Comments Add Comment

मध्यराति सम्पर्कविहीन भएका डीएसपीमाथि छानबिन

जिम्मेवारी खोसेर एसपी देउवाको नेतृत्वमा छानविन थालियो

१० मंसिर, काठमाडौं । कैलाली सुरक्षाका दृष्टिकोणले संवेदनशील जिल्ला मानिन्छ । अस्थायी प्रहरी पोष्ट जुगेडाका तत्कालीन इञ्चार्ज असई गोविन्द विक र जवान रामबहादुर साउद तस्कर समूहबाट मारिएपछि जिल्लाको सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

यस्तो अवस्थाका बीच मंगलबार राति ९ बजेपछि इलाका प्रहरी कार्यालय, मालाखेतीका इञ्चार्ज भरतराज चौधरी सम्पर्कविहीन भए । जिल्लाका अधिकारीलाई कुनै जानकारी नदिई प्रहरी नायब उपरीक्षक (डीएसपी) सम्पर्कविहीन भएपछि हल्लिखल्ली मच्चियो ।

चौधरीको कार्यक्षेत्र पर्ने स्थानमा भएको दुर्घटनाबारे बुझ्न सञ्चार सेटमा सम्पर्क गर्दा उनी बोलेनन् । त्यसपछि मोबाइलमा सम्पर्क गर्दा स्वीच अफ थियो । चौकीका प्रहरी निरीक्षकसहित अन्यसँग सम्पर्क हुँदा समेत डीएसपी चौधरीको अत्तोपत्तो भएन ।

त्यसपछि उनको खोजीमा विभिन्न टोली परिचालन गरिए । कैलालीका डीएसपी प्रतीक विष्टसहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटियो । एक महिना अघि दुई प्रहरी अधिकारीको हत्या भएका कारण पनि प्रहरी झस्किएको थियो ।

तनावका बीच बुधबार बिहान ६ बजेतिर गोदावरी नगरपालिकाको बुढीतोलामा उनी देखा परेको प्रहरी बताउँछ । मोटरसाइकलमा गुड्दै  गरेको अवस्थामा प्रहरीको टोलीले बिहान फेला पारेको प्रदेश प्रहरी कार्यालयका एसएसपी मुकेश सिंह बताउँछन् ।

तर, स्थानीयले भने उनलाई होटलमा भेटेको बताएका छन् । संवेदनशील क्षेत्रका इञ्चार्ज विना जानकारी हराउनु नै गम्भीर विषय भएको बताउँदै प्रदेश प्रहरी कार्यालयले घटनाको छानविन थालेको छ । छानविनका लागि प्रहरी उपरीक्षक (एसपी) दिलिपसिंह देउवाको नेतृत्वमा चार सदस्यीय समिति बनाइएको छ ।

चौधरीको इञ्चार्जको जिम्मेवारी पनि खोसिएको छ । हाल जिल्लामा प्रहरी कार्यालय, कैलालीमा तानिएका उनले भने आफू सूचना संकलनका लागि त्यसक्षेत्रमा गएको र नेटवर्क नआउने ठाउँमा भएकाले गलत बुझिएको दाबी गरेका छन् ।

उनको दाबीमा सत्यता छ/छैन ? उनी किन त्यसक्षेत्रमा पुगेका थिए ? भन्ने विषयमा ५ दिनभित्र रिपोर्ट बुझाउन समितिलाई म्यान्डेट दिइएको छ । समितिले बुझाउने प्रतिवेदनका आधारमा चौधरीमाथि थप कारबाही हुनेछ ।

उनी मालाखेतीमा गएको दुई महिना मात्र भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment