
९ मंसिर, विराटनगर । कोरोना संक्रमणका कारण मोरङमा सशस्त्र प्रहरी निरीक्षक र तत्कालीन पथरी गाविस अध्यक्षको मृत्यु भएको छ ।
सशस्त्र प्रहरी बल नम्बर ३ गण हेडक्वाटर कंकालिनीमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) ३३ वर्षीय नवीन बुढाथोकीको विराट मेडिकल कलेजमा मृत्यु भएको हो ।
विराट मेडिकल कलेजमै मोरङको साबिक पथरी गाउँविकास समिति (गाविस) अध्यक्ष ६६ वर्षीय तिलक वान्तवा राईको पनि मृत्यु भएको छ । उनी फुटबल खेलाडी दीपक राईका बुबा हुन् ।
अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवका अनुसार राईको मंगलबार बिहान ४ः३० बजेतिर र प्रहरी निरीक्षक बुढाथोकीको सोमबार राति करिब ११ः२० बजे मृत्यु भएको हो ।
१० वटा रेम्डिसिभिर, दुई पटक प्लाज्मा
देवका अनुसार अवस्था गम्भीर बन्दै गएपछि सशस्त्र प्रहरी निरीक्षक बुढाथोकीको भेन्टिलेटरमा उपचार भइरहेको थियो । गत भदौयता मोरङमा कार्यरत बुढाथोकीको घर तेह्रथुमको म्याङ्लुङ् हो ।
ब्याडमिन्टन खेल्दाखेल्दै एक्कासी श्वासप्रश्वासमा समस्या भएपछि २६ कात्तिकमा विराट शिक्षण अस्पताल भर्ना भएका थिए । पीसीआर परीक्षण गराउँदा भोलिपल्ट अर्थात २७ गते रिपोर्ट पोजेटिभ आएको थियो ।
उपचारका क्रममा बुढाथोकीको दुई पटक प्लाज्मा थेरापी गरिएको उनले बताए । १० पटकसम्म रेम्डिसिभिर प्रयोग गरिएको थियो । ‘रेम्डिसिभिर सामान्यतया ६ पटक प्रयोग हुन्छ,’ उनले भने, ‘ अवस्था जटिल बनेपछि सुधार गर्न सकिन्छ की भनेर १० पटक रेम्डिसिभिर प्रयोग गरियो, तर उहाँलाई बचाउन सकिएन ।’
दीर्घकालीन स्वास्थ्य समस्या पनि नभएका बुढाथोकीको संक्रमणपछि फोक्सोमा समस्या देखिएको थियो । उनका अनुसार अस्पताल भर्ना हुनअघि नै बुढाथोकीलाई टाइफाइटको समस्या थियो ।
उनको विराटनगरस्थित परोपकार घाटमा मंगलबार धार्मिक संस्कार अनुसार अन्त्येष्टिको तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । उनी अविवाहित हुन् ।
अस्पतालपछि घरमै आराम गरिरहेका थिए राई
यसैगरी मोरङको तत्कालीन पथरी गाउँ विकास समिति अध्यक्ष तिलक वान्तवा राईको मंगलबार बिहान मृत्यु भएको देवले जानकारी दिए । पथरी शनिश्चरे नगरपालिका–१ घर भएका राईलाई २१ कात्तिकमा कोरोना पोजेटिभ देखिएको थियो ।
पोजेटिभ देखिएपछि उनलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरानमा उपचारक क्रममा स्वास्थ्यमा केही सुधार भएपछि घर आएर आराम गरिरहेका थिए । तर एक्कासी पुनः श्वासप्रश्वासमा समस्या देखिएपछि विराट मेडिकल कलेजमा ल्याइएको थियो । भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो ।
२०४९ सालको स्थानीय निर्वाचनमा पथरी गाविस अध्यक्षमा निर्वाचित भएका राई सामाजिक गतिविधिमा सक्रिय थिए ।
उनी पथरीशनिश्चरे नगरपालिकाको पहिलो सहकारी संस्था मनकामना सहकारीका संस्थापक अध्यक्ष हुन् । उनी पञ्चायत माध्यमिक विद्यालय व्यवस्थापन समितिको पूर्व अध्यक्ष पनि हुन् ।
प्रतिक्रिया 4