Comments Add Comment

यो सरकारले न जनताको आवाज सुन्छ, न प्रतिपक्षीको : प्रकाशमान

'संसद बैठक तत्काल डाक्नुपर्यो'

७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले जनता र जनप्रतिनिधिको आवाज नसुनेको गुनासो गरेका छन् । कोरोना महामारीका कारण तत्कालै सरकारविरुद्ध सडक आन्दोलनमा जाने अवस्था नरहेको बताउँदै उनले प्रमुख प्रतिपक्षको रुपमा आफूहरुले सरकारलाई खबरदारी गरिरहेको बताए ।

आइतबार बिहान आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरुसँगको भेटघाटमा नेता सिंहले भने, ‘भन्नुपर्ने ठाउँमा भनेकै छ, बोल्नुपर्ने ठाउँमा सबैले बोलेकै छ तर यो सरकारले सुन्दैन । यो सरकारले न जनताको आवाज सुन्छ, न प्रतिपक्षीको ।’

उनले लोकतन्त्रवादीहरुका लागि यो अशोभनीय भएको बताए । कोरोना महामारीको विषम परिस्थितिमा समेत सरकार भ्रष्टाचारमा लिप्त रहेको र जनजीविकाको सवालमा गैरजिम्मेवार बनेको आरोप उनले लगाए ।

‘यो सरकार स्वार्थमा डुबेको छ । भ्रष्टाचारमा लिप्त छ, मुलुकका तमाम समस्यामा सरकार बेखबर छ,’ उनले भने, ‘ लोकतन्त्रवादीहरुका लागि समेत अशोभनीय हो ।’

सरकारले कोरोना महामारीको बेला गर्नुपर्ने न्युनतम काम पनि गर्न नसकेको बताउँदै उनले आफ्नो सुरक्षामा आफैं लाग्नुपर्ने बताए । ‘कोरोना महामारीको बेलामा सरकारले के गर्याे अब यो भनिरहनु परेन,’ उनले भने, ‘अब गर्छ भन्ने आश गर्ने ठाउँ पनि रहेन । यसर्थ आफैं आफ्नो सुरक्षामा लाग्नुपर्छ ।’

सरकारले संघीयताको मर्म र भावनाअनुसार नीति निर्माणमा समेत चासो नदिएको आरोप लगाए । काठमाडौं क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता सिंहले संसद बैठक तत्काल डाकेर हरेक विषयमा छलफल गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment