Comments Add Comment

पोखराका अस्पताललाई मुख्यमन्त्रीले सोधे – बिरामीले उपचार नपाई मर्ने अवस्था कसरी आयो ?

८ मंसिर, पोखरा । अस्पतालले बिरामीलाई भर्ना नै नलिने अवस्था अन्त्य गर्न गण्डकी प्रदेश सरकारले सक्रियता देखाएको छ ।

बिरामीले ६ वटा अस्पताल चाहार्दा पनि उपचार नपाएर ज्यान गुमाउनुपरेपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नै चासो देखाएर निजी र सरकारी अस्पताललाई उपचारप्रति जिम्मेवार बन्न आग्रह गरेका छन् ।

६ अस्पताल चाहार्दा पनि स्याङ्जाकी धनमाया गुरुङले भर्ना नपाएर ज्यान गुमाएको पर्सिपल्ट शनिबार साँझ निजी र सरकारी अस्पताललाई बोलाएर मुख्यमन्त्री गुरुङले छलफल गरेका छन् ।

बैठकमा उनले बिरामीले भर्ना नै नपाएर ज्यान गुमाउनुपर्ने स्थिति कसरी आयो भनी प्रश्न गरेका थिए । आफ्नो अस्पतालमा बेड छैन भने बिरामीको अवस्था र बेडबारे सम्बन्धित सरकारी निकाय वा अरु अस्पतालमा जानकारी गराउन मुख्यमन्त्री गुरुङले आग्रह गरे ।

सामाजिक विकास मन्त्री, प्रमुख सचिव, मुख्य न्यायाधिवक्ता, प्रदेश स्वास्थ्य निर्देशक र सरकारी तथा निजी अस्पतालका प्रतिनिधि सहभागी बैठकमा मुख्यमन्त्री गुरुङले पछिल्लो घटनाले सरकारको आलोचना बढाएको बताए ।

यो पनि पढ्नुहोस लक्षणसहितका मानिस सडकमै, उपचारको सट्टा भगवान भरोसा !

‘प्रत्येक दिन कुन अस्पतालमा के कति बेड छन्, कति बिरामी छन् र के कति बिरामीलाई के कारणले भर्ना गराउन सकिएन जानकारी चाहियो,’ मुख्यमन्त्री गुरुङले भने, ‘भन्ने एउटा र व्यवहारमा अर्को गर्ने काम नगरौं ।’

पोखराका सरकारी र निजी अस्पताल र गण्डकी प्रदेशका सबै सरकारी अस्पताललाई बेड, कोभिड संक्रमितको संख्या र अवस्थाबारे प्रत्येक दिन जानकारी दिन भनेको मुख्यमन्त्री गुरुङले अनलाइनखबरसँग बताए ।

‘सबैलाई बैठकमा डाकेर सरकारको निर्णय किन कार्यान्वयन भएन ?, बिरामीले भर्ना नपाउने अवस्था किन आइरहेको छ, बाहना चाहिएन काम चाहियो भनेको छु,’ मुख्यमन्त्री गुरुङले भने, ‘सरकारको निर्णय कार्यान्वयन गर्न, अनुगमन र अस्पतालबारे समन्वय गर्ने जिम्मा प्रदेश निर्देशकलाई दिइएको छ ।’

यो पनि पढ्नुहोस पुच्छर निमोठेको निमोठ्यै छु, मुख्यमन्त्रीको हुटहुटीले मात्र नहुँदो रहेछ ! [

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले प्रत्येक दिन निर्देशनालयले अस्पताल र बिरामीको अवस्थाबारे जानकारी लिने, उक्त विवरण अस्पतालका वेबसाइटमा पनि राख्न लगाउने निर्णय भएको बताए । अस्पतालले कोरोना संक्रमितको उपचार गरेवापत शुल्क र धरौटी संघीय सरकारले नै तोके भन्दा बढी लिन नपाउने शर्माले बताए ।

पछिल्लो समय गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ । गण्डकी प्रदेशमा ४७ सय सक्रिय संक्रमित हुँदा कास्कीमा मात्र ३१ सय छन् ।

यी हुन् पोखरामा कोभिडको उपचार हुने अस्पताल र सम्पर्क व्यक्ति

लक्षण नभए १४ दिनपछि परीक्षण नगरिने

गण्डकी प्रदेश सरकारले लक्षण नभए कोरोना संक्रमितलाई १४ दिनपछि दोस्रो परीक्षण नगरी घर जान दिने निर्णय गरेको छ ।

यसअघि प्रदेशमा कोरोना नेगेटिभ आएपछि मात्र घर पठाउने गरिएको थियो । अब संस्थागत आइसोलेसन र होम आइसोलेसनमा बसेका बिरामीले १४ दिनभित्रमा लक्षण देखिए नजिकको अस्पतालमा भर्ना हुने, त्यस अवधिमा कुनै लक्षण नदेखिए बिना परीक्षण स्वतः डिस्चार्ज गर्ने र स्वास्थ्य प्रोटोकल अपनाई दैनिक गतिविधिमा संलग्न हुन सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment