर्नुपर्छ । काठको घरमा दियाबत्ती जलाउँदा त्यसले आगलागी जस्तो दुर्घटना पनि निम्त्याउन सक्ने भएकाले सुरक्षित ढंगले जलाउनुपर्छ । साथै दियो बत्ती जलाएको स्थानमा बालबच्चाहरु खेल्ने र उनीहरुको लुगाफाटोमा आगो सल्कने जोखिम हुन्छ । त्यसैले बालबच्चा भएको घरमा विशेष ध्यान दिनुपर्छ ।

दियोबत्ती मात्र होइन, विजुली प्रयोग गर्दा पनि सर्ट भइ आगलागी वा अन्य दुर्घटना हुने जोखिम हुन्छ । यसैले तिहारको बेला दियो बत्ती जलाउँदा होस् वा विजुली जडान गर्दा, निकै चनाखो र सर्तक हुन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment