Comments Add Comment
बर्दिबासमा बालिका हत्या प्रकरण :

‘भाइलाई जति कठोर सजाय दिए पनि फरक पर्दैन’

बालिका हत्याको आरोपमा पक्राउ परेका अरुण साह ।

१० मंसिर, गौशाला । विधिशास्त्रको सिद्धान्तले भन्छ- कुनै व्यक्तिले फौजदारी अपराध गर्‍यो भने त्यसको भागिदार पारिवारका अन्य नातेदारले हुनुपर्दैन, जसले अपराध गरेको हो, ऊ मात्र दोषी ठहरिन्छ । तर, व्यवहारमा यो विधिशास्त्रले काम गर्दैन ।

परिवारको कुनै सदस्यले जघन्य अपराध गर्‍यो भने परिवारका अरु सदस्यहरुले समेत समाजमा लज्जित हुनुपर्ने र नाकै देखाउन नसकिने स्थिति आउँदोरहेछ ।

बर्दिबासमा भएको बालिका हत्या प्रकरणमा पक्राउ परेका एक अभियुक्तका परिवारजनलाई अहिले यस्तै सकस परेको छ । उनीहरुको भागाभाग भएको छ । र, घरमा आगो लागेको छ ।

****

महोत्तरीको गौशाला बजारको जिरोमाइल चोकदेखि ५० मिटर उत्तरतर्फ एउटा घर छ । सधैं चहल-पहल भइरहने यो घर दुई दिनयता सुनसान छ । सटरमा बाहिरबाट र मूल गेटमा भित्रबाट ताला लागेको छ ।

हामीले आधा घण्टा ढोका ढक्ढक्याएपछि एक व्यक्ति आए र विस्तारै ढोका खोेले । उनी निकै त्रासमा देखिएका थिए । उनले मलिनो स्वरमा सोधे, ‘तपाईहरु को ?

हामीले आफूहरु सञ्चारकर्मी भएको बताएपछि उनले घरभित्र हुले र हतारिँदै ढोका लगाए ।

यो घर राजकिशोर साहको हो, जसका छोरा अरुण साहमाथि ६ वर्षकी बालिका गुलाब खातुनको हत्या गरेको अभियोग लगेको छ । अरुणले प्रहरीसमक्ष साविती वयान दिएका छन् ।

बालिकाको हत्यापछि बर्दिवास अशान्त छ । आक्रोसित भीडले बर्दिबासमा रहेको साह परिवारको घरमा आगो लगाएको छ । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएपछि तनाव थप चुलिएको छ ।

बर्दिबासको अशान्तिले गौशाला नगरपालिका वडा नम्बर ५ मा रहेको साह परिवारको घर पनि रित्तिएको छ ।

अरुबेला यो घरमा राजकिशोरका दुई छोराबुहारी र तीन नातानातिनी बस्दै आएका थिए । अहिले माइलो छोरा अशोक मात्र घरमा छन् र डरले भित्रबाट ताला लगाएर बसेका छन् ।

‘बर्दिवासको घर जलिहाल्यो, हामीलाई पनि कसैले केही गर्छन् कि भन्ने त्रासमा बाँच्नु परेको छ’ अभियुक्तका दाजु अशोकले भने, ‘त्रासकै कारण दाजू भाउजू अन्यत्र गएर बस्नुभएको छ । मैले पनि श्रीमती र छोराछोरीलाई अर्कै ठाउँमा पठाएको छु ।’

अशोकका अनुसार आमाबुबा पनि सुरक्षाको खोजीमा घर छोडेर अन्यत्रै गएर बसेका छन् । ‘घरको सुरक्षा गर्न म एक्लै बसिरहेको छु । कसले कतिखेर केही गरिदिने हो कि भन्ने डर छ’ बर्दिवासको घर जलेको सम्झिँदै उनले भने, ‘हत्या अरुणले गरेका हुन्, तर उनका कारण हामी लज्जित र असुरक्षित हुनुपरेको छ ।’

मलेसियाबाट फर्किएर अपराध

राजकिशोरका दुई श्रीमतीमध्ये जेठीतर्फका छोरा हुन् सन्तोष भने कान्छीतर्फका अशोक र अरुण । अरुण ४ बर्षकै छँदा उनकी आमाको मृत्यु भयो । त्यसले लालनपोषण जेठीआमा र बुबाले गरे । कान्छो छोरो, त्यसमाथि आमा गुमाएकाले सबैले माया गरे ।

२०७१ सालमा एसएलसी उत्तीर्ण गरेका अरुणलाई बुबाले उच्च शिक्षा पढ्न जनकपुरधाम पठाए । जनकपुरधाममा डेढ बर्ष कोठा लिएर त बसे । तर, पढाइ अगाडि बढाएनन् । ‘यसपछि बुबाले उनलाई वैदेशिक रोजगारीमा पठाउने निर्णय गर्नुभयो’ अशोक भन्छन्, ‘डेढ लाख खर्च गरेर उनलाई मलेसिया पठाइयो ।’

उनले मलेसियामा ५ बर्ष बिताए । तर, आफ्नो कमाइ भनेर घरमा पैसा पठाएको थाहा छैन । अरुण मलेसियामै भएका बेला कोरोना भाइरस (कोभिड-१९) को संक्रमणले विश्व आक्रान्त बन्यो । विभिन्न देशमा रहेका नेपालीहरु घर फर्किए । अरुण पनि वैशाख पहिलो साता नेपाल आए र महोत्तरी पुगे ।

उनलाई मदिराको नराम्रो लत लागिसकेको रहेछ । दैनिक रक्सी पिएर हिँड्न थाले । मदिरा पिएर हिँड्ने क्रममा २८ बैशाखमा आफ्नो बाल्यकालको साथी दिलिप ठाकुरको हत्या गरे । घटनापछि भागेका उनी चार दिनमै पक्राउ परे ।

प्रहरीले उनीमाथि कर्तव्य ज्यान मुद्दा चलाएको थियो । तर, जिल्ला अदालतबाट १ लाख धरौटीमा रिहा भए । अरुणका दाजु अशोक भन्छन्, ‘रिहा भएपछि उनी सुधि्रन्छन् कि भन्ने थियो, अपराध गरेर पनि छुट्दा उनको मनोबल बढेको अहिले महसुस हुँदैछ ।’

‘त्यही मनोबलका कारण उसले अवोध बच्चाको हत्या गर्‍यो । त्यसबेला नै (रिहा नगरी) जेलमै छोडिदिएको हुने रहेछ’ अरुणका दाजु अशोकले पश्चाताप भावमा भने ।

दाजु अशोकका अनुसार धरौटीमा छुटेपछि बुबा राजकिशोरले अरुणलाई आफूले डेढ वर्षदेखि किराना पसल सञ्चालन गर्दै आएको बर्दिबासमा बोलाएर राखेका थिए । पसलमा आफूलाई सहयोग पनि हुने र निगरानी पनि पुग्ने बुबाको विश्वास थियो ।

‘बर्दिवास पुगेपछि केही समय राम्रै व्यवहार देखाएको थियो । हामीलाई पनि अब सुुधि्रन्छ कि भन्ने लागेको थियो’ अशोक भन्छन्, तर उसले पुनः आफ्नो कुकर्म दोहोर्‍यायो ।’

मंसिर ७ गते साँझ राजकिशोर पत्नीसहित जनकपुर गएका बेला छोरा अरुणले पसलमा चकलेट किन्न आएकी शहीद आलमकी ६ बर्षीया छोरी गुलाब खातुनको हत्या गरे । र, शव बोरामा हालेर खेतमा फाले ।

बालिका हराएको सूचना पाएपछि खोजी गर्न गएको प्रहरी अरुण बसेको पसलसम्म पनि पुगेको थियो । तर, आफूले नदेखेको प्रतिकृया दिएको आफूले सुनेको अशोक सुनाउँछन् ।

घटना भएको भोलिपल्ट अर्थात सोमबार अरुणले आफ्ना बुवालाई बालिकाको हत्या गरेको सुनाए । लगत्तै बुबा राजकिशोरले नै अरुणलाई गौशालास्थित ईलाका प्रहरी कार्यालय ल्याएर प्रहरीको जिम्मा लगाएको दाजु अशोकले बताए । र, अरुणकै वयानका आधारमा प्रहरीले बालिकाको शव फेला पारेको थियो ।

दाजु अशोकका अनुसार उनको परिवारको प्रयास अरुणलाई सुधार गर्ने नै थियो । त्यसअनुसार प्रयास पनि भएको हो । हत्या अभियोगमा पक्राउ परेका उनलाई परिवारले नै धरौटीमा छुटाएर सुध्रने मौका पनि दिएको हो । तर, उनी सुध्रिएनन् ।

फूलजस्ती गुलाबको हत्या गरेकाले अरुणलाई जति कठोर दिँदा पनि फरक नपर्ने अशोक बताउँछन् । दिनभर म्याजिक चलाएर परिवार पाल्दै आएको आफू भाइकै कारण समाजमा मुख देखाउन नसक्ने अवस्थामा पुगेको सुनाउँदै अशोक भन्छन्, ‘उसले फेरि हत्या गरेको छ, अब गोली ठोकिदिए पनि फरक पर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment