+
+
Shares

पर्सामा एक युवकको शङ्कास्पद मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर ७ गते १२:५०

७ मंसिर, वीरगञ्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा एक युवकको शङ्कास्पद मृत्यु भएको छ । सखुवा प्रसौनी-२ प्रसौनीका अन्दाजी ३८ वर्षीय सन्तोष यादवशनिबार मृत फेला परेका हुन् ।

पुरैना खोलाको दहीनादी सरैयामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे जानकारी पाए लगतै प्रहरी चौकी एकटाँगा र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको टोली घटनास्थलमा पुगेको थियो ।

घटनास्थल जाँच मुचुल्कापछि शनिबार नै शव पोष्ट मार्टमका लागि नारायणी अस्पतालमा पठाइएको इप्रका पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए । ‘एउटामात्रै आँपको रुख थियो, घटनास्थलमा भेटिएका प्रमाणहरु पनि संकलन गरेर पठाएका छौं,’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ ।’

परिवारका सदस्यले गम्छाको पासो लगाएर आँपको रुखमा झुण्डिएर आत्महत्या गरेको दाबी गरेका छन् । आत्महत्या गर्न लागेको देखेपछि तल झारेको उनीहरुले बताएका छन् ।

स्थानीय जवाहिर यादवले सन्तोषले झुण्डिएर आत्महत्या गरेको अवस्थामा देखेको र बचाउन सकिन्छ कि भनेर निकालेको बताएका छन् । जवाहिर मृतकका काका हुन् ।

दाजुको मृत्युपछि उनले नै सन्तोष र उनकी आमाको रेखदेख गर्दै आएका थिए । सन्तोषको आमाको समेत मृत्यु भइसकेको छ ।

मानसिक अवस्था कमजोर भएका कारण उनी बाँसको झाडीमा नै बस्दै आएका थिए । सन्तोषले आत्महत्याको बारेमा सोच्नसमेत नसक्ने दाबी स्थानीयवासीको छ ।

जवाहिरका छोरा मनोज र विनोदले सन्तोषलाई कुटपिट गर्ने गरेको, खान नदिएर घरबाट भगाउने आरोप स्थानीयले लगाएका छन् । तर परिवारका सदस्यहरुले भने झाडीमा समेत दैनिक खानेकुरा पुर्‍याउने गरेको बताएका छन् ।

सम्पत्तिमा हक दिनुपर्छ भनेर सन्तोषको उपचार नगराएको र उनीहरुले नै षडयन्त्र गरेर मारेको हुनसक्ने स्थानीयको आशङ्का छ ।

प्रहरीले पनि घटनालाई शङ्कास्पद भनेको छ ।सोही अनुसार अनुसन्धान सुरु गरेको छ । पोष्टमार्टम रिपोर्टको पर्खाइमा रहेको प्रहरीले बताएको छ ।

पोष्टमार्टम आइतबार हुँदैछ । पोष्टमार्टममा मृत्युको कारण खुल्ने भएकोले त्यसै अनुसार अनुसन्धान अगाडि बढाउने प्रहरी अधिकारीहरुले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुवँरले मृत्यु शङ्कास्पद नै लागेकोले सोहीअनुसार अनुसन्धान भइरहेको बताए । ‘घरबाट हराएको र झुण्डेर मरेको अवस्थामा भेटिएको भनेर खबर आएको थियो । पछि पारिवारिक अवस्था बुझ्दै जाँदा घटना सम्पत्तिसँग जोडिएको पनि हुन सक्ने देखिएको छ,’ उनले भने, ‘सुक्ष्म ढंगले अनुसन्धान सुरु गरेका छौं, पोष्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण पनि खुल्छ ।’

घटनालाई लिएर घर परिवारका सदस्य, छर छिमेकीसँग सोधपुछ पनि भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?