Comments Add Comment

प्रतिभाशाली र विवादित म्याराडोनाको कहानी

११ मंसिर, काठमाडौं । विश्वचर्तित फुटबल खेलाडी अर्जेन्टिनाका डिएगो म्याराडोनासँग असाधारण प्रतिभा, गति र दृष्टि थियो । उनी आफ्ना प्रशंसकहरुलाई खेल कौशलबाट मुग्ध पारिदिन्थे । यद्यपि केही विवादित कदमबाट उनले समर्थकलाई निराश पनि पारे । यहाँ म्याराडोनाको चर्चा तथा विवादको विषयमा उल्लेख गरिएको छ–

छोटो कदको शरीर, असाधारण प्रतिभा

म्याराडोनाको जन्म ६० वर्षअघि अर्जेन्टिनाको राजधानी सहर ब्युनर्स आयर्सको झुपडी बस्तीमा भएको थियो । गरिबीसँग लड्दालड्दै म्याराडोना युवावस्थासम्म फुटबलका स्परस्टार बनिसकेका थिए । केही मानिसहरु उनलाई ब्राजिलका महान फुटबलर पेलेभन्दा पनि उत्कृष्ट खेलाडी मान्छन् ।

म्याराडोनाले ४९१ खेलमा २५९ गोल गरेका थिए । यतिमात्र होइन, एक सर्वेक्षणमा उनले पेलेलाई पछि पार्दै ‘२० औं शताब्दीका महान फुटबलर’ घोषित भएका थिए । यद्यपि त्यसपछि फिफाले आफ्नो भोटिङको नियम परिवर्तन गरेको थियो र दुवै खेलाडीलाई महान फुटबलरको सम्मान दिइएको थियो ।

म्याराडोनामा विलक्षण प्रतिभा थियो । उनले १६ वर्षको उमेरमा नै अन्तर्राष्ट्रिय फुटबल खेल्न सुरु गरेका थिए । छोटो कद र मोटो शरीर भएका म्याराडोना पाँच फिट पाँच इन्चका थिए । उनीसँग चतु¥याइँ, तीव्र गतिमा दौडिने, बल नियन्त्रणमा राख्ने र ड्रिब्लिङ गर्नेजस्ता गुणहरु थिए । उनको यस्ता कलाका कारण होचो कद र मोटो शरीरजस्ता विषय ओझेलमा परेका थिए ।

‘ह्यान्ड अफ गड’ र ‘गोल अफ द सेन्चुरी’

म्याराडोनाले अर्जेन्टिनाका लागि ९१ खेल खेले, जसमा ३४ गोल गरेका थिए । तर, उनको अन्तर्राष्ट्रिय करियर भने उतारचढावपूर्ण रह्यो । उनले अर्जेन्टिनालाई सन् १९८६ मा मेक्सिकोमा आयोजित विश्वकपमा जित दिलाएका थिए । साथै दुईपटक प्रतियोगिताको फाइनलसम्म पुर्‍याएका थिए ।

सन् १९८६ को विश्वकपको क्वार्टरफाइनलमा म्याराडोनाले यस्तो काम गरे, जसको चर्चा सधैं हुँदै आएको छ । यो खेल अर्जेन्टिना र इंगल्याण्डको बीचमा हुँदै थियो । यी दुई मुलुकको सम्बन्ध त्यसअघि नै तनावपूर्ण रहँदै आएको थियो ।

किनकी यो विश्वकप हुनुभन्दा केवल चार वर्ष पहिला फकल्याण्डको टापुमा युद्ध भएको थियो । उक्त खेलको ५१ औं मिनेटमा म्याराडोनाले विपक्षी टोलीका गोलकिपरतर्फ अघि बढ्दै हातले बललाई जाली चुमाए । हातको प्रयोग भएकाले यो गोल निकै विवादमा आयो ।

फुटबलको नियमअनुसार हात प्रयोग भएको कारण यो गोल नभई फाउल हुनुपर्ने थियो र यसका लागि म्याराडोनालाई पहेँलो कार्ड दिनुपर्ने थियो । तर, त्यतिबेला भिडियो एसिस्टेन्ट प्रविधि थिएन र रेफ्रीले यो गोल राम्रोसँग देख्न सकेका थिएनन् । त्यसैले यसलाई गोल मानियो र अर्जेन्टिना १–० ले अघि रह्यो । खेल सकिएपछि म्याराडोनाले यो गोल ‘अलिकति आफ्नो शिर र अलिकति भगवानको हातले’ गरेको बताएका थिए । यो गोललाई फुटबलको इतिहासमा ‘ह्यान्ड अफ गड’ को नामले चिनिन्छ ।

सोही खेलमा विवादित गोल गरेको चार मिनेटपछि म्याराडोनाले इंगल्याण्ड टोलीका पाँच खेलाडी र गोलकिपरलाई छलाउँदै अर्को गोल गरेका थिए । यो गोललाई ‘गोल अफ द सेन्चुरी’ भनिन्छ । खेलको विषयमा म्याराडोनाले भनेका थिए, ‘यो खेल जित्नुभन्दा धेरै महत्वपूर्ण लक्ष्य इंगल्याण्डलाई वर्ल्डकपबाट बाहिर पठाउनु थियो ।’

लागू औषध र मदिराको लत

म्याराडोनाले बार्सिलोना र नेपोलीजस्ता नाम चलेका फुटबल क्लबबाट व्यवसायिक फुटबल खेले । सन् १९९२ मा उनी ३० लाख पाउण्डमा स्पेनको बार्सिलोना गएका थिए भने त्यसको दुई वर्षपछि ५० लाख पाउण्डमा इटालीको नेपोलीमा फुटबल खेल्न गएका थिए ।

उनी नेपोली जाँदा उनलाई स्वागत गर्न उनका ८० हजारभन्दा धेरै प्रशंसक आएका थिए । उनले करियरको सबैभन्दा राम्रो फुटबल इटालीमा नै खेलेका थिए र त्यहाँ उनले प्रसिद्धि पनि कमाए ।

त्यसै क्रममा उनलाई लागू औषध कोकिनको लत लाग्यो र उनको नाम इटालीको कुख्यात माफिया संगठन कैमोरासँग पनि जोडिएको थियो । सन् १९९१ मा म्याराडोना एक डोप टेस्टमा पोजेटिभ पाइएका थिए र १५ महिनाको लागि निलम्बित भएका थिए । सन् १९९४ मा अमेरिकामा भएको विश्वकपमा म्यारोडोनाले प्रतिबन्धित एफेड्रिन लिएको पाइएको थियो । त्यसपछि प्रतियोगिताको बीचमा नै उनीमाथि प्रतिबन्ध लगाइएको थियो ।

सन्यासपछिको जीवन

सन् १९९७ मा तेस्रोपटक पनि पोजेटिभ पाइएपछि उनले आफ्नो ३७ औं जन्मदिनको अवसरमा व्यवसायिक फुटबलबाट सन्यास घोषणा गरेका थिए । यद्यपि त्यसपछि पनि उनी विवाद र समस्याबाट टाढिएनन् । म्याराडोनाले एकपटक पत्रकारलाई एयर राइफलबाट गोली चलाएका थिए । जसको कारण उनले दुई वर्ष १० महिना जेल बस्नुपरेको थियो ।

कोकिन र मदिराको कारण उनको स्वास्थ्यसम्बन्धी धेरै समस्या थिए । उनको तौल पनि निकै बढेको थियो । एकपटक उनी १२८ किलोसम्म पुगेका थिए । सन् २००४ मा उनलाई हृदयघात भएपछि आईसीयूमा राखेर उपचार गर्नुपरेको थियो । मोटोपना घटाउन म्याराडोनाले गेस्ट्रिक–बाइपास सर्जरी गराएका थिए भने लागूऔषधबाट छुटकारा पाउन पनि उनले सहयोग लिनुपर्ने अवस्था आएको थियो ।

यी सबै विवाद र समस्याका बीच सन् २००८ मा म्याराडोनालाई अर्जेन्टिनाको राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त गरिएको थियो । उनलाई प्रशिक्षकको रुपमा धेरै भूमिका निभाउने जिम्मेवारी दिइएको थियो । यो विषयलाई लिएर पनि उनी चर्चा र विवादमा रहे ।

एकपटक आफ्नै कुकुरले ओठमा टोकिदिँदा उनले अपरेसन गराउनुपरेको थियो । सन् २०१८ को फुटबल विश्वकपमा रुसमा अर्जेन्टिना र नाइजेरियाको खेल हेर्न पुगेका म्याराडोनाको फोटो भाइरल भएको थियो । यो फोटोबाट उनको जीवनशैली धेरै बिग्रिसकेको देखिन्थ्यो ।

रुसमा उनले एक नाइजेरियाका समर्थकसँग नाचेका थिए, खेल सुरु हुनुभन्दा पहिला आकाशतर्फ हेरेर प्रार्थना गरेका थिए । खेलकै क्रममा उनी निदाएका थिए र अर्जेन्टिनाको दोस्रो गोलपछि ‘डबल मिडल फिंगर सल्युट’ गरेका थिए । केही समाचारहरुका अनुसार म्याराडोनालाई जीवनको अन्तिम वर्षमा आफ्नो जीवनशैलीमा सुधारको लागि उपचार गराउनुपरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment