
८ मंसिर, काठमाडौं । नेपाल आयल निगमले दाङको टारीगाउँ विमानस्थलमा ६० हजार लिटर क्षमताको हवाइ इन्धन रिफ्युलर राख्ने भएको छ । ३० किलोलिटर क्षमताको दुई वटा रिफ्युलरसहितको अटोमेटिक ट्यांक जडान गर्ने प्रक्रिया अघि बढेको निगमले जनाएको छ ।
दैनिक तीन वटा जहाजले उडान भरेपनि १५ दिनलाई इन्धन भर्न पुग्नेगरी रिफ्युलर जडान गर्न लागिएको निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले बताए ।
विमानस्थलमा इन्धन भर्ने सुविधा नहुँदा एअरपोर्टमा उडान भर्ने विमानले अतिरिक्त इन्धन बोक्दा भार सन्तुलन गर्न केही सिटमा यात्रु नराखी उडान भर्ने गरेका थिए ।
विमानस्थलमा निगमको कार्यालय भवनसहितको संरचना निर्माण र रिफ्यूलरको जडान वैशाख अघि नै सकिने निगको दाबी छ ।
६६ वर्ष पहिले २०११ सालमा परीक्षण उडान गरिएको विमानस्थलमा २०१६ सालदेखि नेपाल वायुसेवा निगमको जहाजले नियमित उडान भर्दै आएको थियो ।
नेपाल एयरलाइन्सले २०५२ सालमा इन्धन अभाव देखाउँदै विमानस्थलमा उडान रोकेको थियो । २०७४ पुस १९ गते समिट एयरसँग सम्झौता गरी स्थानीय सरकारले विमानस्थल सञ्चालनमा ल्याएको थियो ।
प्रतिक्रिया 4