Comments Add Comment

मेरो पक्षमा माहोल बनिसक्यो, चुनाव जित्छु : किशोर प्रधान

१० मंसिर, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि उपाध्यक्षद्वय किशोर प्रधान र चन्द्र ढकालबीच प्रतिस्पर्धा हुँदैछ । महासंघको अधिवेशन शुक्रबार उदघाटन भएर शनिबार नेतृत्वका लागि मतदान हुँदैछ ।

अघिल्लो कार्यकालको वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्थाअनुरूप शेखर गोल्छा स्वतः महासंघको अध्यक्ष हुँदैछन् । अब प्रधान र ढकालमध्ये जो वरिष्ठ उपाध्यक्षमा विजयी हुन्छन्, गोल्छापछिको अध्यक्ष उनै हुनेछन् ।

जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघका तर्फबाट महासंघको नेतृत्वमा आएका बिराटनगरका व्यवसायी किशोर प्रधान बिजुलीको पोल उत्पादन गर्ने उद्यमीहरुको संगठनको अध्यक्ष भइसकेका व्यक्ति हुन् ।

उनी पुराना एवं महासंघमा अनुभवी व्यवसायीका रुपमा चिनिन्छन् । महासंघमा २८ वर्षको अनुभव बोकेका प्रधानले अघिल्लो कार्यकालमा शेखर गोल्छासँग वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए । पछि उनलाई रिक्त रहेको जिल्ला नगरको उपाध्यक्षमा मनोनयन गरिएको थियो ।

यसपटक दोस्रोचोटि बरिष्ठ उपाध्यक्षका लागि चुनावी मैदानमा उत्रेका प्रधानलाई भावी अध्यक्ष गोल्छाको समेत समर्थन छ ।

भावी अध्यक्षमा सुनिश्चितताका लागि वरिष्ठ उपाध्यक्षका दुबै उम्मेदवार प्रधान र ढकाल मतदातालाई आफ्नो पक्षमा पार्न जोडतोडले लागेका छन् ।

प्रधान पक्षको सम्पर्क कार्यालय रहेको पुल्चोकको याक दरबार पार्टी प्यालेसमा पुग्दा प्रधान निकै व्यस्त देखिन्थे । काठमाडौं बाहिरबाट आएका उद्योगी–व्यवसायीसँगको भेटघाटमा उनी व्यस्त थिए । फोनमा पनि उनको व्यस्तता बढेको देखिन्थ्यो ।

छोटो कुरा गरौं हैँ भन्दै अन्तर्वार्ताका लागि तयार भएका प्रधानले ३/४ वटामात्रै प्रश्न सोध्न आग्रह गरे । उनले उत्तर पनि सटिक (छोटकरीमा) दिँदै नतिजा आफ्नो पक्षमा आउने दावी गरे ।

नेपालगञ्ज भेलालाई अन्तिम भेला भन्नुभएको थियो । सबैतिर भोट मागिसक्नुभयो त ?

म त सुरुदेखि नै सहमतिको पक्षमा थिएँ । तर, उहाँ ईच्छुक देखिनुभएन । अरू सबै साथीले पनि भन्नुभएको हो । मेरो गोरुको बाह्रै टक्का भनेर सहमति हुँदैन ।

भोट मागेर सकिँदैन । अहिले पनि यहाँ भिडभाड देखिहाल्नुभयो । यो क्रम त चलिरहन्छ ।

भनेपछि जिल्ला बाहिर भोट माग्ने अभियान सकिए पनि काठमाडौं उपत्यकामा अझै चलिरहेको छ ?

चुनाव नजिकिएको छ । अब काठमाडौंमै केन्द्रित छौं । चुनाव नहुञ्जेल भोट माग्ने क्रम चलिरहन्छ ।

बाहिरी जिल्लामा कस्तो प्रतिक्रिया पाउनुभयो त ?

बाहिरबाट आएको प्रतिक्रियाले विश्वस्त बनाएको छ । चुनाव जित्छौं भन्ने प्रष्टै देखाएको छ ।

तपाईंले पनि सहमतिको पक्षमा छु भन्नुभएको थियो । अबचाहिँ सहमतिको कुरा सकियो ?

नाममात्रको सहमति भयो, काम केही भएन ।

सहमतिबाट तपाईं भाग्नुभएको कि तपाईंका प्रतिद्वन्द्वी ?

म त सुरुदेखि नै सहमतिको पक्षमा थिएँ । तर, उहाँ ईच्छुक देखिनुभएन । अरू सबै साथीले पनि भन्नुभएको हो । मेरो गोरुको बाह्रै टक्का भनेर सहमति हुँदैन ।

तपाईंहरू प्यानलसहित चुनावमा होमिँदै हुनुहन्छ । यसबाट निजी क्षेत्र एक छैन भन्ने सन्देश गयो नि हैन ?

मैले त सहमतिकै कुरा गरेको हो, साथीहरू मान्नुभएन । अब निर्वाचित भएपछि सबैको साझा एजेण्डा बनाउनुपर्छ ।

तपाईं लामो समयदेखि महासंघमा हुनुहुन्छ । उद्योगी–व्यवसायीले तपाईंलाई रोज्नुपर्ने चुनावी एजेण्डा के–के छन् ?

मैले यो विषयमा भनेको भन्यै छु । सधैं एजेण्डा–एजेण्डा भनिरहेको छु । तपाई योभन्दा फरक विषय उठाउनुस् न । यो त सबैलाई थाहा भइसक्यो नि ।

चुनाव जित्ने प्रष्टै देखिएको बताउनुभयो । तपाईंको पक्षमा माहोल बनेकै हो त ?

हो नि । यसमा म शतप्रतिशत विश्वस्त छु । मेरो जित सुनिश्चित छ । मैले २८ वर्ष देशभरका उद्योगी–व्यवसायीसँग सहकार्य गरेको छु । साथीहरूले मेरो सद्भाव, सक्रियताको मूल्याङ्कन गर्नुभएको छ ।

जिल्ला–नगर, वस्तुगत सबैतिरबाट मलाई शुभकामना सन्देशहरू आइसकेका छन्, फोनहरू आएका छन् । यो भनेको सबैले मलाई गर्नुभएको विश्वास हो । तपाईंहरूले पनि सर्वेक्षण गर्नुभएको छ । मेरो जित सुनिश्चित देख्नुभएको छ ।

कोरोनाका कारण उद्योग–व्यवसाय समस्यामा छन् । नेतृत्वमा आउनुभयो भने तपाईंका प्राथमिकता के–के हुन्छन् ?

कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरियो । त्यसयता उद्योग–व्यवसाय समस्यामा परे । कोरोनाका कारण तहस–नहस भएको अर्थतन्त्रलाई कसरी उकास्ने भन्ने कार्ययोजना नै बनाएका छौं ।

सबभन्दा पहिले हामीले कृषि क्षेत्रलाई उकास्नुपर्ने छ । अब कृषिलाई व्यवसायीकरण गरेर भूमि बैङ्कमार्फत ‘कन्ट्राक्ट फार्मिङ’ गर्नुपर्छ भनेर सरकारलाई बारम्बार भनिरहेका छौं । बजेटमा समावेश गरे पनि यसलाई द्रूत गतिमा अगाडि बढाउन सरकारले सकेको छैन । यसलाई चाँडो अघि बढाएर व्यवसायीहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्न सहुलियत ऋणको सहज व्यवस्था हुनुपर्छ ।

हामी अर्बौं रुपैयाँको खाद्यान्न आयात गरिरहेका छौं । त्यसलाई घटाउन आन्तरिक उत्पादन बढाउन पर्नेछ । हामी पहिले खाद्यान्न निर्यात गथ्र्यौं । अहिले त परनिर्भर भइसक्यौं । सागसब्जी, गोलभेँडा पनि आयात गरेर खानुपर्ने अवस्था छ । आफैँले उत्पादन गरेर आयातलाई निरुत्साहित गर्नुपर्छ ।

हामीले पर्याप्त रोजगारी सिर्जना गर्नुपर्ने छ । यसका लागि पनि सरकारले सहुलियत कर्जाको व्यवस्था गर्नुपर्छ । लकडाउनका बेला स्वदेश फर्किएका नेपाली श्रमिकहरू पुनः कार्यक्षेत्रतिर फर्किसकेका छन् । यहाँ अवसर नपाएरै उनीहरू फर्किएका हुन् ।

सरकार भन्छ, तर कार्यान्वयन हुँदैन । भन्नेबेलामा धेरै कुरा भने पनि केही गरिएको छैन । सहुलियत कर्जा दिन बैङ्कहरूले इच्छा देखाएका छैनन् । पुनर्कर्जा पनि सहज तरिकाले दिएका छैनन् । यसलाई सहज बनाएर व्यावसायिक वातावरण सिर्जना गर्न हाम्रो भूमिका रहनेछ ।

विपक्षीहरूको भन्दा फरक के छ तपाईंको टिमको कार्ययोजना ?

हुनेवाला अध्यक्षज्यूको नेतृत्वमा १० वर्षे कार्ययोजना ल्याउँदैछौं । हाम्रो टिम निर्वाचित भएपछि यो कार्ययोजना कार्यान्वयन सहज हुन्छ ।

हामी पूर्वअध्यक्षज्यूहरूको राय सल्लाह र सुझाव लिएर, जिल्ला–नगर, वस्तुगत, एसोसिएट उद्योग वाणिज्य संघ सबैसँग सहकार्य गरेर अघि बढ्छौं । साथै, अर्थशास्त्रीहरूले उठाएका मुद्दामा बृहत् छलफल गरेर कार्यसमितिबाट पास गर्नेछौं ।

आवश्यक परे निजी क्षेत्रका अन्य संगठनहरू नेपाल उद्योग परिसंघ (सीएनआई), नेपाल चेम्बर अफ कमर्स लगायतसँग पनि सहकार्य गर्नेछौं । मुलुकको अर्थतन्त्र सबल बनाउन सबैको साझा एजेण्डा बनाएर कार्यान्वयनका लागि सरकारलाई बाध्य बनाउनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment