Comments Add Comment

नेकपा बैठक : काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर !

चैतको महाधिवेशन हुन्छ कि सर्छ ? भदौको अपानिमा के थियो ? 

८ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले २०७७ भदौ २९ गते संयुक्त हस्ताक्षर गरेर मातहतका कमिटीलाई १९ पृष्ठ लामो सर्कुलर पठाएका थिए । सर्कुलरमा आगामी केन्द्रीय कमिटीको बैठकमा के-के काम गर्ने भन्ने प्रष्ट खाका उल्लेख छ ।

भदौ २६ को स्थायी कमिटी बैठकले मिलाइसकेको पार्टीभित्रको झगडा फेरि नचर्किएको भए केन्द्रीय कमिटीको बैठक कात्तिक १५ देखि १७ गतेसम्म बसिसक्नुपर्ने थियो । तर, बैठक मंसिर १५ लाई सारियो ।

अहिले मंसिर १५ को बैठक दोस्रोपटक सरिसकेको छ । अब मंसिर २५ मा केन्द्रीय कमिटीको बैठक बस्ने भनिएको छ । त्यसअघि मंसिर १३ मा सचिवालय र मंसिर १८ मा स्थायी कमिटीको बैठक बस्दैछ ।

केन्द्रीय कमिटीको कार्यसूची के हो ?

भदौ २९ मा ओली र प्रचण्डद्वारा हस्ताक्षरित अपानि अनुसार अब बस्ने केन्द्रीय कमिटी बैठकले गर्नुपर्ने कामहरु यी हुन् –

१- महाधिवेशन (चैत २५-२८) सम्बन्धी कार्ययोजना पारित गर्ने ।

२- सचिवालयबाट केन्द्रीय कमिटीमा प्रस्तुत हुने दस्ताबेज मस्यौदा कमिटीलाई अनुमोदन गर्ने ।

३- सचिवालयबाट केन्द्रीय कमिटीमा प्रस्तुत हुने मूल व्यवस्थापन कमिटीलगायतका संरचनाहरु निर्माण गर्ने ।

४- महाधिवेशनका प्रतिनिधिहरु छनोट गर्ने विधि निर्माण गर्ने ।

५- महाधिवेशनको कार्यतालिका लगायतका प्रस्तावहरु पारित गर्ने ।

६. प्रदेश तथा स्थानीय अधिवेशनहरुबाट निर्वाचित हुने पार्टी कमिटीका लागि तिनको संरचना र अधिकतम संख्या निर्धारण गर्ने । (यो संख्या र संरचनासम्बन्धी प्रस्ताव सचिवालय र स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीबाट अनुमोदन गराउने ।) आदि ।

केन्द्रीय सचिवालयले गर्नुपर्ने काम

त्यसैगरी भदौ २९ को अपानिले पार्टीको केन्द्रीय सचिवालयले गर्नुपर्ने कामहरु पनि तोकेको थियो । अपानीको ४.१ अनुसार सचिवालयले पार्टी एकताका बाँकी कामहरु असोज महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने थियो ।

केन्द्रीय आयोगहरु, केन्द्रीय सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च, पोलिटब्यूरो, केन्द्रीय विभागहरु, प्रदेश सम्पर्क कमिटी र स्थानीय तहका कमिटीहरु, जनवर्गीय संगठनहरु र प्रवास क्षेत्रको संगठनात्मक एकीकरणको काम असोज महिनाभित्र सम्पन्न गर्न स्थायी कमिटीले सचिवालयलाई जिम्मा दिएको थियो । तर, सचिवालयले यी कामहरु गरेन र अल्मलियो । असोजको डेटलाइन घर्किएर अहिले मंसिरको जाडो सुरु भइसकेको छ ।

स्थायी कमिटीको बैठकपछि जारी भदौको अपानिले केन्द्रीय सचिवालयलाई अर्को पनि एउटा महत्वपूर्ण जिम्मेवारी दिएको थियो, तर, त्यो पनि पूरा भएन ।

अपानिको १४ नम्बर बुँदामा पार्टीका विभिन्न नेताका नाममा खुलेका प्रतिष्ठान र संघ संस्थाहरुको सञ्चालन, व्यवस्थापन तथा नियमन विधि निश्चित गर्न स्पष्ट कार्यादेशसहितको कार्यदल गठन गर्ने भनिएको थियो । र, यो कार्यदल बनाउने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिइएको थियो । तर, सचिवालयले यो काम पनि फत्ते गरेन । बरु, यसवीचमा प्रतिष्ठानका क्रियाकलापहरु रोक्ने भनिएको थियो, रोकिएनन् ।

प्रतिष्ठानहरुबारे अपानिमा स्पष्टसँग भनिएको छ, ‘कार्यदलको प्रतिवेदन प्राप्त भएपश्चात त्यसउपर छलफल गरी आवश्यक निर्णय लिने । तबसम्मका लागि पार्टीद्वारा गठित वा पार्टीका नेता कार्यकर्ता सम्मिलित कुनै पनि प्रतिष्ठानहरुलाई प्रदेश, जिल्ला र स्थानीय तहमा शाखा गठन नगर्न र गतिविधि नगर्न निर्देशन दिने ।’

तर, दुर्भाग्य, प्रधानमन्त्री आफैं संलग्न रहेर मदन भण्डारी प्रतिष्ठानका कार्यक्रमहरु भए । निर्णय एकातिर, व्यवहार अर्कोतिर भयो ।

संगठन विभाग पनि रनभुल्ल

भदौ २९ को अपानिले कतिपय जिल्ला र स्थानीय तहमा देखिएका विवादहरु असोज महिनाभित्र हल गर्न केन्द्रीय संगठन विभागलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । संगठन विभागको बैठक एकचोटि बस्यो, तर विवादहरु समाधान भएनन् ।

बरु यसवीचमा विवाद र कुटाकुटका कारण पर्सामा एक कार्यकर्ताको ज्यानै गयो । तर, अपानिले असोजभित्र गरिसक्नू भनेर दिएको निर्देशन अहिलेसम्म संगठन विभागले गर्न सकेन ।

गम्भीर प्रकृतिका अन्तरविरोधहरुको समाधानका लागि केन्द्रीय संगठन विभागको तर्फबाट विशेष टोली -डोर) खटाउने भनिएको थियो, त्यो पनि भएन ।

संगठन विभागको कार्ययोजनामा असोज महिनाभित्र जिल्ला कमिटीहरुले पार्टीको संगठित सदस्यता वितरण अद्यावधिक गरी प्रदेश कमिटी हुँदै केन्द्रीय संगठन विभागमा पठाउने र मंसिर महिनाभित्र संगठित सदस्यता नवीकरण सम्पन्न गर्ने भनिएको थियो । प्रवासमा पनि यहीअनुरुप गर्ने भनिएको थियो । मंसिरको पहिलो साता घर्किसकेको छ, अहिलेसम्म संगठन विभाग निश्त्रिmय छ । बरु यसवीचमा सदस्यता वितरणमा धाँधली भएको ओली-प्रचण्डको पत्रमा आरोप-प्रत्यारोप चलिरहेको छ ।

बिथोलियो महाधिवशेनको कार्ययोजना

भदौ २६ को स्थायी कमिटीको बैठकले महाधिवशेनलाई लक्षित गरेर बनाएको कार्ययोजना पार्टीभित्रको पछिल्लो विवादले गर्दा बिथोलिएको छ । अब यो नयाँ विवादको छिनोफानो भएपछि मात्रै बैठक अघि बढ्ने प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले बताइसकेका छन् ।

मंसिर ३ गते बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले भनेका छन्, ‘अस्तिको प्रस्ताव नामक अभियोगपत्र (प्रचण्डले कात्तिक २८ मा पेश गरेको प्रस्ताव) आइसकेपछि यसअघिका हाम्रा सहमति, समझदारीको त त्यसैले अन्त्यको घोषणा गर्‍यो । त्यो पत्र बन्नुभन्दा पछि पुराना सहमति कायमै छन् भन्ने कुरा रहेन । अब पुराना सहमित कायम रहेको अवस्था नरहेको हुनाले एउटा नयाँ निकास पार्टीले खोज्यो ।’

मंसिर ३ को बैठकमा अध्यक्ष ओलीले आफूमाथि लागेका आरोपहरुको छिनोफानो भएपछि मात्रै बैठक अघि बढ्ने बताउँदै भनेका छन्, ‘यस सम्बन्धमा पहिले छिनोफानो हुनुपर्छ ।… यसमा छलफल गर्न, सिम्प्ली छलफल गर्न र छिनोफानो गर्न मात्रै बैठक हुन सक्छ ।’

अबको कार्यसूची के ?

महाधिवेशनको कार्ययोजना बनाउनका लागि केन्द्रीय कमिटीको बैठक बस्नुपर्ने बेलामा अहिले सचिवालयको बैठक ‘पेन्डिङ’ अवस्थामा छ । कात्तिक २८ बाट सुरु भएको सचिवालय बैठक मंसिर ३ मा बसेर १३ गतेसम्मका लागि मुल्तवीमा छ । त्यसपछि १८ गते स्थायी कमिटी बसेपछि बल्ल २५ गते केन्द्रीय कमिटी बस्दैछ । तर, अहिलेसम्म बैठकको खास कार्यसूची नै तयार हुन सकेको छैन । अध्यक्षका चिठीपत्रमा बैठक फसेको छ ।

भदौ २६ को स्थायी कमिटी बैठकले तोकेको मितिमा काम हुन नसकेपछि आगामी चैत २५-३० सम्म गर्ने भनिएको महाधिवेशन चुनौतीपूर्ण बनेको छ ।

तर, महाधिवेशनको मिति हेरफेर गर्ने अधिकार केन्द्रीय कमिटीलाई मात्र भएको हुनाले सम्भवतः मंसिर २५ गते बस्ने केन्द्रीय कमिटीको बैठकले आगामी चैतमा गर्ने भनिएको महाधिवेशन सार्ने कि गर्ने भन्नेबारे टुंगो लगाउनुपर्ने देखिन्छ ।

नेकपा सचिवालय स्तरका एक नेताका अनुसार प्रधानमन्त्री ओलीले भनेजस्तै पार्टीमा उत्पन्न पछिल्लो विवादको समाधान नभई अब महाधिवेशनको कार्यसूचीमा बैठक प्रवेश गर्न सक्ने परिस्थिति छैन । अहिलेसम्म नेताहरुवीचको विवाद न्यून हुने वा समझदारीको वातावरण बन्ने ठोस संकेत देखिएको छैन । र, यसले गर्दा नेकपाको आगामी बैठक ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर’ भन्ने आहानजस्तै बन्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment