
३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीको समस्या स्थायी कमिटीमा लानु भन्दा सचिवालयकै नेताहरुले हल गर्नुपर्ने बताएका छन् ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको सचिवालय बैठकमा स्थायी कमिटी बैठक बोलाउनेबारे छलफल हुँदा महासचिव पौडेलले त्यसमा विमति जनाए ।
स्थायी कमिटीबाट समस्या समाधान खोज्ने कुराले सचिवालयका नेताहरुको सामर्थ्यमाथि प्रश्न उठ्ने पौडेलले बैठकमा बताए । ‘के हामी सचिवालयका नेताहरु काम नलाग्ने भइसक्यौं ?’ महासचिव पौडेलले प्रश्न गरे ।
महासचिव पौडेलले दुई अध्यक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड) बीच सहमतिको विकल्प नरहेको बताउँदै आएका छन् । पार्टी बैठक बस्नुअघि दुई अध्यक्षबीच सहमति जुटाउनुपर्नेमा जोड दिँदै आएका महासचिव पौडेलले स्थायी कमिटी बैठक बोलाउनेबारे सचिवालय सदस्यहरुको औचित्यबारे प्रश्न उठाएका हुन् । यद्यपि, बुधबार बसेको सचिवालय बैठकले मंसिर १८ मा स्थायी कमिटीको बैठक बोलाउने सर्वसम्मत निर्णय गरेको छ ।
(नोट– यसअघिको समाचारमा महासचिव पौडेलले सचिवालयका नेताहरुले सामुहिक राजीनामा दिनुपर्ने प्रस्ताव गरेको भन्ने व्यहोरो पर्न गएकोमा भुलसुधारसहित सच्याइएको छ– सं )
प्रतिक्रिया 4