Comments Add Comment

प्रचण्डलाई ‘फकाउने’ प्रयास जारी

२ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कात्तिक २५ गते प्रचण्डलाई लेखेको १० पन्ने पत्रको अन्त्यमा भनेका थिए, ‘कमरेड प्रचण्डले मलाई बेलाबेलामा भन्ने गर्नुहुन्छ- मलाई फकाउनुस् न, म फकिने मान्छे, फकिन्छु नि ! कसरी र के भन्दा कमरेड फकिनुहुन्छ ? भन्नुस् न त !’

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रचण्डलाई फकाउन तयार रहेको बताउँदै पत्रको बिट मारेका थिए, ‘मुलुकको समृद्धिका लागि, जनताको खुसहालीका लागि, नेपाली कम्युनिस्ट आन्दोलनको अग्रगतिका लागि पार्टीलाई थप सुदृढ गर्नका लागि … हुन्छ । म तपाईंलाई फकाउन तयार छु । ल मैले फेरि फकाएँ… आउनुस् गुटबन्दी र दाउपेच छाडौं, हाम्रो यो प्यारो पार्टीलाई एकजुट बनाऔँ ।’

आफूलाई फकाउन तयार रहेको प्रधानमन्त्री ओलीको पत्रको जवाफमा कार्यकारी अध्यक्ष प्रचण्डले कात्तिक २८ गते लेखेको ७ पन्ने जवाफी पत्रमा यसो भनिएको थियो, ‘नयाँ आधारमा नयाँ एकता कायम गर्दै देश, जनता, पार्टी र आन्दोलनलाई नयाँ एकताका लागि कमरेडले थोरै मात्र आत्मसमीक्षा, आत्मालोचना र त्यागको स्पिरिट देखाउनुभयो भने त्यो ठूलो कुरा हुनेछ । मेरो विचारमा यो सबैका निमित्त थोरै त्याग गर्ने पालो तपाईंको छ । त्यति भएमा तपाईको पत्रको अन्तिममा भनेझैं न सजिलै फकिने छु ।’

केपी शर्मा ओली र प्रचण्डवीच बाहिर जतिसुकै भनाभन भए पनि शुक्रबारको बैठकयता ‘फकिने’ र ‘फकाउने’ सिलसिला भित्रभित्रै चलिरहेको छ । नेताहरुका अनुसार मंगलबार बिहान खुमलटारमा भएको महासचिव विष्णु पौडेल र प्रचण्डवीचको भेट अनि साँझ शीतल निवासमा भएको राष्ट्रपति र प्रचण्डवीचको भेटवार्ता त्यही फकाउने/फकिने सिलसिलाको कडी हो ।

शुक्रबारको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले अप्रत्याशित रुपमा केपी ओलीमाथि प्रहार गर्दै राजनीतिक प्रस्ताव र व्यक्तिगत पत्र दर्ज गराएपछि प्रधानमन्त्री ओली आक्रोशित र अचम्मित बनेका थिए । यही आक्रोशका वीच प्रधानमन्त्रीले बैठक सकिनासाथ माधव कुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र विष्णु पौडेललगायतका नेताहरुसँग छुटट्ै छलफल गरे । र, अब प्रचण्डसँग सँगै हिँड्न नसकिने स्थितिको आँकलन गरे । तर, माधव नेपाल र वामदेव गौतमले समस्या केपी ओलीभित्रै रहेको बताएपछि उनी निरुत्तरित जस्तै देखिए ।

भोलिपल्ट शनिबारसम्म प्रधानमन्त्री ओली प्रचण्डलाई फकाउने ‘मुड’मा थिएनन् । शनिबार दिँउसो ओलीले उपाध्यक्ष वामदेव गौतमलाई बालुवाटारमा बोलाएर डेढ घण्टा एक्लाएक्लै छलफल गरे । तर, त्यो छलफलमा पनि उपाध्यक्ष गौतमले प्रचण्डलाई फकाएर अघि बढ्नुको विकल्प प्रधानमन्त्रीलाई सुझाए ।

वामदेव गौतमसँगको छलफलपछि प्रधानमन्त्री ओलीले शनिबार बै बालुवाटारमा बरिष्ठ नेता माधवकुमार नेपालसँग दुईघण्टा छलफल गरेका थिए । सो छलफलमा पनि बरिष्ठ नेता माधव नेपालले प्रचण्डलाई समेत विश्वासमा लिएर अघि बढ्नुको विकल्प नरहेको पुरानो अडान दोहोर्‍याए । हुन त सो भेटमा प्रधानमन्त्री ओलीले प्रचण्डविरुद्ध आक्रोश नै पोखेका थिए ।

तर, आइतबार र सोमबार तिहार सकिनासाथ प्रधानमन्त्री ओली आफूले पत्रको अन्त्यमा लेखेजस्तै जसरी हुन्छ, प्रचण्डलाई फकाउने अन्तिम कसरतमा जुट्ने निश्कर्षमा पुगेको देखिएको छ । र, प्रधानमन्त्रीको त्यही संकेतका आधारमा महासचिव विष्णु पौडेल र राष्ट्रपछि विद्यादेवी भण्डारी प्रचण्डलाई ‘फकाउन’ जुटेका छन् ।

प्रचण्ड पक्षको ‘बटमलाइन’

प्रचण्डले केपी ओलीलाई लेखेको पत्रमा आफूलाई ‘फकाउनका लागि’ प्रधानमन्त्री ओलीले ‘आत्मसमीक्षा, आत्मालोचना र त्यागको स्पिरिट’ देखाउनुपर्ने बताएका छन् । प्रचण्डले भनेका छन्, ‘यो सबैका निमित्त थोरै त्याग गर्ने पालो तपाईंको छ…’

व्यक्तिगत पत्रमा जस्तै प्रचण्डले आफ्नो १९ पन्ने राजनीतिक प्रतिवेदनमा पनि प्रधानमन्त्री ओलीले त्याग देखाउने बेला आएको बताएका छन् । प्रचण्डले राजनीतिक प्रस्तावको अन्त्यमा भनेका छन्, ‘म आशा गर्दछु कि कमरेड केपी ओलीले प्रमुखरुपमा गम्भीर आत्मसमीक्षा र आत्माआलोचना गर्दै पार्टी एकता र संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवं देशको निर्माणमा आवश्यक त्यागसहित पहल लिई समुचित योगदान गर्नुहुनेछ ।’

कार्यकारी अध्यक्ष प्रचण्डले पत्र र राजनीतिक प्रस्ताव दुबै ठाउँमा उल्लेख गरेको त्यो ‘थोरै त्याग’ वा ‘आवश्यक त्याग’ भनेको के हो ? लिखतमा यसको स्पष्ट व्याख्या गरिएको छैन ।

राजनीतिक प्रस्तावको मध्यभागमा प्रचण्डले अब पदीय भागवण्डाले मात्रै समस्याको समाधान नहुने उल्लेख गर्दै भनेका छन्, ‘गम्भीर र जटिल समस्याहरुको सामना अब स-साना प्राविधिक जोडघटाउ वा पदीय भागवण्डाबाट गर्न असम्भव छ । यसका निमित्त वैचारिक-राजनैतिक कार्यदिशा, संगठनात्मक विधि-पद्धति र कम्युनिष्ट आचरणका बारेमा गम्भीर समीक्षासहित समुचित निकास खोज्नु अनिवार्य छ ।’

प्रचण्डका यी भनाइहरुले अब नेकपाभित्र सामान्य पदीय भागवण्डा मात्र होइन, केपी ओलीले त्याग देखाउनुपर्ने विकल्प नरहेेको संकेत गर्दछ । नेकपा नेताहरुबाट अनुसार सम्भवतः त्यो त्याग भनेको अब केपी ओलीले प्रधानमन्त्री र अध्यक्षमध्ये कुनै एक पद छाड्नुपर्ने वा दुबै पद छाड्नुपर्ने हुन सक्छ ।

वामदेव गौतमलगायतका नेताहरुले प्रचण्डद्वारा सचिवालयमा प्रस्तुत प्रस्ताव प्रचण्डको मात्रै नभएर पाँचै जना नेताहरुको साझा भएको बताएका छन् । यसको अर्थ प्रचण्डले गरेको माग भनेको प्रचण्ड-माधव नेपाल पक्षको साझा ‘बटमलाइन’ हो ।

प्रचण्डलाई फकाउने ओली पक्षको रणनीति

नेकपामा उत्पन्न जटिल परिस्थितिको सामनाका लागि प्रधानमन्त्री ओली पक्षका नेताहरुले कहिले प्रचण्ड खेमालाई माधव नेपालहरुबाट छुटाएर आफूसँग नजिक ल्याउने त कहिले माधव नेपाल- वामदेवलाई फकाएर पूर्वमाओवादी खेमालाई कमजोर पार्ने रणनीति अपनाएको देखिन्छ । तर, मंगलबार साँझसम्म आइपुग्दा प्रचण्ड-माधव- वामदेवको गठबन्धन टुटाउन ओली पक्ष सफल भएको देखिँदैन ।

यो अवस्थामा ओली पक्षको अर्को रणनीति भनेको बुधबार दिउँसो बस्ने भनिएको सचिवालय बैठक केही दिनका लागि पछाडि धकेल्नु हो । तर, आफ्नो समेत सहमतिमा तोकिएको बैठक स्थगन गर्न माधव-प्रचण्ड पक्ष सहमत देखिएन ।

आफ्नै सहमतिमा बोलाइएको बैठक बहिस्कार गर्न ओली पक्षलाई सजिलो छैन । त्यसैले बुधबार सचिवालय बैठकचाहिँ बस्ने तर त्यहीँबाट अर्को दिनलाई सार्ने रणनीति ओली पक्षले लिएको देखिन्छ । प्रचण्ड-माधव पक्षचाहिँ बुधबारको बैठकमा प्रचण्डको प्रतिवेदनमाथि छलफल हुनुपर्ने, नभए स्थायी कमिटी बैठकको मिति तय हुनुपर्ने पक्षमा देखिएको छ ।

यस्तो अवस्थामा अब प्रचण्डलाई फकाउनका लागि प्रधानमन्त्री ओलीसँग दुईवटा ‘कार्ड’ बाँकी रहेको सूत्रहरु बताउँछन् ।

एउटा कार्ड हो- प्रधानमन्त्री पद आफैंले राखेर अध्यक्ष पदचाहिँ माधव नेपाललाई सुम्पने ।

र, अर्को कार्ड हो – अबको एक वर्ष केपी ओली नै पार्टी र सरकार प्रमुखमा रहने र अर्को वर्षदेखि चुनावी सरकारको नेतृत्व प्रचण्डलाई सुम्पने । र, महाधिवेशनपछि पार्टीको अध्यक्ष बनाउन आश्वस्त पार्ने ।

यति गर्दाखेरि प्रचण्ड फकिन सक्ने र नेकपाको एकता जोगिने ओली पक्षको बुझाइ रहेको नेकपाको उच्च स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment