Comments Add Comment

ओली सरकार विघटन भए लोकतन्त्रमा असर पर्छ : मसाल

२ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले केपी ओली नेतृत्वको सरकारको स्थायित्वमा जोड दिएको छ । सत्तारुढ नेकपामा फुट भएमा वा यो सरकार विघटन भएमा त्यसको दुष्परिणाम लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षतामाथि पर्ने र प्रतिगमनलाई फाइदा पुग्ने मसालको ठहर छ ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेकपाभित्रको अन्तरसंघर्षको परिणामस्वरुप नेकपामा फुट हुन्छ वा त्यसको सरकारको विघटन हुन्छ भने त्यसको दुष्परिणाम लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र राजनीतिक स्थिरतामा पनि पर्ने सम्भावना रहनेछ ।’

सिंहले अगाडि भनेका छन्, ‘त्यस्तो हुन नदिनका लागि हामीले लगातार नेकपाको एकता तथा सरकारको स्थायित्वमा जोड दिंदै आएका छौँ र अहिले पनि हाम्रो त्यो नीति कायम छ ।’

महामन्त्री सिंहले लामो वक्तव्य जारी गर्दै भनेका छन्, ‘जुन तत्वहरुले गणतन्त्र वा धर्मनिरपेक्षतालाई खत्तम गर्न चाहन्छन्, उनीहरु नेकपाभित्र देखा परेको अन्तरसंघर्षबाट प्रसन्न नै भइरहेका छन् र उनीहरुले यो चाहन्छन् कि त्यो अन्तरसंघर्षको परिणामस्वरुप नेकपामा फुट होस् र त्यसको सरकारको विघटन होस् ।’

मसालद्वारा जारी विज्ञप्तिको पूर्णपाठ यस्तो छ–

 

१. आज हामीले सर्वप्रथम राष्ट्रिय जनमोर्चाका अध्यक्ष का.चित्रबहादुर के.सी.को स्वास्थ्यलाभको कामना गर्दछौँ । उहाँको स्वास्थ्य सुधार हुँदै गइरहेको छ र उहाँ छिट्टै स्वस्थ भएर अस्पतालबाट आउनु हुनेछ भन्ने हामीले विश्वास गरेका छौँ ।

२. नेपाल कम्युनिस्ट पार्टी(नेकपा)भित्र देखा परेको चरम प्रकारको अन्तरसंघर्षप्रति ने.क.पा.(मसाल)ले गम्भीर चिन्ता प्रकट गर्दछ । हाम्रो चिन्ताको विषय त्यसद्वारा, अर्थात् नेकपाको अन्तरसंघर्ष वा त्यसको परिणामस्वरुप देशको राजनीतिमा पर्न सक्ने सम्भावित असरप्रति नै हो । यदि नेकपाभित्रको अन्तरसंघर्षको परिणामस्वरुप नेकपामा फुट हुन्छ वा त्यसको सरकारको विघटन हुन्छ भने त्यसको दुष्परिणाम लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र राजनीतिक स्थिरतामा पनि पर्ने सम्भावना रहनेछ । त्यस्तो हुन नदिनका लागि हामीले लगातार नेकपाको एकता तथा सरकारको स्थायित्वमा जोड दिँदै आएका छौँ र अहिले पनि हाम्रो त्यो नीति कायम छ ।

३. जुन तत्वहरुले गणतन्त्र वा धर्मनिरपेक्षतालाई खतम गर्न चाहन्छन्, उनीहरु नेकपाभित्र देखा परेको अन्तरसंघर्षबाट प्रसन्न नै भइरहेका छन् र उनीहरुले यो चाहन्छन् कि त्यो अन्तरसंघर्षको परिणामस्वरुप नेकपामा फुट होस् र त्यसको सरकारको विघटन होस् । त्यो अवस्थामा यदि देश एक वा अर्को प्रकारले प्रतिगमनतिर जान्छ भने त्यसलाई उनीहरुले स्वागत नै गर्ने छन् र नेकपाको सरकारलाई अपदस्थ गराउन जोड दिनुका पछाडिको उनीहरुको मुख्य उद्देश्य पनि त्यही हो ।

४. तात्कालीन एमाले र माओवादी केन्द्रका बीचमा भएको पार्टी एकतालाई हामीले स्वागत गरेका थियौँ । त्यो बेला हामीले यो पनि स्पष्ट गरेका थियौँ कि त्यो एकता कम्युनिस्ट एकता थिएन र त्यो एकताद्वारा एकिकृत कम्युनिस्ट पार्टीको निर्माण पनि भएको थिएन । तैपनि चुनावका बेलामा उनीहरुका बीचमा भएको सहकार्य तथा संगठनात्मक एकताबाट प्रतिगमनमाथि विजय प्राप्त गर्न मदत पुगेको थियो । त्यसैले हामीले उनीहरुका बीचमा भएको चुनावी सहकार्य वा एकतालाई सकारात्मक रुपमा लिएका थियौँ र अहिले पनि त्यसलाई कायम राख्नुपर्ने आवश्यकतामा जोड दिन्छौँ ।

५. उनीहरुको एकताप्रति त्यसप्रकारको सकारात्मक दृष्टिकोण अपनाउनुको अर्थ हामीले उनीहरुलाई वा उनीहरुको सरकारलाई पुरै समर्थन गर्दछौँ भन्ने होइन । उनीहरुप्रतिको समर्थन विरोध र संघर्षका बीचको समर्थन हो । उनीहरुका सबै गलत नीति र कार्यशैलीहरुको हामीले दृढतापूर्वक र सम्झौताहीन प्रकारले विरोध गर्दै आएका छौँ र विरोध गर्दै जाने छौँ । उनीहरुको त्यसप्रकारका नीतिहरुका विरुद्ध हामीले आफ्नो स्वतन्त्र पहलकदमीमा संघर्ष गर्नुका साथै अन्य पक्षहरुसित पनि समान समझ्दारीका आधारमा विरोध गर्ने हाम्रो नीति रहँदै आएको छ र आउने दिनहरुमा पनि त्यसप्रकारको नीतिलाई अगाडि बढाउने हाम्रो प्रयत्न हुनेछ ।

६. नेकपाभित्र व्यक्तिगत रुपमा एक–अर्कालाई निम्नस्तरका गालीगलौजसम्म गर्ने जुन प्रवृत्ति देखा परेको छ, त्यसका लागि हामीलाई दुःख लागेको छ । त्यसप्रकारको प्रवृत्ति नेपालको राजनीति र स्वयम् कम्युनिस्ट आन्दोलनमा पनि देखा परेको निम्न सांस्कृतिक स्तरको परिणाम हो । हाम्रो पार्टी पनि त्यसप्रकारको गालीगलौज वा चरित्रहत्याकोे धेरैपल्ट शिकार भएको छ । गतकालमा स्वयं अहिलेको नेकपाका विभिन्न घटकहरुले अत्यन्त तल्लोस्तरमा उत्रेर गालीगलौजद्वारा हामीमाथि आक्रमण गर्ने गरेका छन् । त्यही प्रकारको संस्कृति अहिले नेकपाको शीर्षस्थ नेतृत्व तहमा पनि पुनरावृत्ति भएको छ । तर हामीले यो दाबी गर्दछौँ कि हाम्रो पार्टी कहिले पनि त्यसप्रकारको निम्नस्तरको राजनीतिक–सांस्कृतिक धरातलमा उत्रने गरेको छैन । यस सन्दर्भमा यो कुुरा पनि स्पष्ट हुनुपर्दछ कि दक्षिणपन्थी, उग्र“वामपन्थी”, “मध्यपन्थी”, गद्दार, राजापरस्त, काँग्रेसपरस्त, सोभियत संशोधनवादी, चिनीयाँ संशोधनवादी, भारतपरस्त आदि राजनीतिक शब्दहरु हुन् र तिनीहरुलाई व्यक्तिगत गालीगलौज वा चरित्रहत्याका आक्षेपहरुका रुपमा लिनु सही हुने छ्र्रैन । हाम्रो पार्टीका करिब साढे ६ दशकका दस्तावेज, लेख वा वक्तव्यहरुको अध्ययन गर्ने हो भने तिनीहरुमा कसैलाई पनि गालीगलौज गरेको, व्यक्तिगत आक्षेप लगाएको वा चरित्रहत्या गरेको एउटा पनि शब्द पाइने छैन, यद्यपि हाम्रा विरुद्ध त्यसप्रकारको गालीगलौज वा चरित्रहत्याको साहित्यको प्रचुरता छ । हाम्रो पार्टीका विरुद्ध अहिले पनि कतिपय पक्षहरुले त्यसरी निम्नस्तरमा उत्रेर हमला गर्ने गरेका कैयौं उदाहरणहरु पाइन्छन् । हाम्रा अगाडि त्यसप्रकारका निम्नस्तरका आक्षेपहरु लगाउनेहरुका विरुद्धको जवाफमा पनि हामीले त्यसप्रकारको आरोप लगाउने गरेका छैनौँ । हाम्रो पार्टीको त्यसप्रकारको गौरवपूर्ण सांस्कृतिक धरातलबाट अन्य पक्षहरुले पनि शिक्षा लिनुपर्दछ ।

७. नेकपाभित्र चलेको अन्तरसंघर्षको मुख्य कारण यो हो कि त्यसमा एउटा कम्युनिस्ट पार्टीको जस्तो कुरा परै छ– त्यो कम्युनिस्ट पार्टी नै नभएको कारणले त्यसले त्यसप्रकारको पद्धति अपनाउन नसक्ने कुरा प्रष्ट छ– एउटा बुर्जुवा प्रजातान्त्रिक पार्टीको जस्तो संगठनात्मक पद्धति पनि अपनाउन सकेको छैन । अधिनायकवादी वा निरङ्कुश प्रणालीहरुमा भन्दा बेग्लै एउटा प्रजातान्त्रिक पार्टीले सँधै नै बहुमतको निर्णयलाई मानेर काम गर्नुपर्दछ । तर नेकपाभित्र त्यो पद्धतिले काम गर्न छाडे जस्तै देखिन्छ । कुनै पार्टीमा कैयौँ प्रकारका गम्भीर मतभेदहरु उत्पन्न हुन सक्दछन् । तर तिनीहरुलाई समाधान गर्ने वा एकता कायम गर्ने आधारभूत नियम भनेको बहुमतको प्रणाली नै हो । त्यो कडी टुटेपछि कुनै पार्टी या त अधिनायकवादतिर जान्छ, या विश्रृंखलित हुन्छ । आज नेकपा त्यही प्रकारको स्थितिको संघारमा उभिएको छ । त्यसप्रकारको पृष्ठभूमिमा उनीहरुको एकता बचाउनका लागि बहुमतीय प्रणाली भन्दा अरु कुनै विकल्प छैन । सम्भव भएसम्म आपसमा सहमति कायम गरेर काम गर्नु सबैभन्दा श्रेष्ठ विधि हो । सहमति नभएको अवस्थामा बहुमतीय प्रणालीद्वारा नै आफ्ना मतभेदहरुका बीचमा एकता कायम गर्ने नीति अपनाउनुपर्दछ ।

८. नेकपाभित्रका हद नाघेर आपसमा संघर्ष गरिरहेका पक्षहरुले आपसका अन्तर्विरोध भन्दा बढी यो कुराप्रति ध्यान दिनुपर्दछ ः उनीहरुको बीचमा फुट भयो भने त्यसबाट देशको राजनीतिमा कुन प्रकारका दुष्परिणामहरु हुनेछन् ? खालि देशको राजनीतिमा मात्र होइन, त्यो स्थितिमा स्वयम् उनीहरुको लागि पनि सांघातिक प्रकारले ठूलो क्षति पुग्ने छ, शायद पुनः कहिल्यै उठ्न नसक्ने गरेर । त्यसप्रति उनीहरुको ध्यान जानुपर्ने आवश्यकता छ । उनीहरुको बीचमा फुट भयो भने त्यसलाई उपयोग गर्न बिभिन्न देशी र विदेशी प्रतिक्रियावादी वा साम्राज्यवादी शक्तिहरु पनि अगाडि आउन सक्नेछन् वा त्यसप्रकारका कतिपय शक्तिहरुले फुट्नका लागि उनीहरुलाई प्रोत्साहित गरिरहेको सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । उनीहरुलाई एक वा अर्को प्रकारले दिने कुनै पनि मदतको पछाडि उनीहरुलाई आफ्ना प्रतिक्रियावादी वा साम्राज्यवादी स्वार्थका लागि उपयोग गर्नु नै हुन्छ । त्यसैले त्यसप्रकारको कुनै पनि मदत सम्पूर्ण देश र जनता वा स्वयम् उनीहरुका लागि पनि आत्मघाती नै सावित हुनेछ । हामीले आशा गर्दछौँ, आपसमा त्यसप्रकारका मतभेदहरुका कारणले उनीहरुले कुनै अदूरदर्शी नीति अपनाउने छैनन् ।

९.आज देशका अगाडि भएका गम्भीर र जटिल समस्याहरुप्रति हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ, प्रथम, देशमा राजावादीहरुको सक्रियता बढेर गएको छ । बताइरहनुपर्ने आवश्यकता छैन कि उनीहरुले गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गरेर राजतन्त्रको पुनस्र्थापना गर्न र नेपाललाई हिन्दूराष्ट्र बनाउन चाहन्छन् । त्यसका पछाडि भारतीय साम्राज्यवादी वा त्यहाँका कट्टर हिन्दूवादीहरुको सरकारले पनि मदत गरिरहेको कुरा बुझ्न गाह्रो पर्दैन । द्वितीय, हाम्रा अगाडि लिपुलेक, कालापानी र लिम्पियाधुराको समस्या गम्भीर रुपमा देखा परेको छ । भारतले त्यो भूमिलाई आफ्नो भएको दावी गरेको छ र त्यसको पक्षमा नेपाल सरकारलाई पनि झुकाउन पुरै दबाव दिने कुरा अनुमान गर्न गाह्रो पर्दैन । तृतीय, भारतीय साम्राज्यवादले चीनसितको नेपालको सम्बन्धलाई कमजोर पार्नका लागि पुरै दबाव दिने सम्भावनालाई अस्वीकार गर्न सकिन्न । चीन पनि साम्राज्यवादी देश हो । तैपनि भारतीय साम्राज्यवादका हस्तक्षेपका विरुद्ध सन्तुलन कायम गर्नका लागि त्यससितको मैत्रिक सम्बन्धले हाम्रा लागि रणनीतिक महत्व राख्दछ । चतुर्थ, देशमा कोरोना भाइरसले महामारीको रुप लिंदै गइरहेको छ । त्यसले तात्कालीन रुपमा मात्र होइन, दीर्घकालीन रुपमा पनि ठूलै नोक्सान पु¥याउने कुरा स्पष्ट छ । त्यो अवस्थामा नेकपा वा त्यसको सरकारले यी वास्तविकताप्रति ध्यान दिएर पनि आफ्ना बीचका अन्तरविरोधहरुबारे वस्तुगत र सन्तुलित दृष्टिकोण अपनाउनुपर्ने आवश्यकतामा हामीले मैत्रीपूर्ण सल्लाह दिन चाहन्छौँ ।

१०. अन्तमा हामीले अमेरिकाको राष्ट्रपतिको चुनाव र त्यसपछिको स्थितिबारे पनि केही चर्चा गर्न चाहन्छौँ । त्यहाँ चुनावमा पराजयपछि पनि राष्ट्रपति ट्रम्पले आफ्नो हार स्वीकार गरेका छैनन् र सत्तामा अडिरहने वा दोस्रो काल प्रारम्भ गर्ने प्रकारका अभिव्यक्तिहरु दिइरहेका छन् । त्यसबाट राजनीतिक महत्वका २ वटा कुराहरु प्रष्ट हुन्छन् ः प्रथम, पाश्चात्य प्रजातान्त्रिक प्रणाली वास्तवमा कति खोक्रो रहेछ ? त्यो प्रष्ट भएको छ । एकातिर, त्यहाँ ट्रम्पले भनेजस्तो व्यापक रुपले धाँधली भएको भए पनि वा त्यहाँको मतदान सही प्रकारले भएर ट्रम्पले सत्ता छाड्न अस्वीकार गरेको भएपनि दुबै अवस्थामा त्यहाँको प्रजातन्त्रको दिवालियापनलाई नै बताउँछ । द्वितीय, ट्रम्पको आफ्नोे शासनकाल र चुनावपछिको व्यवहारबाट पनि राष्ट्रपतीय प्रणाली गम्भीर प्रकारले त्रुटिपूर्ण भएको कुरा नै प्रष्ट हुन्छ । अमेरिका जस्तो प्रजातान्त्रिक प्रणालीको लामो पृष्ठभूमि भएको देशमा त्यसप्रकारको स्थिति राष्ट्रपतीय प्रणाली अन्तर्गत उत्पन्न हुन सक्दछ भने नेपाल जस्तो प्रजातान्त्रिक अभ्यास अत्यन्त कम भएको देशमा राष्ट्रपतीय प्रणाली कायम भएमा त्यसले स्वेच्छाचारी वा अधिनायकवादी रुप लिने कुुरामा कुनै शङ्का छैन । त्यसकारण हामी नेपालीहरुले अमेरिका समेतको अनुभबबाट शिक्षा लिएर देशमा राष्ट्रपतीय प्रणाली कायम गर्ने कुनै पनि प्रकारको सोचाइहरुलाई दृढतापूर्वक अस्वीकार गर्नुपर्दछ ।

२०७७ मंसीर २ गते ।

मोहनविक्रम सिंह

महामन्त्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment