Comments Add Comment

गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न विलम्ब गर्नु हुँदैन : प्रभु साह

३ मंसिर, रौतहट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष तथा सांसद प्रभु साहले गौर हत्याकाण्डमा संलग्न दोषीलाई कारबाही गर्न विलम्ब गर्न नहुने बताएका छन् ।

रौतहटको बौधीमाई नगरपालिका-४, इनरवारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका साहले रौतहटको कलंकको रुपमा राजपुर बम काण्ड र गौर हत्याकाण्ड रहेको बताए । उनले राजपुर बम काण्डको पीडितले न्याय पाउने स्थिति रहेको तर गौर हत्याकाण्डमा संलग्न अपराधी खुलेआम घुम्नु दुःखद् रहेको बताए । हत्याकाण्डका योजनाकार तथा हत्याराविरुद्ध जाहेरी दर्ता भएको वर्षौं बितिसक्दा पनि पीडित न्यायको पर्खाइमा रहेको भन्दै नेता साहले अपराधीलाई कारबाही गरी रौतहटमाथि लागेको कलंक हटाउन माग गरेका हुन् ।

घटनाको छानबिनका लागि गठन गरिएको आयोगसमेतले अपराधीहरुको बारेमा स्पष्ट प्रमाण दिइसकेको वर्षौं बितिसकेकोले अब हत्याराहरुलाई जेल हाल्नुको विकल्प नरहेको नेता साहको भनाइ थियो । “दुई काण्डका कारण रौतहटको नाममा ठूलो कलंक लागेको छ । एउटा राजपुर बम काण्ड र अर्को गौर हत्याकाण्ड । राजपुर बम काण्डको छिनोफानो त भैसक्यो तर गौर हत्याकाण्डको पीडितले न्याय पाउन बाँकी छ,” नेता साहले भने, “यहाँ जाहेरी दर्ता भएको छ, तत्कालिन न्यायाधीशको नेतृत्वमा गठित आयोगले प्रतिवेदन दिइसकेको छ । त्यसैले यस्तो अमानवीय र विभत्स हत्याकाण्डका दोषीलाई उन्मुक्ति दिएर कानुनी शासन बहाली हुँदैन । गौर हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याउनुपर्छ र पीडित पक्षले न्याय पाउनुपर्छ।“

घटनाको १४ वर्ष बिति सक्दा पनि पनि न्यायका लागि गुहार्नुपर्ने र दोषीलाईलाई कारबाही नहुने अवस्था आउनु दुःखद् रहेको उनले बताए ।

२०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राईसमिलमा तत्कालीन नेकपा माओवादीका २७ जना कार्यकर्ताको हत्या गरिएको थियो । हाल जसपाका अध्यक्ष रहेका तत्कालीन मधेशी जनअधिकार फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको योजनामा उक्त हत्याकाण्ड भएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता भएको थियो । तर मुद्दा अहिले विचाराधीन अवस्थामा रहेकोले न्यायका लागि पीडितहरु गुहार्दै आएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment