
४ मंसिर, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या दुई लाख ५० हजार नाघेको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म अमेरिकामा कोरोनाबाट दुई लाख ५० हजार ४८५ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या पनि एक करोड १५ लाख नाघेको छ ।
संक्रमित संख्या वा मृतक संख्याको आधारमा अमेरिका कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक हो । पछिल्लो समय अमेरिकामा पुनः कोरोना संक्रमित तथा मृतकको संख्या बढ्न थालेको छ ।
अमेरिकाका वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले अहिले निकै महत्वपूर्ण समयमा अमेरिका गलत बाटोमा अघि बढिरहेको बताएका छन् । उनले आगामी दिनमा अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्यामा वृद्धि हुन सक्ने चेतावनी दिएका छन् ।
उनले मानिसहरुलाई अब केही समय धैर्य गरेर स्वास्थ्य सुरक्षाको मापदण्डहरु पालना गर्न आग्रह गरेका छन् । उनले कोरोनाविरुद्ध लड्नको लागि खोप सहयोगीको रुपमा आउन लागेको बताएका छन् ।
अमेरिकाको न्युयोर्क सहरमा पछिल्लो समय पुनः कोरोना संक्रमण बढेसँगै बिहीबारदेखि विद्यालयहरु बन्द गरिएको छ ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4