Comments Add Comment

नेकपामा नयाँ लेनदेनको खोजी, खुमलटारमा प्रचण्ड र विष्णु पौडेलवीच भेटवार्ता

२ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि (बुधबार) दिउँसो १ बजे बालुवाटारमा बस्दैछ । बैठकको अघिल्लो दिनसम्म केपी शर्मा ओली पक्ष र प्रचण्ड-माधव पक्षका नेताहरुवीच सहमति जुटाउने प्रयासहरु भइरहेका छन् ।

सचिवालय बैठकको अघिल्लो दिन मंगलबार बिहान खुमलटार पुगेर महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

भेटमा के कुराकानी भयो भन्नेबारे नखुलाइए पनि पार्टीभित्र देखिएको द्वन्द्व कसरी समाधान गर्ने भन्नेबारे छलफल भएको स्रोतले बताएको छ । बुधबार बस्ने बैठकका एजेण्डाहरु के-के तय गर्ने भन्नेबारे कार्यकारी अध्यक्ष र महासचिववीच छलफल भएको स्रोतले अनलाइनखबरलाई बतायो ।

पार्टीको विधानअनुसार अध्यक्षको परामर्शमा महासचिवले बैठकको कार्यसूची तयार पारेर बैठकमा पेश गर्नुपर्ने हुन्छ । शुक्रबारको बैठकमा प्रचण्डले राजनीतिक प्रस्ताव प्रस्तुत गरे पनि ठोस कार्यसूची तयार गर्न बाँकी रहेको र बुधबारको बैठकमा महासचिवले ठोस कार्यसूची बनाई त्यसमाथि छलफल हुने स्रोतले बतायो ।

नयाँ लेनदेनको खोजी

शुक्रबारको सचिवालय बैठकमा केपी ओलीको पत्र, त्यसको जवाफमा प्रचण्डको प्रत्युुत्तर पत्र र  सचिवालय बैठकमा केपी ओलीमाथि थप आरोपहरु लगाउँदै कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेको प्रस्तावका कारण नेकपाभित्रको अन्तरविरोध नयाँ मोडमा पुगेको छ । अध्यक्षद्वयवीचको अन्तरविरोध शत्रुतापूर्ण चरणमा पुगेका कारण बुधबार बस्ने भनिएको सचिवालय बैठकलाई धेरैले चासोका साथ हेरेका छन् । बैठक वीचैमा स्थगित हुने हो कि भन्ने आशंका पनि नेकपा नेताहरुले गरिरहेका छन् ।

शुक्रबारको बैठकमा आफूमाथि प्रचण्डले कडा आरोपहरु लगाएपछि प्रधानमन् त्री ओली विभिन्न परामर्शमा सक्रिय बने । प्रधानमन्त्रीले शनिबार बालुवाटारमा उपाध्यक्ष वामदेव गौतमसँग डेढघण्टा छलफल गरे ।

वामदेवसँगको छलफललगत्तै प्रधानमन्त्री ओलीले शनिबार नै बालुवाटारमा वरिष्ठ नेता माधवकुमार नेपालसँग करिब दुईघण्टा कुराकानी गरे । नेता नेपालसँगको कुराकानीमा महासचिव विष्णु पौडेल पनि समभागी थिए ।

गौतम र नेपालका अतिरिक्त प्रधानमन्त्री ओलीले चारदिन यता आफू निकटका नेताहरुसँग पनि पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरेका छन् । र, यही छलफलको निचोड अनुसार प्रधानमन्त्री ओलीको सन्देश लिएर महासचिव विष्णु पौडेल मंगलबार बिहान प्रचण्डलाई भेट्न खुमलटार पुगेको स्रोतले बतायो ।

उच्च स्रोतका अनुसार नेकपाभित्र अब ओली र प्रचण्डवीच मेलमिलाप गराउने र यसका लागि कुनै उच्चस्तरको ‘राजनीतिक लेनदेन’ हुन सक्ने सम्भावना नजिकिएको छ ।

कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो राजनीतिक प्रस्तावमा अब केपी ओलीले आत्मालोचना गर्ने र त्याग देखाउने बेला आएको बताएका छन् ।

तर, प्रधानमन्त्री ओली भने आफूले राजीनामा नदिने र प्रचण्डले लगाएका आरोपहरुको जवाफ नदिने अडानमा छन् ।

तथापि बाहिर दुवै नेताहरुले आ-आफ्नो अडान व्यक्त गरे पनि भित्रचाहिँ कुनै न कुनै लेनदेनमा गएर समाधान खोज्ने प्रयास भइरहेको स्रोतले बतायो । यद्यपि मंगलबार दिउँसोसम्म नेकपाभित्र त्यस्तो कुनै सहमति भने जुटिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment