Comments Add Comment

इथियोपियाबाट इरिट्रियाको राजधानीमा रकेट प्रहार

३० कात्तिक, काठमाडौं । इथियोपियाको टिग्रे प्रान्तबाट छिमेकी मुलुक इरिट्रियाको राजधानी सहरमा रकेट प्रहार भएको छ । कूटनीतिक अधिकारीहरु र प्रत्यक्षदर्शीहरुका अनुसार शनिबार कम्तीमा तीन रकेट इरिट्रियाको अस्मारामा प्रहार गरिएको थियो । अहिले इथियोपियामा सरकार र टिग्रे प्रान्तका सेनाबीच युद्ध चलिरहेको अवस्थामा यसको असर छिमेकी मुलुक इरिट्रियामा देखिएको अल जाजिराले बताएको छ ।

शनिबार साँझ प्रहार गरिएको रकेटमध्ये कम्तीमा दुई रकेट सहरको विमानस्थलमा प्रहार गरिएको थियो । अहिले टिग्रे र इरिट्रियामा सञ्चारको अधिकांश माध्यमहरु बन्द गरिएको छ । दुवै पक्षका अधिकारीहरुले यो घटनाको विषयमा केही जानकारी भने दिएका छैनन् ।

यो पनि पढ्नुहोस युद्धको कारक बन्दै नोबेल शान्ति पुरस्कार विजेता

शनिबार टिग्रेको सत्तारुढ पार्टी पिपुल्स लिबेरेसन फ्रन्ट (टीपीएलएफ)ले इरिट्रियामा आक्रमणको चेतावनी दिएको थियो । यो पार्टीले प्रधानमन्त्री अबिय अहमदले इरिटि्रयाबाट सैन्य सहयोग लिएर टिग्रेमाथि आक्रमण गरेको आरोप लगाएको छ । दुई वर्षअघि इरिटि्रया र इथियोपियाको बीचमा शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।

इरिट्रियाले भने इथियोपियाको आन्तरिक लडाइँमा आफूहरुको कुनै पनि संलग्नता नरहेको बताएको थियो । गत साता इथियोपियाका प्रधानमन्त्री अबिय अहमदले टिग्रेमा सरकारी सेनामाथि आक्रमण भएको भन्दै स्थानीय सेनाविरुद्धको कारबाही सुरु गर्न निर्देशन दिएका थिए । यससँगै अहिले इथियोपियामा तनाव बढेको हो । त्यसयता सुरु भएको संघर्षमा सयौं मानिसहरुको मृत्यु भइसकेको छ ।

तनाब बढेसँगै यहाँका हजारौं मानिसहरु सुडानतर्फ विस्थापित भएका छन् । यसले इथियोपियाका अन्य क्षेत्रहरुमा पनि अशान्ति फैलिने जानकारहरुले चिन्ता व्यक्त गरेका छन् ।

स्रोत :अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment