Comments Add Comment
संस्कृति-वार्ता :

‘छठमा बजार हाबी भयो, नाटकमा पश्चिम’

चर्चित संस्कृतिविद एवं रंगकर्मी रमेशरञ्जन झा यसवर्ष छठको समयमा गृहजिल्ला धनुषा नगई काठमाडौंमै छन् । कोरोनाका कारण दुरी कायम गरेर छठ मनाउन सुझाव दिने उनी बजारीकरणले गर्दा छठको मौलिकता हराउँदै गएकोमा चिन्तित छन् ।

धनुषामा जन्मेका झा मैथिलीसँगै नेपाली, हिन्दी, भोजपुरी र अंग्रेजीमा दख्खल राख्छन् । उनी २०६७ देखि २०७४ सम्म दुई कार्यकाल संगीत-नाट्य प्रज्ञा प्रतिष्ठानका नाट्य विभाग प्रमुख रहे । रंगमञ्च र साहित्यसँगै सांस्कृतिक खोज र अनुसन्धानमा पनि उनको योगदान छ । मैथिली भाषा-संस्कृतिको उत्थानका लागि उनको योगदान छ । अहिले उनी युनेस्को नेपालको सांस्कृतिक विभाग प्रमुख छन् । सिने कलाकार, साहित्यकार एवं सांस्कृतिक अध्येताको परिचय बनाएका झाका दुई कविता संग्रह, दुई नाटक र उपन्याससहित आठवटा पुस्तक प्रकाशित छन् ।

छठ पर्वको अवसरमा झासँग छठको सांस्कृतिक विशिष्टता, मैथिली भाषा साहित्यको अवस्था अनि नेपाली नाटकको वर्तमान अवस्थाबारे अनलाइनखबरकर्मी निर्भीकजंग रायमाझीले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ –

नेपाली मिडियामा दसैं र तिहारको जति चर्चा परिचर्चा हुन्छ, छठको चर्चा अलि कमै हुने गरेको छ । मिथिला सभ्यताको मौमिक छठको सांस्कृतिक महत्व के छ ?

छठ पर्वको अन्तर्य प्रकृतिको उपासना हो । मूर्तिपूजा प्रारम्भ हुनुभन्दा अघिको जीवित स्वरूप ‘छठ’ हो । यो चाडका सबैकुरा प्रकृतिसँग सम्बन्धित छन्, जहाँ मानव जीवन रक्षाका लागि सूर्य, जल आदि प्राकृतिक शक्तिको पूजा गरिन्छ ।

छठ ऋग्वेदकालीन चाड हो । मनुष्यले सुरु गरेको पूजा परम्पराको पुरानो स्वरुप छठ पर्व हो । सूर्य त्यहीँ छ, सरोवर त्यहीँ छ । आखिर हामी नदी सभ्यताबाट आएका हौं । यसैले सरोबरमा टेकेर (जलाशय) रहेर सूर्यको पूजा गर्ने कुरा अर्थपूर्ण छ ।

छठमा गाइने विशेष गीत वा भजन कस्ता हुन्छन् ?

स्थानविशेष अनुसार आ-आफ्नै प्रकारले छठमा गीत गाइन्छ । जस्तो :

उ जे केरबा फरल घओद से
ओइपर सुगा मडराए ।
मारबौ रे सुगबा धनुष से
सुगा गीरे मुरछाय ।
सुगनी जे रोअले वियोग से
उदित होइयौ ने सहाय ।।

यो लोकगीतको अर्थ के हुन्छ भने, केरा बोटमा फलेको छ, त्यसमाथि सुगा चक्कर काट्दैछ, जूठो पार्नलाई, सुगालाई धनु बाणले प्रहार गर्दा सुगा मूर्छित भएर लड्यो, सुगनी सुगाको वियोगमा रोइरहेकी छिन्, सूर्य देव कृपा गर्नुहोस् ।

यो गीतको पृष्ठभूमि के हो भने छठी पर्वमा प्रयोग हुने चिज पवित्र हुनुपर्‍यो । कुनै चरा वा केहीले पनि जूठो गरेको हुनु भएन । अनि केही आपत पर्छ भने त्यसलाई सूर्यदेवले रक्षा गरून् ।

दसैं तिहारमा हुने तडक-भडकले गरीबलाई सताउने गरेको छ । छठमा पनि अन्य चाडपर्वमा जस्तै विकृति बढेको छ कि छैन ? तपाई‌ंलाई कस्तो लाग्छ ?

अचेल चाडपर्व मान्छेको सामथ्र्य देखाउने माध्यम भएको छ । पहिला व्यक्तिगत क्षमता देखाउने माध्यम विवाह, ब्रतबन्ध हुन्थ्यो । सामान्य आर्थिक अवस्था भएका मानिसलाई यी शुभकार्यले पिल्स्याउने सम्भावना हुन्थ्यो । अहिले त चाडपर्वमै पनि देखासिकी बढेको छ ।

हिजो छठ मनाउने सामग्री सबै स्थानीय उत्पादनबाटै पर्याप्त हुन्थ्यो । उखु, अदुवा, बेसार, ठकुवा (मिठाइ) बनाउने गहुँ, भुसवा बनाउने चामल र गुँढ सबै स्थानीय उत्पादन हुन्थे । भोगटे बारीमै पाइन्थ्यो । अर्थात् सबै हाम्रा खेतबारीमै उत्पादन हुने सामग्रीले छठ मनाउन पाइन्थ्यो । यसबाहेक छठ शिल्पी जातिसँग जोडिएको छ । यस जातिको जीवन रक्षा गर्न डुम जातिले बनाउने नाङ्लो, टोकरी, डाली उपयोग हुन्थ्यो । माटोका भाँडाकुँडा कुमालेले नै बनाउँथे ।

अहिले बजारीकरणले सबै कुरा आयात गर्नुपर्ने बाध्यता भएको छ । व्यापारिक दृष्टिमा यो सकारात्मक नै मान्न सकिएला । तर, स्थानीय समानभन्दा बाहिरको सामानमात्रै रोज्नु ठीक होइन । छठलाई प्रदर्शनको माध्यम बनाउने, देखासिकी गर्ने कामले बजारिया संस्कृति हाबी हुन्छ । यसले पर्वलाई बजारको नियन्त्रणमा लैजाने सम्भावन धेरै हुन्छ । त्यसपछि संस्कृति, रीतिथितिको प्रभावभन्दा बढी बजारले हाम्रो सोचमा असर गर्छ ।

हिजो स्थानीय उत्पादन साटासाटबाट आर्थिक विनिमय हुन्थ्यो । अहिले विश्वव्यापीकरणले गर्दा बजारवादको प्रधानता भयो । परम्परागत मिठाइलाई सहरका मिष्ठान्न भण्डारले विस्थापन गर्यो । भारतको दक्षिणमा उत्पादन हुने नरिवल हामीलाई नभई नहुने भयो ।

कोरोनाको विषम परिस्थितिमा छठ कसरी मनाउने ?

म चाडपर्व नमनाऔं भन्दिनँ । म आफैं पनि मिथिला सभ्यता र छठसँग जोडिएको छु । यसप्रति मेरो आस्था छ । तर, छठमा जसको पूजा-आराधना गर्छौं त्यो त हाम्रै जीवनरक्षाकै लागि हो । हामीले दुरी कायम गरेर आराधना गर्यौं भने सायद ईश्वर पनि खुसी हुन्छन् । आखिर जीवन रहृयो भने न चाडपर्व मनाउन सकिन्छ । म यसैले पूजा-आराधना गरौं तर, सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सचेतना पालना गरौं भन्ने अपील गर्दछु ।

अब एकछिन छठ पर्वको चर्चालाई यहीँनेर बिसाएर मिथिला सभ्यताको अर्को पाटोको चर्चा गरौं । तपाईं मैथिली भाषाको मातृभाषी र अध्येतासमेत हुनुहुन्छ । नेपाली साहित्यको मूल प्रवाहमा मिथिला साहित्यको स्थान के छ ?

मैथिली साहित्यको विरासत ठूलो छ । यो संसारमा बोलिने भाषामा ३८ औं स्थानमा पर्छ । सातौं शताब्दीदेखि सुरु भएको मैथिली भाषाको साहित्य समृद्ध मानिन्छ । त्यतिबेला पद्यको युग थियो । तर, गद्यमै लेखिएको पहिलो ग्रन्थ ‘वर्णरत्नाकर’ हो । यसका लेखक ‘धूर्त समागम’कै लेखक ज्योर्तिरिश्वर हुन् । दुवै ग्रन्थमा तत्कालीन समाजका विशिष्ट पक्ष लेखिएको छ । इतिहासको, भाषाको सबै कुरा छ यी ग्रन्थमा ।

राणा शासनअगाडि फलेफुलेको मैथिली साहित्यमा २००७ सालसम्म एउटा कविता पनि लेखेको देखिँदैन । यो आश्चर्य छ । फेरि २००८ देखि नाटक लेखिएको पाइयो । शासनको बल त्यस्तो हुने रहेछ । शासनको आतंक यहीँबाट पुष्टि भयो नि । अहिले जनस्तरबाट मैथिलीमा स्तरीय साहित्य लेखिएको छ । तर, यसको निरन्तरताका लागि राज्यपक्षबाट केही भएको छैन । तर, पनि जनबल र भाषाप्रेमीका कारण गतिशील नै छ ।

हाम्रो देशमा जम्मा ३ एकेडेमी -प्रज्ञा प्रतिष्ठान) छन् । त्यो पनि भर्खरै बनेको । भारतको बिहारमा मात्रै भाषाका १० एकेडेमी छन् । ‘भाषा त जीवन हो, यसलाई बचाउनुपर्छ’ भन्ने तर काम गर्नका लागि केही बजेट नदिने ? संस्था नबनाउने ?वास्तवमा मातृभाषा संरक्षण गर्ने मनशाय यो राज्यको छँदै छैन ।

तर, हाम्रोमा भाषा आयोग त बनेको छ नि ?

आयोगको काम त अधिकार र ऐन बनाउने हो नि Û सरकारलाई सुझाव दिने विशिष्ट अंग हो । तर, काम गर्न त त्यसको एकेडेमी नै चाहिन्छ । मैथिली भाषामा के लेखिएको छ ? आलोचना-समालोचना कति भएको छ थाहा पाउन अनि नयाँ-नयाँ अनुसनधान गर्न छुट्टै एकेडेमीको आवश्यकता पर्छ । भाषाको व्याकरणका कुरा आउँछ, हस्तकला, जनजीवन, दर्शनको कुरा हुन्छ । एकेडेमी केवल नाटक र साहित्यका लागि मात्र होइन ।

संस्कृति मन्त्रालयबाट करोडौं रुपैयाँ मनपरी बाँडिएको छ । तर, मैथिलीजस्तो एउटा जीवन्त भाषिक परिवारका लागि एक रुपैयाँ खर्च नगर्ने ? राज्यका लागि ५० करोड रुपैयाँ दिनका लागि के ठूलो कुरा हो ? यसैबाट थाहा हुन्छ राज्य विभेदकारी छ । मातृभाषाप्रतिको समर्पणले मात्रै हाम्रा मातृभाषा बचेका छन् ।

तपाईं एक संस्कृतिविदका साथै रंगकर्मी पनि हुनुहुन्छ, धनुषामा जन्मेर रंगकर्ममा कसरी लाग्नुभयो ?

म जन्मेको मिथिला प्रदेशमा दसैं, तिहार, छठ, माघीका बेला नाटक देखाउने काम हुन्थ्यो । यो मेरो पुस्ताभन्दा धेरै पहिलादेखि नै चली आएको नाट्य परम्परा हो । मेरो पालामा चाहिँ एसएलसीसम्मको पढाइ सकेपछि अधिकांश्ा युवालाई नाटक, संगीतमा जोड्ने काम हुन्थ्यो । गाउँको त्यो वातावरणले नै मलाई रंगमञ्चमा तानेको हो ।

त्यतिबेला धनुषामा हिन्दी नाटकको बाहुल्य थियो । सँगै मैथिली भाषामा स्थानीय लोकनाटक हुन्थ्यो । उनीहरू व्यवसायिक थिएनन् । यिनै दुई भाषामा हामीले नाटक गर्न सिक्यौं । गाउँमा भारतबाट आएको पारसी शैलीका नाटक हुन्थे । मैले त्यस्तै एक हिन्दी नाटकमा कक्षा ९ पढ्दा अभिनय गरें । मेरो शरीर र स्वर ठूलो भएकाले जमिनदारको भूमिकामा नाटक खेलें । ‘चम्बल घाँटीका लुटेरा’ नामक त्यो नाटक नै मेरो पहिलो अभिनय हो ।

पारसी शैलीको नाटक भन्नुभयो । नेपालको गाउँसम्म पारसी शैलीको नाटक कसरी आइपुग्यो ?

राणा शासनको त्रासमा मैथिली नाटक बन्द हुन थाले । नत्र त्यसभन्दा अघि काठमाडौंको डबलीहरूमा समेत मैथिली शैलीका नाटक देखाइन्थ्यो । अर्थात् परम्परागत नाट्य शैलीलाई शासकबाट दबाउने काम भयो । नेवारी नाटक र मैथिली नाटकभित्र केही समानता थियो । पृथ्वीनारायण शाहपछिका नेपाली शासकबाट पारसी नाटकको शैलीलाई प्राथमिकता दिइयो । हिन्दी, उर्दू भाषाको जस्तै अभिनय, संगीत गर्न थालियो । राणा शासनमा त भारतबाटै कलाकार, संगीतकार झिकाइन्थ्यो । जसले गर्दा हाम्रो लोकनाटक सधैं ओझेलमा पर्‍यो ।

गाउँमा नाटक गर्दा पञ्चायती शासक र जमिन्दार वर्गले दुःख दिँदैनथे ?

म अध्यक्ष भएको ‘युवा नाट्य-कला परिषद्’ धनुषाले २०४१ सालमा गाउँमा मैथिली भाषामा मात्रै नाटक गर्ने भन्ने निर्णय गर्यो । एकचोटि हामीले धार्मिक नाटक गर्दा कसैले कुरा लगाएपछि प्रशासनमा केरकार गर्न बोलाइयो । जिल्लामा सिडियो वा प्रशासकिय अधिकृतले होइन, मुखिया पदको मानिसले नाटक सेन्सर गर्ने रहेछन् । उसलाई जति सम्झाए पनि नाटकको भाव बुझ्न सक्दैनथ्यो ।

तर २०३६ को परिवर्तनपछि नाट्य संस्थाहरू जन्मिन थाले । ०३६ सालमै जनकपुरमा ‘मिथिला नाट्यकला परिषद’ स्थापना भयो । यसपछि राजधानीमा ‘सर्वनाम’ जन्यो । आज देशभरि जति कि्रयाशील संस्था छन्, तीमध्ये ‘मिथिला नाट्यकला परिषद’ पुरानो संस्था हो ।

तपाईं ८ वर्षसम्म संगीत-नाट्य प्रज्ञा प्रतिष्ठानको नाट्य विभाग प्रमुख भइसक्नुभएको छ, नेपाली नाटकको स्थिति कस्तो पाउनुहुन्छ ?

तुलनात्मकरुपमा नेपाली नाटकको अवस्था दक्षिण एसियाकै राम्रो छ । नाटकको अवस्थामा दुई प्रकार छन्, एउटा जनआश्रति अर्को राज्यआश्रति । हामीकहाँ मल्लकालपछि नाटक राज्यआश्रति भएको छैन । पञ्चायत कालमा नाटकको लागि मात्रै भनेर थोरै सररसहयोग राज्यपक्षबाट भएको हो । तर यसले व्यवस्थित रुप लिन पाएन ।

यसबाहेक हामीसँग लोक रंगकर्म र सहरिया रंगकर्मको अवस्था कायम छ । काठमाडौंमा पाँचवटा थिएटर छन् । देशभरि सयौं नाट्यसमूह छन् । यसबाहेक सडकमा नाटक गर्नेहरू नाटककै स्वरुपबाट सामाजिक सन्देश प्रवाह गरिरहेका छन् । हात धुने कुरा होस् वा स्वास्थको विषय त्यो नाटकबाट गरिनु राम्रो हो । यसलाई विकसित रंगकर्म नमाने पनि आफ्नै महत्त्व छ । काठमाडौंलाई छाडेर धरान विराटनगर, बिर्तामोड, पोखरा र कणर्ालीको मुगुमा समेत नाटकघर निर्माण गर्ने कुरा आएको छ । यो राम्रो थालनी हो । यसबाट नेपालले हामी आफैं नाटक जीवित राख्न सक्छौं भन्ने सन्देश दिएको छ । एउटा नाटक दुई सातासम्म वा एक महिना चल्ने अवस्था दक्षिण एशियाका अन्य देशमा छैन । नेपालले आफ्नै बलबुँताले गर्न सकेको छ ।

दिल्लीमा एनएसडीको नाटक हुँदा पनि दर्शकको पूर्ण उपस्थिति पाउन गाह्रो हुन्छ । तर, भारतमा व्यवस्थित एकेडेमी -शिक्षालय) एनएसडी -नेसनल स्कुल अफ ड्रामा) छ । नाटकमा राज्यको पर्याप्त लगानी छ । श्रीलंकाको अवस्था मध्यम छ । बंगलादेशशमा दु्रत गतिमा रंगमञ्चको विकास भएको छ । भुटान र माल्दिभ्समा त्यति राम्रो छैन । यसरी हेर्दा दक्षिण एशियाली रंगमञ्चमा पूर्वीय दर्शनको प्रभाव छ । अहिले भने आधुनिक नाटकको प्रभाव बढी पर्दै गएको देखिन्छ ।

काठमाडौंबाट मोफसलमा विस्तार भएको नाट्यकर्म राम्रो रहे पनि हाम्रो लोक नाटकको अवस्थाचाहिँ कस्तो छ ?

लोकनाटकको अवस्था दयनीय छ । लोकनाटक सर्वाधिक समृद्ध परम्परा हो । आर्यवर्त खण्डमा लोक र शास्त्रीय शैली विकसित भएको मैथिली भाषामा नै हो । तर, त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम हेर्नुस्, पहलमान सिंह स्वाँर, बालकृष्ण सम पहिलो नेपाली नाटककार भनेको छ । तर, यो कुरा त गलत हो नि । चौधौं शताब्दीमा ‘धूर्त समागम’ भन्ने नाटक मैथिलीमा लेखिएको छ । ज्योर्तिरिश्वरले लेखेको त्यो लोक नाटकमै पर्छ । अहिले पनि राष्ट्रिय अभिलेखालयमा हजारौं पाण्डुलिपि छन् । न कसैलाई त्यसको मतलव छ, न एकेडेमीले नै सम्वर्द्धन गर्न सकेको छ ।

तपाईं पनि त ८ वर्ष संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा रहनुभयो । त्यतिबेला ऐतिहासिक सामग्री जर्गेना गर्ने काम गर्नुभएन ?

म एउटा पदमा जानेबित्तिकै सबैै ठीक हुँदैन नि ! हजार साल पहिलाको कुरामा कसलाई मतलब छ यहाँ ? राज्यलाई त मतलव छैन । यसैले हाम्रा लागि नाटकको एकेडेमिक पढाइ आवश्यक छ । मैले शिक्षामन्त्रीसँग कुरा राखेको छु । देशमा संगीतको पढाइ हुन्छ, फिल्मको पनि पढाइ सुरु भइसकेको छ । तर, नाटकको छैन । अब व्यवस्थित पाठ्यक्रमसहितको नाटकको पढाइ आवश्यक छ । यसको उदाहरणका लागि भारतको एनएसडीलाई नै उदाहरणका रुपमा लिन सकिन्छ । सरकारी स्तरबाट यस्तो संस्था चाहिन्छ ।

अहिले डिजिटलाइनजेसनले धेरै कुरा विस्थापन गरिरहेको छ । यसबाट नाटक कसरी बच्न सक्छ ?

फिल्म एउटा विधाको रुपमा स्थापित भइसकेको छ । फिल्म शक्तिशाली माध्यम बनिसकेको छ । हुन त रंगकर्मबाट धेरै कलाकार, निर्देशक फिल्ममा गएका छन् । म स्वयं पनि फिल्म खेल्छु । तर, नाटकमा काम गर्ने कलाकारको हिसाबले म भन्न सक्छु, तपाईं दर्शकको आँखा अगाडि अभिनय गर्ने कि क्यामेराको अगाडि ? यो मुख्य कुरा हो । आखिर शक्ति त अभिनय नै हो । नाटकको विराट महत्त्वलाई क्यामेराले धान्न सक्दैन । नाट्य परम्पराको ठूलो सांस्कृतिक विरासत छ ।

लकडाउले नाटक क्षेत्र निकै मारमा परेको समाचार आइरहेका छन् नि ?

लकडाउनले त धेरै बिगार गरिसक्यो । लिजको जग्गामा बनेको नाटकघर कतिन्जेल टिक्ने ? केही थिएटर त बन्द हुन थालेका छन् । यसैले त मैले भन्दै आएको छु, जसरी स्वास्थ्य र शिक्षामा राज्यले लगानी गर्न सक्दिनँ भन्न मिल्दैन, त्यसरी नै नाटकमा पनि लगानी गर्दिँन भन्न पाउँदैन । नाटक भनेको इन्डस्ट्री -उद्योग) होइन । सरकारी ढुकुटीबाट यसको संरक्षणका लागि बजेट आउनुपर्छ । नाटक त जीवित सांस्कृतिक सम्पत्ति हो ।

नाटक लेखनमा गम्भीर संकट आइरहेको बताइन्छ नि ?

हो, नाटक लेखनमा समस्या छ । बडो दुःखको कुरा त उपन्यास, कविता, यात्रा पर्याप्त लेखिएको छ, तर नाटक निकै कम । मेरो विचारमा यसको कारण नाटक व्यवसायिक रुपमा लेख्न गाह्रो भएर हो । नाटक लेखकले सामान्य पारिश्रमिक पाउन पनि गाह्रो छ ।

नाटकको लिडरसीपमा बस्नेले पनि पश्चिमा नाटकलाई बढी ध्यान दिए । अनुवाद गर्ने, त्यही शैलीमा प्रदर्शन गर्ने काम बढी भयो । भारतबाट पढेर आएकाहरूमा त्यो प्रभाव पर्नु स्वभाविकै हो कि । तर, आफ्नो शैली, स्थानीय स्वाद र मौलकता पनि त हुनुपर्छ ।

यूरोपको नाट्य परम्पराका शेक्सपियर, इब्सेनको तहमा हामी लेख्न सक्दैनौं । तर हाम्रै स्थानीय कथामा उत्कृष्ट नाटक त दिन सक्छौं । नाटक विशुद्ध साहित्य लेखनमात्र होइन । लेखकहरूले ‘रंगमञ्चको विशिष्टता’ र ‘रंगमञ्चको सीमा’ जस्ता प्राविधिक कुरा जान्नुपर्छ ।

नाटक लेखकसँग अन्तरक्रिया गर्नुपर्छ । अन्य विधाका राम्रा लेखकसँग कार्यशाला गरेर नायँ नाटक तयार पार्ने काम गर्नुपर्छ । लेखकलाई उचित पारिश्रमिक र प्रोत्साहन गर्न सक्न पर्छ । यसपछिमात्र हाम्रो साहित्यबाटै उत्कृष्ट नाटक सिर्जना हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment