Comments Add Comment
पुस्तक अंश :

मेरो देह मर्ला, तर म मर्दिनँ

मैले तरक्क रसाएको आँखा चिम्लिएँ ।

र सोचेँ, यसरी अब मैले सदाका लागि चिम्लनुपर्छ । म भन्ने रहने छैन, मेरो भन्ने रहलान् तर मेरो भन्ने केही पनि थिएन, छैन । के रहनु ?

मेरो मनोविज्ञानमा बुढ्यौलीले प्रवेश पाएकै थिएन, कसैले वा, बाजे भनी सम्बोधन गर्दा झनक्क रिस उठ्थ्यो । म मेरा समवयी, ज्येष्ठ र कतिपय कनिष्ठ सबैका अगाडि फूर्तिसाथ भन्ने गर्थें– बुढ्यौली र दुःखसुख सबैको घर मन हो, चिन्तन हो । मनबाट यस्ता चिन्ताहरूलाई जरैदेखि उखेलेर फालेदेखि न रोग लाग्छ, न दुःख हुन्छ ।

त्रिवि शिक्षण अस्पतालको प्रतीक्षालय कक्षमा म एक्लै उभिएको थिएँ । बाल्यकालका मित्र सहपाठी बुद्धिप्रसाद सापकोटा देखापरे । सामान्य स्वास्थ्य परीक्षणका लागि आएको बताएँ । भलाकुसारी भयो र छुट्टियौँ । केही समयपछि ठूलो छोरा विनोदले सबै रिपोर्ट लिएर आयो र मोटरबाइक पछाडि मलाई राखेर डेरातिर कुदायो ।

‘कस्तो छ रिपार्ट ? के भएको भन्छ डाक्टर ?’ मैले सोधेँ ।

‘केही छैन, सामान्य हो,’ उसले सहज जवाफ दियो ।

मलाई डेरा पुर्याएर ऊ आफ्नो काममा फर्कियो । कोठाबाट निस्कँदा मैले उसको अनुुहारमा गहिरो आँखा गाढे । उसको अनुहार फुङ्ङ उडेको र अति उदासजस्तो लाग्यो । एक्सरे, भिडियो–एक्सरे, क्लोनोस्कोपी र दर्जनभन्दा बढी रक्तपरीक्षण भयो तर न औषधी, न सल्लाह ! त्यसै फर्किनुको पछाडि केही रहस्य लुकेको अनुमान गरेँ । पेटमा गजबको मुस्लो छ, खाना रूच्दैन र दिनप्रतिदिन दुब्लाउँदै गएको छु । तर छोरो भन्छ, ‘खास केही छैन सामान्य हो ।’ म चिन्ताग्रस्त भएँ ।

बुहारी काममा, नाति स्कुल र छोरो पनि मलाई कोठामा छोडेर काममा गयो । मलाई रिपोर्टहरू हेर्न मन लाग्यो । पलङमुनि सिरानीतिर सर्वत्र खोजेँ तर रिपोर्टको झोला फेला परेन । खोज्दै जाँदा टीभी र्‍याकमा रहेको चाबी फेला पर्यो । दराज खोलेर रिपोर्टहरू हेरेँ । गुगलमा मिनिङहरू सर्च गरेँ । अन्त्यमा मलाई थाहा भयो, ‘म क्यान्सरग्रस्त भइसकेको रहेछु ।’

साँझ छोरालाई भनेँ– ‘किन लुकाउनु पर्यो ? मलाई क्यान्सर भइसकेको छ । हिँड्, भोलि नै घर जाऊँ । भरतपुरमा औषधी गरौँला । काठमाडौँमा हाम्रो हैसियतले भेट्दैन । मरे पनि अब घरमै मर्छु ।’

छोराले भावुक हुँदै भन्यो– ‘हो, अलिकति छोएको छ । अप्रेसनपछि ठीक हुन्छ । यतै हरिसिद्धिमा गर्ने भान्दाइ तुलसी भट्टको सल्लाह छ ।’

‘होइन, यहाँ सकिदैन । धेरै महँगो छ हरिसिद्धिमा । मैले केही सम्पत्ति राखिनँ । तिमीहरूले दुःख गरेर सँगालेको सम्पत्ति पनि मैले सक्ने भएँ ।’

मलाई हिक्का छुट्यो र रून थालेँ । मेरो बुहारी र नातिसमेतको अनुहारमा कस्तोे बादल  मडारियो ।

मलाई मरी नै हाल्छु भन्ने चाहिंँ लागेन । श्रीमती कान्छो छोराको घर दहचोकमा थिइन् ।

भोलिपल्ट बिहानै दहचोक आएर हामी दम्पती चितवन झर्यौँ ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बाहिरबाट देखेको थिएँ, भित्र छिरेको थिइनँ । साउन ११ गते पहिलो पटक क्यान्सर अस्पताल छिरेर भर्ना भएँ र मृत्युलाई पर्खिन थालेँ ।

मनले मर्छु भन्ने मानिरहेको छैन । शरीरले भनिरहेको छ– ‘म अब यो धर्तीमा रहन्नँ । मेरो आत्मा, कर्म–सुकर्म मात्र यहाँ बसून् ।’

भोलिपल्ट बिहान अस्पतालको पोसाकमा दुब्लो र मरन्च्याँसे अनुहारको फोटो फेसबुकमा अपलोड गरेँ । मलाई चिन्ने सबैलाई क्यान्सर भयो भन्ने थाहा भयो । फोटोमा क्याप्सन थियो– ‘अनन्त आकाश हेर्दै यात्राको बाटो खोज्दै छु ।’

यतिबेला लागेको क्यान्सर पनि मेरा लागि असामान्य पीडा हो तर यसलाई पनि सहजै पचाइदिएँ । यसमा भने मित्रहरूको सहारा मेरा लागि वरदान नै भएको छ । अनि यसलाई आत्म तपस्या नमानिदिने हो भने– म कसरी महान् भइनँ ?

रातभरि रोएरै निद्रा सकिन्थ्यो । दिनभरि भेट्न आउने साथी र इष्टमित्रहरूको उर्जाले अलिकति हाँसिदिन्थेँ ।

मैले कसैलाई आर्थिक सहयोगका लागि भनिनँ । तर स्वतःस्फूर्तरूपमा आर्थिक सहयोगको लहर चल्यो ।

सर्वप्रथम नेपालगञ्जका मित्र सोहन श्रेष्ठले एघार हजार रूपियाँ मेरै नाममा बैङ्क खाता खोल्नका लागि आईएमई गरे । उनले भने, ‘दाइ नआत्तिनुस् । यो पैसाले बैङ्कमा खाता खोल्नुहोस् । त्यही खातामा तपार्इंलाई सहयोग रकम जुट्दै जान्छ । म फेरि एकपटक दिउँसै रोएँ ।’

भोलिपल्ट ग्लोबल आईएमई बैङ्कमा सोहनको पैसाले खाता खुल्यो । चितवनका पत्रपत्रिकामा मेरो बारेमा समाचार छापियो । राससले पनि सम्प्रेषण गर्यो । जसले गर्दा मेरो रोगले ख्याति पायो । मलाई नेपालगञ्ज, चितवन र काठमाडौँबाट आर्थिक सहयोगहरू आउन थाले ।

क्यान्सरले लैजाने गरी नै छोपेको रहेछ भने मात्र हो, अन्यथा म अब आर्थिक कारणले मर्दिनँ भन्ने लाग्यो । शरीरमा ऊर्जा थपिँदै गयो, औषधी पनि चल्यो । आत्मबल पनि बढ्यो ।

मैले क्यान्सरलाई जितेँ ।

जीवनका यी ६७ वसन्त निरोगी, निर्भय र निर्भीकतापूर्वक नै बिते । आर्थिकरूपले झन्डै सडकमा आइसक्दा पनि मेरो आत्मबल घटेको थिएन । हतोत्साहित भइनँ । छोराहरू स्वयम् पौरखी र स्वावलम्बी देखिए । पैतृक सम्पत्तिबाट विमुख छोराहरू आफ्नै बलबुतामा हजुरबाको आर्थिक हैसियतको बराबरीमा पुगे । मलाई कहिलेकाहीँ क्षोभ र हीनताले ग्रस्त बनाए पनि हिम्मतका साथ ती कमजोरीहरूलाई परास्त गर्दै लेखनकार्यमा निर्लिप्त थिएँ । कविका रूपमा त परिचित नै थिएँ तर ‘देब्रे आँखा’ निबन्धसंग्रह र ‘प्रेमदासको डायरी’ उपन्यासले मलाई अझ परिचित र नयाँ साथीहरूसँग हिमचिम बढायो । निबन्धकार तथा उपन्यासकारको पनि पगरी पाएँ ।

उल्टो देखें मित्रहरूको पिरामिड ।

वास्तवमा जीवन अनौठो खाले अनुभव रहेछ । सुख र दुःखको समयका सत्यहरू फरक हुँदा रहेछन् । सुखको आत्मीयता दुःखमा भत्कने र सुखको सामान्य सम्बन्ध दुःखमा असामान्य हुने रहेछ । मलाई क्यान्सरले ग्रस्त बनाएर अस्पतालमा छट्पटाउँदा सुखी र स्वस्थ अवस्थामा मेरो गोजीसँग रमाएका केही अनुहारको छद्मता च्यात्नै परेन, आफैँ उदाङ्गियो । जीवनमा मैले केही कमाइनँ । केही असल मित्र र केही सिर्जना कमाएँ । यतिबेला त झन् मित्रहरूको पिरामिड उल्टो भयो । हिजो वैचारिक र व्यावहारिक सम्बन्धले टाढा रहेकाहरू अहिले धेरै नजिक भए । नजिक रहेका र लात्ती लाग्ने गरी एउटै बिस्तारामा सुतेका केही अनुहारको कपटको नापमा फिता लगाउनै परेन । आफैँ देखियो । साहित्यको बजारमा ढुन्मुनाउँदै दुईचार कविताको आत्मरति र दारूमण्डलीको भजनमा रमाइरहेकाहरूको मप्रतिको कुटिलता कस्तो रहेछ भन्ने पनि थाहा पाएँ ।

हुन त सोह्रै आना ठोकुवा गर्न नसकिएला । तैपनि म औसतमा पूर्णजीवन भोग्न पाइने विषयमा निराश छैन । सक्रिय मनस्थिति एवम् उँचो आत्मबलसँग मित्रहरूको आत्मीय प्रेम र सहयोगले मलाई केही वर्ष बचाउँला । म बाँच्नु र मर्नु खासै ठूलो कुरा होइन । तर समाज र आफ्नो सम्बन्धको व्यवहारबाट मैले जति अनुभव गरेँ, त्यो सबैका लागि महङ्खवपूर्ण शिक्षा हुन सक्छ ।

झन्डै एक वर्षको अवधिमा चलेको उपचारका क्रममा मेरो पढाइ–लेखाइ पूरै अवरूद्ध भयो । भावनाहरू उर्लन्थे । लेख्न र सोच्न सक्दिनथेँ । विस्मृति बढ्दै गएको थियो । शारीरिक कमजोरी यतिसम्म थियो कि हिँड्न पनि सक्दिनथेँ । बसेर पढ्न पनि सक्दिनथेँ । त्यसमाथि भेटघाटमा आउने शुभचिन्तकहरूको बाक्लो उपस्थितिले मानसिकरूपमा ऊर्जा प्राप्त गरिरहे पनि भित्री तहमा भने कमजोर बनाइरहेको थियोे । वरिष्ठ कथाकार सनत रेग्मीले जगदीश घिमिरेले क्यान्सरग्रस्त हुँदा पनि लेखिरहेको उदाहरण दिँदै केही लेख्ने सल्लाह दिनुभयो । तर मेरो अवस्था त्यस्तो थिएन ।

अभिनेत्री मनीषा कोइरालाको क्यान्सर अनुभव पनि फेसबुकमा पढेँ । थोपा थोपा गरेर जीवन सँगालेँ भन्ने उनको लेख पढ्दा मेरो र उनको अवस्था उस्तैउस्तै गुज्रिए जस्तो लाग्यो । तर उनको उपचार सौविध्य र मेरो अवस्थामा भने आकाश–जमिनको फरक थियो । तथापि मैले पनि थोपा थोपा बटुलेर उपचार गरेँ ।

सपना पनि गजब देखिन्छ कहिलेकाहीँ ! जीवनको सपना देख्नु र रातको निद्रामा सपना देख्नु उस्तै उस्तै लाग्यो मलाई । जीवनका बारेमा त अनेक सपना देखेँ हुँला ! ती कतिपय सपनामा मात्र सीमित भएँ । तर रातको निद्रामा देखेको सपनाका बारेमा म कुनै चासो राख्दिनथेँ । अब चेतन अवस्थामा देखेको सपनालाई कल्पनाको उडान सम्झन्थेँ । आकाशमा जति पनि उड्न सक्ने गरी उडेका, राम्रो लाएको, मीठो खाएको, वनजङ्गल हिँडेको आदि इत्यादि सपनाको कुनै अर्थ नभएको निष्कर्ष हुन्थ्यो मेरो । जब म अस्पतालबाट डिस्चार्ज भएर घरमा फर्किएँ– त्यस रातको सपनाको प्रतीकात्मक अर्थ मेरो आयुसँग जोडिएको जस्तो लाग्यो ।

‘मेरो अगाडि एउटा सानो माटोको भाँडो थियो । त्यो अचानक फुट्यो र त्यसभित्रबाट एउटा सर्प निस्किएर ठाडो मुन्टो लगाउँदै मतिर आयो । म डराएर भागेँ तर अचानक मबाट कस्तो साहस आयो कुन्नि ? म फरक्क फर्किएको मात्र थिएँ, सर्प स्वयम् भाग्यो । मैले त्यो सर्प ठाडो मुन्टो लगाउँदै भागेको हेरिरहेँ ।’

त्यसपछि म झल्याँस्स ब्युझिएँ । बरू ब्यँुझिएपछि एकछिन डर लाग्यो । पछि मैले त्यो सपनालाई प्रतीकात्मक रूपमा अर्थ्याएँ । ममाथि जाइलागेको दुस्मन (क्यान्सर) भागेको भान भयो । रातको १ः३४ बजे– मैले मोबाइल थिचेर हेरेँ । आजभन्दा करिब ३० वर्ष अगाडि पनि मैले देखेको सपनाको प्रतीकात्मक प्रभाव मेरो जीवनमा परेको थियो ।

‘एक रात सपनामा मेरो घर अगाडिको खेतबारीमा भयानक ठूलो नदी बग्यो । अग्ला अग्ला छालसहितको नदीले मेरो खेतबारी सब बगायो ।’

यस्तो सपना देखेकै वर्ष मेरो चितवनको बहुमूल्य जग्गा जमिन बिक्री भयो र म नेपालगञ्ज हानिएँ– रन्थनिँदै । जतिसुकै रूढ अन्धविश्वास भनिए पनि कतिपय सपनाको विम्ब विपनामा पर्ने नै रहेछ । यी दुईलगायत अरू केही सपनाको पनि विम्ब मेरो जीवनमा परेको छ ।

जीवन हरियो फाँट तथा लहलहाउँदो बाली पनि हो र कहालीलाग्दो पहाड पनि हो । फाँटबाट पहाड हेर्दा कहाली लाग्छ तर पहाडको टाकुराबाट फाँटतिर हेर्दा लहलहाउँदो बाली देखिन्छ । पहाड देखेर नआत्तिने र चढेर पनि नथाक्ने मानिस नै शिखरमा पुग्ने रहेछ । म भने यी दुवै कोटिमा परिनँ । मैले पहाड पनि हेरिनँ– कुनै फाँटमा पनि बसिनँ । एउटा झुपडीबाट जे जस्तो सपना देखेँ, त्यसैको तरङ्गमा अहिलेसम्म बाँचेको छु । तर म आफूलाई कहिलेकाहीँ महान् नै ठान्छु । किनकि मैले सामान्य चोटले विक्षिप्त भएका मानिसहरू देखेको छु, मैले चाहिँ असामान्य चोटहरू खेपेको छु र आत्मबलको सहाराले नै अहिलेसम्म निर्बिघ्न बाँचेको छु । यतिबेला लागेको क्यान्सर पनि मेरा लागि असामान्य पीडा हो तर यसलाई पनि सहजै पचाइदिएँ । यसमा भने मित्रहरूको सहारा मेरा लागि वरदान नै भएको छ । अनि यसलाई आत्म तपस्या नमानिदिने हो भने– म कसरी महान् भइनँ ?

मेरो जीवन एकप्रकारले भन्ने हो भने फिरन्ते झैँ बित्यो । कतिपयले मलाई अस्थिर भने, कतिपयले अराजक र अव्यवस्थित भने । वास्तवमा म यी तीनमध्ये केही पनि थिइनँ । मैले आफ्नो जीवनको यात्रामा आर्थिक र व्यावसायिक व्यवस्थापनमा राम्रोसँग चाँजो मिलाउन सकिनँ । यसले गर्दा मलाई फिरन्ते र अव्यवस्थितजस्तो देखायो । स्पष्ट र बहिर्मुखी स्वभाव पनि पाच्य हुने रहेनछ– समाजमा । खरो मिजास र प्रस्टवक्ता हुनुको दुष्परिणाम म आफैँले भोगें । चिप्लो भाषा र चिल्लो मिजासको प्रकोप पनि उत्तिकै सहेको छु । अहिले क्यान्सरग्रस्त हुँदा पनि यस्ता तीता अनुभवहरू भए ।

म पाखुरामा किमोथेरापीको स्लाइनको त्यान्द्रो छुटेका बेला अस्पतालको मूलढोकाको फलामे बेन्चमा बस्थेँ र आकाशतिर हेर्थें । साउन–भदौको याम आकाश सफा देख्न पाइन्नथ्यो । तर जुन दिन आकाश सफा देखिन्थ्यो, त्यस दिन म आफ्नो आत्मको निवास आकाशतिर खोज्थेँ । अहँ, कहीँ कतै देख्दिनँ आफ्नो आत्मा बस्ने घर । साँझ पर्दै जाँदा ताराहरू देखिन्थे । कहिलेकाहीँ जून देखिन्थ्यो, बाँकी समय नीलो आकाश । जब नीलो आकाशमा बादलका टुक्राहरू आउन थाल्थे, तब मभित्र एकप्रकारको छट्पटी र औडाहा हुन्थ्यो ।

यत्तिकैमा मेरो अनन्त दृष्टि चेतनालाई भताभुङ्ग पार्दै अस्पतालको ढोकामा बस्ने महिला सेन्ट्रीको कर्कश आवाजले झस्काउँथ्यो । ‘बिरामी मानिस किन बाहिर ? जानूस भित्र ।’ म आज्ञापालक बालकझैँ लुरूलुरू भित्र पसेर शैयामा पुग्थेँ र खुइँया गर्दै पल्टन्थेँ । कुरूवा बस्ने बेन्चमा भावहीन भएर बसेकी पत्नीको अनुहारमा हेर्थें र भरिएका परेलामा आफ्नै सुकेको अनुहारको प्रतिविम्ब देख्थेँ ।

‘मृत्यु त अवश्यम्भावी सत्य हो । म किन यति हतास ?’ कहिलेकाहीँ आफैँलाई प्रश्न गर्थें । दिवङ्गत भइसकेका समवयी मित्रहरू हरिहर घिमिरेदेखि धर्मराज अर्यालसम्मको अनुहार आँखामा नाच्दथ्यो । बाँहा जोरी लाएको मित हरिहर सविता पनि गएको पुसमा बित्यो । मित गुज्रिएको छ महिनापछि मैले पनि त्यही बाटो तय गरेँ,’ मनले यस्तै सोच्थ्यो । उमेर कम हुँदै गएको केही साहित्यिक मित्रहरूको पनि झझल्को आयो । गोविन्द वर्तमान, नकुल सिल्वाल र धेरै वर्ष अगाडि नै गएका मित्र जीवन आचार्यलाई सम्झँदा लाग्दथ्यो– उनीहरू मर्दा के भयो र म मर्दा के नापिन्छ ? मर्न त छँदै छ एक दिन ।

६७ वर्ष गुजारें, अब पुग्यो भने पनि त भयो नि ! यो कोणबाट पनि मैले आफ्नो आत्मालाई सम्हालेँ ।

मानिसको देह मर्छ, मेरो पनि देह मर्ला । तर, म मर्दिनँ ।

(रेशम विरहीको नयाँ निवन्धकृति ‘सत्ता र स्वप्नदोष’बाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment