Comments Add Comment

तिलोत्तमामा १५ शैय्याको अस्पताल शिलान्यास

११ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १५ शैय्याको अस्पताल शिलान्यास गरिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार एक कार्यक्रमका बीच अस्पतालको शिलान्याश गरेका हुन् । अस्पतालको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले अस्पताल निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाए ।

हरेक पालिकामा कम्तिमा एउटा १५ शैय्याको अस्पताल निर्माण गर्ने संघीय सरकारको नीति अनुसार अस्पतालको शिलान्यास गरिएको हो ।

२०४० सालमा स्थापना भएको आनन्दवन स्वास्थ्य चौकीलाई स्तरोनन्ती गरी १५ शैयाको अस्पताल बनाउन थालिएको हो । १४ कठ्ठा क्षेत्रफलमा १८ करोडको लागतमा अस्पताल निर्माण हुन लागेको हो ।

चालु आर्थिक वर्षमा अस्पताललाई एक करोड रुपैयाँ बजेट तिलोत्तमा नगरपालिकालाई निकासा भइसकेको छ । हाल बर्थिङ सेन्टर र प्रयोगशालासहित सेवा प्रदान गरेको स्वास्थ्य चौकी अस्पतालमा स्तरोन्नती भएपछि प्राथमिक अस्पताल समूह ‘ख’ अनुसारको सेवा उपलब्ध हुने छ ।

शिलान्यास कार्यक्रममा नगरप्रमुख बासुदेव घिमिरेले तिलोत्तमाकै सेमरा बजार स्वास्थ्य चौकीलाई पनि अस्पतालमा स्तरोन्नति गराउन पहल भइरहेको बताए ।

एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको यो तिलोत्तमा नगरपालिका कै पहिलो सरकारी अस्पताल हुने र अस्पताल सञ्चालनमा आएपछि मेडिकल सुपरिडेन्डेन्ट,मेडिकल अफिसर, जनस्वास्थ्य निरीक्षक सहित २८ जनाको सरकारी दरबन्दी हुने स्वास्थ्य चौकी इञ्चार्ज ज्ञानप्रसाद पौडेलले बताए ।

जग्गा दाता सम्मानित

अस्पताल निर्माणका लागि १४ कठ्ठा जग्गा दान गर्ने वझा परिवारलाई सम्मान गरिएको छ ।

बुटवल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष जीवनप्रसाद वझा, डा. सरोज वझा लगायत दाजुभाइको परिवारले अस्पताल निर्माणका लागि १४ कठ्ठा जग्गा निशुल्क उपलब्ध गराएका थिए ।

२०४० सालमा बागलुङका स्व. गोपालप्रसाद वझा, स्व. अमृतप्रसाद वझा र स्व. शम्भुप्रसाद वझाले स्वास्थ्य चौकीलाई १० कठ्ठा जग्गा दिएका थिए ।  तर अहिले अस्पताललाई स्तरोन्नति गरिने भएपछि वझा परिवारले ४ कठ्ठा जमिन पुनः निशुल्क उपलब्ध गराएका थिए ।

वझा परिवारले अस्पताललाई उपलब्ध गराएको जमिनको मूल्य करिब सात करोड रहेको छ ।

अर्थमन्त्री पौडेलले अस्पताल शिलान्याशका अवसरमा जग्गा दाता वझा परिवारलाई दोसल्ला र कदर पत्रले सम्मान गरेका हुन् ।

आफ्नी माइली आमाको क्यान्सर रोगका कारण उपचार नपाई ज्यान गएको घटनाले आफ्नो परिवारमा ठूलो पीडा भएकाले उपचारको अभावमा कसैको मृत्यु नहोस् भनेर जग्गा दान दिइएको जग्गादाता जीवन वझाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment